ad ad

राजनीति


एमालेबाट मेयर भएको अवस्थामा जितपुर सिमरालाई नमुना उपमहानगर बनाउन सक्छु : नारायण क्षेत्री (अन्तर्वार्ता)

‘एमालेविरुद्ध सत्ता–गठबन्धन छ, तर जनताको ‘महागठबन्धन’ हामीतिर भएकाले सफल हुन्छौं’
एमालेबाट मेयर भएको अवस्थामा जितपुर सिमरालाई नमुना उपमहानगर बनाउन सक्छु : नारायण क्षेत्री (अन्तर्वार्ता)

जितपुर सिमराको मेयर पदका लागि सिफारिस भएका नारायण क्षेत्री (तस्बिरः विक्रम राई)


रुपक चौलागाईं
बैशाख १०, २०७९ शनिबार २२:२१, काठमाडौँ

मधेश प्रदेशका दुई उपमहानगरपालिकामध्ये जितपुर सिमरालाई प्रदेशकै कान्छो उपमहानगरका रुपमा लिइन्छ। स्थानीय तह निर्वाचनको माहोल देशभर बढ्दै जाँदा यहाँपनि राजनीति गर्माएको छ। देशकै मुख्य औधोगिक करिडोर र विशेष आर्थिक क्षेत्र, दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल, काठमाडौँ र मधेसको छोटो दुरीमा चल्ने सिमरा विमानस्थल लगायतले यहाँको चर्चा हुने गरेको छ।

०७४ को निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवैमा विजय निकालेको थियो, यो उपमहानगरमा। त्यतिबेलको भन्दा अहिलेको परिस्थिति निकै फेरिएको छ। एमाले विभाजनको असर बोकेर निर्वाचनमा जाँदैछ भने कांग्रेस, माओवादीसहितका दलहरुको छुट्टै गठबन्धन बनेकाले अहिले नै परिणामको आकलन यहाँ गर्न असजिलो छ।

यद्यपी दलहरुले आ–आफ्नो जितको दाबी गर्दै प्रचार प्रसारलाई तिब्र बनाएका छन्। एमाले नेताहरुले आफ्नो पूरानो साख गुम्न नदिने बताउँदै आएका छन्। जितपुर सिमराको प्रमुख (मेयर) पदका लागि सिफारिस भएका नारायण क्षेत्री एमालेको बढ्दो जनलहरले जितपुर सिमरामा आफूहरुकै जित निश्चित रहेको दाबी गर्छन्।

बारा जिल्लामा एमालेका पूराना नेता क्षेत्रीले नेपालखबरसँगको कुराकानीका क्रममा भनेका छन्, ‘बलियो आधार भूमि भएको हुनाले आउने चुनावमा नेकपा एमालेले नै सशक्त रुपमा बहुमतसहित जित्ने अवस्था छ।’ 

०५४ सालमा डुमरबाना गाउँ विकास समितिको अध्यक्ष हुँदा देशकै उत्कृष्ट गाविस घोषणा गर्दै पुरस्कृत भएका क्षेत्री अहिले मेयर बन्नका लागि दौडधुपमा छन्।

थोरै मतान्तरका साथ कांग्रेससँग पराजित भएको एमालेले यसपालि गठबन्धन कायम रहेको खण्डमा भने जित निकाल्न सहज छैन्। एमालेबाट मेयर उम्मेदवारका बलिया दाबेदार नारायण क्षेत्रीसँग नेपालखबरले गरेको कुराकानी:​

जितपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनसँग प्रतिस्पर्धा गर्नका लागि एमालेको तयारी के छ?
जितपुर सिमरामा गठबन्धनसँग प्रतिस्पर्धाका लागि एमालेको सशक्त तयारी छ। एमालेको संगठन एकदमै चुस्त, दुरुस्त र प्रभावकारी रुपमा अघि बढेको छ। सम्पूर्ण वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीको समेत समायोजन गरेर चुनावको तयारी अगाडि बढाएको छ। 

तपाईं आफैंपनि जितपुर सिमराको प्रमुखका लागि पार्टीबाट सिफारिस हुनुभएको छ। अब टिकट पाउने संभावना कतिको देख्नुभएको छ?
नेकपा एमालेको पुरानो र इमानदार कार्यकर्ताको हिसाबले मैलेपनि जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखका लागि आकांक्षा प्रस्तुत गरेको छु। मैले पार्टीमा जुन भूमिका दिएको छु, त्यसलाई पार्टीले पक्कैपनि मूल्याकंन गर्नेछ। र, यो सेवा गर्ने अवसर पार्टीले दिन्छ भन्नेमा मलाई विश्वास छ। विगतको लामो समयदेखि पार्टीको लागि महत्वपूर्ण भूमिका मैले निभाइरहेको छु। त्यसकारण पनि मेयरको टिकट पाउनेमा म विश्वस्त छु, पार्टी केन्द्रप्रति मेरो पूर्ण विश्वास छ। 

०७४ को निर्वाचनमा जितपुर सिमराको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। अहिले एकातिर गठबन्धन अर्कोतर्फ एमाले हुँदा जित सहज देख्नुहुन्छ?
०७४ को निवार्चनमा एमालेबाट प्रमुख–उपप्रमुखसहित वडाध्यक्षहरुले विजयी हासिल गर्नुभएको थियो। नेकपा एमालेको घोषणापत्रको आधारमा धेरै कामहरु उपमहानगरपालिकामा भएका छन्। नेकपा एमालेका तर्फबाट जुन किसिमको कार्यक्रमहरु प्रस्तुत गरियो, ती कार्यक्रमहरु सफलतापूर्वक त्यहाँपनि कार्यान्वयन भएका छन्। जितपुर सिमरा १० वटा गाउँ विकास समिति मिलेर बनेको छ। त्यसमध्ये विगतमा ०५४ सालमा नेकपा एमालेको नै बहुमतसहितको प्रतिनिधित्व थियो। बलियो आधार भूमि भएको हुनाले नेकपा एमालेबाट नै फेरिपनि आउने चुनावमा सशक्त रुपमा बहुमतसहित जित्ने संभावना प्रबल रहेको छ।

०७४ मा कांग्रेससँगको प्रतिस्पर्धामा जम्मा मतान्तर २ हजार लगभग थियो। माओवादी तेस्रो बने तापनि झण्डै कांग्रेसकै हाराहारिमा मत ल्याएको थियो। यस्तो अवस्थामा एमालेलाई त जित्न निकै कठिन देखिन्छ नि होइन र?
अहिले त्यहाँको भोटर संख्या पनि वृद्धि भएको छ। एमालेप्रतिको जनलहर बढेको छ। एमालेले गरेको कार्यक्रमहरुले त्यहाँको जनसमुदायमा अत्यन्त राम्रो प्रभाव परेको छ। गठबन्धनको सन्दर्भमा, हो नेकपा एमाले विरुद्ध विभिन्न पार्टीको गठबन्धन छ। जनताको सबैभन्दा समर्थन र गठबन्धन चाहिँ एमालेप्रति छ। जनताको माग एमाले छ, त्यसकारण एमालेले जित्छ भन्नेमा हामी विश्वस्त छौँ।

देशका विभिन्न जिल्लामा गठबन्धन टुट्न थालेका छन्। त्यसको फाइदा एमालेले उठाइरहेको टिप्पणी हुन्छ। जितपुर सिमरामा एमालेले गठबन्धनको किचलोलाई फाइदाको रुपमा लिनसक्ने अवस्था छ?
वास्तवमा, गो गठबन्धन नै अप्राकृतिक देखिएको छ। गठबन्धन नै विश्वमा कहिँ नभएको जात्राको रुपमा देखिएको छ। किनभने गठबन्धन कायम गरेर जुन किसिमले अदालतबाट सरकार बन्यो। अहिले त्यो गठबन्धन टिकाउने नाममा वैचारिक भिन्नता भएको छ। सैद्धान्तिक, वैचारिक रुपमा त्यो अप्राकृतिक हो। त्यो गठबन्धनले जनताको बीचमा खासै ठूलो प्रभाव पार्ने स्थिति देखिएको छैन। गठबन्धनभित्रपनि वैचारिक मतभेदको कारणले जनताले काममा कसको प्रभावकारिता छ भन्ने हेरेका छन्। सैद्धान्तिक घोषणाको आधारमा कसले बढी कार्यान्वयनमा लैजान्छ भन्ने हेर्दा अहिलेसम्म नेपालमा घोषणापत्र वा जनताको समस्यासँग एकाकार भएर अघि बढ्ने पार्टी नेकपा एमाले नै देखिएको छ।

त्यो गठबन्धन एउटा सैद्धान्तिक, वैचारिक, व्यवहारिक रुपमा अप्राकृतिक र तालमेल नभएको भएका कारणले गठबन्धनभित्र पूर्ण रुपमा एकता पछिसम्म रहन्छ भन्ने विश्वास हामीलाई छैन। गठबन्धनमा रहेका दलहरुमा विभिन्न किसिमका विचारधारात्मक अन्तसंघर्ष चलिरहेको हुनाले एकाकार भएर अघि बढ्छ भन्ने मलाई लागेको छैन। गठबन्धन हुँदाहुँदै पनि जनताको ‘महागठबन्धन’ को विश्वास हामीतिर भएको हुनाले हामी सफल हुन्छौं।

पछिल्लो समय एमालेले चलाएका उपमहानगरपालिकाहरुमा सबैभन्दा बढी समस्या देखा परेको भनेर टिप्पणी हुन्छ। जितपुर सिमरामा के छ?
अब, मधेश प्रदेशमा अलिकति भिन्न परिस्थिति छ। त्यहाँ राजनीतिक चेतना अहिले धेरै अभिवृद्धि भएको छ। विगतमा जुन किसिसमका कमि कमजोरीहरु स्थानीय तहमा देखिएका थिए, स्थानीय सरकार भनेपछि जनताको बीचमा यो नै एककिसिमको महत्वपूर्ण पद हो भन्ने पहिलाको संस्कारभन्दा परिवर्तन भएको छ।

स्थानीय तहमा एमालेको नेतृत्वमा वितृष्णा हामीले देखेका छैनौं। विगतका दिनमा मधेश प्रदेशमा एमालेका विरुद्ध लहर जस्तो देखिएको थियो। तर, अहिले त्यसको ठिक विपरित एमालेप्रतिको जनलहर अत्याधिक मात्रामा वृद्धि भएको छ। वीरगन्ज महानगरपालिकाको मेयर नै एमालेमा प्रवेश गर्नुभएको छ। हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ। एमालेको कार्यक्षमतामा जनताबीच प्रश्न भएको भए धेरैभन्दा धेरै मान्छेहरु एमालेमा प्रवेश गर्ने लहर चल्नुपर्ने थिएन्। मलाई लाग्दैन कि, एमालेको साख वा नेतृत्व स्थानीय तहमा गिरेको छ। अझ, वृद्धि भएको पो व्यवहारमा देखिएको छ। 

जितपुर सिमरा उपमहानगरपालिकाका लागि पार्टीले तपाईंलाई टिकट दिएको खण्डमा जनताले भोट किन हाल्ने?
जनताले नेकपा एमाले र मलाई भोट हाल्ने प्रशस्त आधारहरु छन्। नेकपा एमाले मात्रै एउटा यस्तो शक्ति हो, अहिले पार्टी विभाजन भइसक्दापनि एमाले नेपालको पहिलो ठूलो शक्ति हो। नेकपा एमालेको एजेण्डा राष्ट्रिय एजेण्डाको रुपमा अघि बढेको छ। एमाले आर्थिक विकास र उन्नतीका लागि व्यवहारिक एजेण्डा बोकेको र ठोस कार्ययोजना भएको पार्टी हो। 

स्थानीय रुपमा हेर्दा मलाई नै किन भोट दिने भनेर हाम्रो नगरपालिकाका जनसमुदायलाई के भन्छु भने, म आफैं ०५४ सालको निर्वाचनमा विपक्षीभन्दा अत्याधिक बहुमतले २७ वर्षको उमेरमा नै गाउँ विकास समितिको अध्यक्ष भएको थिएँ। डुमरबाना गाउँ विकास समितिलाई हामीले देशकै नमुनाको रुपमा संचालन गरेका थियौं। जनताको शैक्षिक, पूर्वाधार लगायतका विकासमा अत्यधिक राम्रोसँग काम गरेको थिएँ। त्यहाँको विकासको नेतृत्व मैले नै गरेको कारणले हामी पुरस्कृत पनि भएको थियौं। 

नेकपा एमालेले नेतृत्व गरेको साना किसान, ०५१ सालमा पनि सुकुम्बासीलाई पुर्जा वितरण गर्यो। त्यो कार्यान्वयनमा पनि गयो। ०६७ सालमा सुकुम्बासी आयोग गठन भयो, जसको म आफैं अध्यक्ष थिएँ। हामीले २५ सय पुर्जा वितरण गर्यौँ। अहिले मैले नै नेतृत्व गरेको साना किसान सहकारीबाट जनताले सानोतिनो रकम ऋण लिएर व्यवहार गरिरहेका छन्। राज्यलाई करोडौं आम्दानी त्यहाँबाट भएको छ। 

सुकुम्बासी आयोग र भूमिहीनहरुको लागि काम गर्ने पार्टी नेकपा एमाले हो भन्ने पुष्टि भइसकेको छ। त्यसभन्दा अघिपछि धेरै आयोगहरु बने। त्यसबाट धेरै काम हुन सकेन्। देशको सबैभन्दा ठूलो र उत्कृष्ट साना किसान सहकारी संस्थामध्ये डुमरबानामा भएको संस्थाको कारोबार मात्रै १ अर्ब ८० करोडको छ। त्यहाँ सदस्य मात्रै ९ हजार परिवार छन्। ५० हजारभन्दा बढी सदस्य साना किसानसँग आवद्ध छन्। हरेक संघसंस्था र स्थानीय निकायको नेतृत्व गर्ने कुरामा अब्बल भएर अघि बढेका छौँ। जनताको समस्यालाई नै आफ्नो समस्याको रुपमा समाधान गर्ने किसिमले अघि बढेका छौँ। सँगसँगै अन्य स्वास्थ्य, संचारसँग सम्बन्धित काम एमालेको नेतृत्वमा भएको हुनाले एमाले नै यहाँका जनताको रोजाइ हो। यहाँ एमालेबाट म प्रति जनताको पहिलो रोजाई हुन्छ भन्नेमा म विश्वस्त छु।

तपाईंले भनेजस्तै, गाविस अध्यक्ष हुँदा तपाईं देशकै उत्कृष्ट भएर पुरस्कृत हुनुभयो। अहिले उपमहानगरपालिकामा कस्ता नमुना काम गरेर पुरस्कृत हुन पुनः दोहोरिनुहुन्छ?
म सँग त्यस्ता प्रशस्त योजनाहरु छन्। ती योजनाहरु लग्दा स्थानीय रुपमा धेरै कामहरु गर्न सकिन्छ। पहिलो त म नेकपा एमालेबाट मेयर भएको अवस्थामा एमालेको घोषणापत्रलाई स्थानीय जनताको माटोसँग एकाकार गराएर पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि संकल्पित भएर काम गर्नेछु। 

खासगरी कृषि, मजदुर फाँटमा अर्थात स्वरोजगार सिर्जना गर्ने ठाउँमा अत्यन्त महत्वपूर्ण काम गर्नेछु। त्यस्तो अवस्थामा हामीले ठूला र राम्रा कामहरु गर्न सक्छौं। कृषिमा लगानी गरेर उत्पादन वृद्धि गर्नेतर्फ लाग्छौं। कृषिमा आफैं आयात प्रतिस्थापन गर्न सक्छौं। हामीले अहिले त्यहाँ साना किसान सहकारीको लगानीमा खाद्य उद्योग संचालन गरेका छौं। जसले २ टन प्रतिघन्टा चामल उत्पादन गर्छौं। यस्ता एक वार्ड एक कृषिसँग सम्बन्धित उद्योग, एक सहकारी एक उद्योग गराएर हामीले जनतालाई उद्योग स्थापना गरेर रोजगारको बाटो खोल्छौं।

हुन त जितपुर सिमरा आफैंमा उद्योगको खानी हो। उद्योगहरु भनेको पुँजीवालाहरुको हो। मजदुर र किसानहरुको तर्फबाट पनि मझौला उद्योग सिर्जना गरेर ठूलो स्वरोजगार सिर्जना गर्न सक्छौं। हामीले फोहोर व्यवस्थापन गर्ने उद्योगको स्थापना गरेर प्रागांरिक मल उत्पादन गर्ने काम गर्न सक्छौं। स्वास्थ्य बिमा लगायतका धेरै कामहरुलाई व्यवस्थापन गर्न सक्छौं। विदेशबाट आउने ग्यासलाई प्रतिस्थापन गर्दै आफ्नै उत्पादनको बिजुलीबाट चल्ने चुलोहरु वितरण गरेर सहकारी वा नगरपालिकाको समन्वयमा हरेक घरमा पुर्याउनेछौं। राज्यको आम्दानी राज्यमा नै राख्ने व्यवस्था हामीले गर्न सक्छौं।

स्कुल तथा कलेजहरुलाई व्यवस्थित बनाएर कलेजमार्फत विभिन्न विषयमा शिक्षा दिन सक्छौं। म आफैंपनि केही समय अघि जापानमा अर्बन डेभलपमेन्टको बारेमा रिसर्चका लागि पुगेको थिएँ। त्यहाँबाट मैले धेरै कुराहरु सिकेर आएको छु। त्यो अनुभवबाट पनि प्रभावित भएर कामहरु गर्न सक्छौं। यस्ता धेरै योजनाहरु हामीले निर्माण गरेका छौं, जसलाई कार्यान्वयन गरेर एउटा नमुना उपमहानगरपालिकाको रुपमा जितपुर सिमरालाई स्थापित गर्नसक्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .