राजनीति


पोल गाड्न मेयरले अवरोध गरेपछि मन्त्री भुसालले बस्तीमै पुगेर भनिन्- बिजुली र लालपुर्जा हामी दिन्छौँ

पोल गाड्न मेयरले अवरोध गरेपछि मन्त्री भुसालले बस्तीमै पुगेर भनिन्-  बिजुली र लालपुर्जा हामी दिन्छौँ

नेपालखबर
चैत २, २०७८ बुधबार ७:२६, सर्लाही

सर्लाहीको हरिवन-११ बालुवाटारको सुकुम्बासी बस्तीमा नगरपालिकाले विद्युतीकरण गर्न अवरोध गरेपछि ऊर्जामन्त्री पम्फा भुसालले बस्तीमै पुगेर त्यसको प्रतिवाद गरेकी छन्। 

मंगलबार दिउँसो बस्तीमै पुगेर मन्त्री भुसालले सुकुम्बासी टोलमा विद्युतीकरणसहित जमिनको लालपुर्जसमेत दिने प्रतिवद्धतासमेत व्यक्त गरेकी हुन्।

बस्तीका अधिकांश युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेबाट निर्वाचित मेयर गणेश प्रसाइँले बस्तीमा विद्युतीकरण गर्न अवरोध गरेको आरोप माओवादीले लगाएको छ। 

मेयर प्रसाइँले सुकुम्बासी बस्तीमा विद्युतीकरण नगर्न भन्दै प्राधिकरण प्रशाखा लालबन्दीलाई पत्र लेखेपछि आफूहरुले त्यसको प्रतिवाद गरेको माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले बताए।

बालुवाटारको नामले चिनिने सुकुम्बासी बस्तीमा करिब ९० परिवारको बसोबास छ। 

मन्त्री भुसालले बस्ती बसेको ठाउँमा विद्युतीकरण गर्नु राज्यको दायित्व भएको बताइन्। त्यसमा स्थानीय तहले अवरोध गर्न नमिल्ने उनको भनाई थियो।

‘बस्तीको लालपुर्जा छ कि छैन भन्ने आधारमा नभएर नेपाली नागरिकताको आधारमा सुकुम्बासी बस्तीमा विद्युतीकरणको काम हुन्छ,’ मन्त्री भुसालले भनिन्, ‘बिजुली नपुगेका बस्तीका नागरिकले नागरिकतासहित निवेदन दिए प्राधिकरणले बिजुली पुर्याउने छ।’

कार्यक्रममा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकी, हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्त, सचिव गौरी महतो, महिला नेतृ पद्मा मोक्तान लगायतको सहभागिता थियो। 

अबको केही दिनमै बालुवाटारको सुकुम्बासी बस्तीमा विद्युतीकरणको काम सुरु गर्नेगरी प्राधिकरणले काम अघि बढाएको अध्यक्ष पन्तले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .