राजनीति


कसको चिन्हमा चुनाव लड्दैछन् विप्लव?

कसको चिन्हमा चुनाव लड्दैछन् विप्लव?

सागर न्यौपाने
चैत १४, २०७८ सोमबार २१:४९, काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएको छ। वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो प्रभाव रहेको क्षेत्रमा सो पार्टीका उम्मेदवार स्वतन्त्र रुपमा चुनाव लड्ने छन्। 

‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ,’ सो पार्टीका एक नेताले नेपालखबरसँग भने, ‘एमसीसी, राष्ट्रघातविरुद्ध उभिने पार्टीसँग मिलेर उम्मेदवारी दिन्छौँ। नेकपाको नाममा सक्रियतापूर्वक भाग नलिने, तर सम्भव भएका ठाउँमा उम्मेदवारी दिन पार्टीले अनुमति दिएको छ।’ 

नेकपाले नेपाली कांग्रेस र राप्रपाबाहेकका दलको चुनाव चिन्ह नै प्रयोग गरेर उम्मेदवारी दिने बाटो पनि खुला गरिदिएको ती नेताले बताए।

‘गाउँगाउँमा माओवादीका नेताहरु बिग्रिएका छैनन्, उनीहरु जनतासँगै छन्,’ नेकपा सचिवालयका ती नेताले नेपालखबरसँग भने, ‘एमसीसीमा पार्टीकै विरोध गरिरहेका छन्। उनीहरुको चुनाव चिन्ह प्रयोग गरेर उम्मेदवारी दिए पनि हाम्रो पार्टीले सहयोग गर्छ।’

स्वतन्त्र उम्मेदवारी दिन नसकेको स्थानमा आवश्यकता हेरी विचार मिल्ने दलका उम्मेदवारलाई समर्थन गर्ने नेकपाले निर्णय गरेको छ।

‘राजावादी, डेमोक्रेसी भन्नेहरुले जनताको पक्षमा वकालत गर्दैनन्, कांग्रेस पनि राष्ट्रघातकै पक्षमा छ,’ ती नेताले भने, ‘जनताका पक्षमा उभिएका उम्मेदवारलाई हाम्रो पार्टीले समर्थन पनि गर्छ।’

चैत ४ देखि १४ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राखेको ‘चुनावलाई उपयोग गर्ने’ प्रस्तावलाई परिमार्जन गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ। नेकपा पार्टी निर्वाचन आयोगमा दर्ता छैन। 

त्यही भएर रोल्पा, कालिकोट, कपिलवस्तु, प्युठान र नेकपाको प्रभाव क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने नेकपाले निर्णय गरेको हो। 

संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमत संग्रहनिम्ति माहोल बनाउन गाउँगाउँमा भ्रष्टाचारविरोधी अभियन्ता, एमसीसीविरोधी नेता, राष्ट्रवादी नेताहरुलाई चुनावमा सहयोग गर्नुको मुख्य कारण भएको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए।

नेकपाले केन्द्रीय सदस्यहरुलाई पार्टी दर्ता नगर्ने, चुनावमा पनि नजाने तर जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएको छ। उम्मेदवारी दिनुअघि सो पार्टीले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, विश्वभक्त दुलाल नेतृत्वको पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ६ दलीय मोर्चासँग छलफल गर्नेछ। 

चैत ४ गतेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जाने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। ७० जना केन्द्रीय सदस्यहरुमध्ये अधिकांशले चुनाव बहिष्कार गर्नुपर्ने, संसदीय व्यवस्थामा फस्न नहुने धारणा राखेपछि विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो।

तर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केही केन्द्रीय सदस्यहरु पनि चुनाव उपयोग गरेर जानुपर्ने पक्षमा उभिएपछि सचिवालयको बैठक बसेको थियो। कपिलवस्तुको शिवगढीमा सचिवालय बैठक बसेर नेताहरुले उठाएका विषयवस्तुमाथि थप छलफल गरिएको बास्तोलाले बताए।

११ दिनपछि विप्लवको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गरेर पारित गरिएको छ। सिधै चुनावमा सहभागी हुने प्रस्तावलाई परिमार्जन गरेर स्वतन्त्र उम्मेदवारी दिने बाटो खुला छोडिएको हो।

नेकपामा महासचिव विप्लव, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर रहेको केन्द्रीय कार्यालय छ। 

‘चुनाव चिन्ह आफ्नै लिनको लागि हाम्रो पार्टीहरु दर्ताको प्रक्रिया सकियो, अब ६ दलीय पार्टीबीच संयुक्त बैठक बस्छ अनि त्यसले चुनावी तालमेलबारे थप निर्णय गर्छ,’ सचिवालयका ती नेताले भने। 

६ दलीय मोर्चामा रहेका मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाहेकका अन्य दलहरुले चुनावबारे कुनै औपचारिक निर्णय गरेका छैनन्। वैद्यले चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।

नेकपाका एक केन्द्रीय सदस्यले विचार मिल्ने दलसँग मिल्न सकिने बताए।

‘बाहिर जसरी भनेपनि हाम्रो पार्टीले स्थानीय चुनावमा आफ्नो प्रभाव क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन्छ,’ ती नेताले भने, ‘सकभर क्रान्तिकारी भाव बोकेकै दलसँग मिलेर चुनावलाई उपयोग गरिन्छ।’ 

चुनावमा प्रत्यक्ष होमिन खोजेका विप्लवलाई रोक्न आफूहरु सफल भएको सचिवालयका अर्का नेताले दाबी गरे।

‘चुनावमा गएको भए हामी सकिन्थ्यौँ, यिनीहरु पनि उस्तै रहेछन् भनेर परीक्षण हुन्थ्यो अनि संसदीय व्यवस्थाको विरोध गर्ने ठाउँ सकिन्थ्यो,’ ती नेताले नेपालखबरसँग दाबी गरे, ‘त्यसलाई रोक्न सफल भयौँ, क्रान्तिकारी पार्टी जोगायौँ।’

२०७३ मा मोहन वैद्यसँग विभाजित भएर नेकपा गठन गरेका विप्लवले २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचन बहिष्कार गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad