राजनीति


सांसद सुरेन्द्र कार्कीको प्रस्ताव : नेपालले शक्तिराष्ट्रको दबाब थेग्न सक्दैन, शान्ति क्षेत्र घोषणा गरौँ

सांसद सुरेन्द्र कार्कीको प्रस्ताव : नेपालले शक्तिराष्ट्रको दबाब थेग्न सक्दैन, शान्ति क्षेत्र घोषणा गरौँ

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्की। तस्बिर : नेपालखबर


नेपालखबर
असार ५, २०७९ आइतबार १९:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्रकुमार कार्कीले नेपालले ठूला राष्ट्रहरूसँग समानताको व्यवहार गर्न नसक्ने बताएका छन्। 

आइतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद कार्कीले नेपालले ठूला राष्ट्रहरूसँग समानताको व्यवहार गर्न नसक्ने बताएका हुन्। 

उनले बलियो गोरुसँग हल बाँधिदिँदा बहर बाच्छाको जस्तो हालत भएझैँ नेपालको पनि ठूला राष्ट्रहरूसँग समान हुन खोज्दा त्यही हालत हुने टिप्पणी गरे। 

उनले भारत, चीन र अमेरिकासँग गर्ने सम्बन्धमा असमान प्रावधान हुनुपर्ने उल्लेख गरे। 

सांसद कार्कीले नेपालले एसपीपीमा सामेल हुन नसक्ने कुरा अमेरिकालाई पत्राचार गरेर जानकारी दिनुपर्ने पनि बताएका छन्। 

‘अमेरिकालाई विनम्रतापूर्वक भनौँ हामी कसैसँग पनि यति ठूला राष्ट्रहरूसँग समानताको व्यवहार गर्न सक्दैनौँ। यो गाउँले भाषामा के हो भने एकदमै बलियो गोरुसँग एउटा मरन्च्याँसे अथवा सानो गोरुलाई बहर बाच्छालाई लगेर हल बाँधिदिएपछि हुन त समानता नै गरेको हो, एउटै जुवामुनि छन्', उनले भने, 'तर त्यतिबेला त्यो बाच्छाको जो हालत हुन्छ नि, त्यसो हुनाले हामीले भारत, चीन, अमेरिकासँग गर्ने सम्बन्ध भनेको या त्यसमा जहिले असमान प्रोभिजन हुनुपर्छ। त्यो कहिले समानताको हुन सक्दैन। समान गर्दा त हामी कहाँ सक्छौँ त? त्यसो हुनाले हामीले उनीहरुलाई विनम्रतापूर्वक चिठी लेख्ने कुरा भनिदिने कि हामी अहिले त्यसमा सामेल हुन सक्दैनौँ। हाम्रो घरेलु, क्षेत्रीय, अन्तर्राष्ट्रिय चिजले हामीलाई स्वीकृति दिँदैन भन्ने कुरा लेख्नुपर्यो।’

सांसद कार्कीले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरिनुपर्ने बताए। उनले नेपालमा आगामी दिनमा पनि एमसीसी, एसपीपी जस्ता विभिन्न शीर्षकमा यस्तै प्रकारका दबाब आइरहने भन्दै शान्ति क्षेत्र बनाएमा त्यस्तो नहुने बताए। 

उनले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई छिमेकी मुलुकहरु चीन र भारतले पनि समर्थन गर्ने अन्तर्राष्ट्रिय परिस्थिति बनेको बताए। 

‘एमसीसीलाई पास गर्ने भोलिपल्टदेखि नै यसमा हामीले पहल गर्नुपर्थ्यो। यो शान्ति क्षेत्रको प्रस्तावलाई हामीले मुभ गर्नुपर्थ्यो। त्यो मुभ गर्‍यो भने मात्रै भोलि अझै चर्किँदै जाने, यो एकदिनको मात्रै कुरा होइन, भोलि अर्को शीर्षकमा। पर्सि अर्को शीर्षकमा यस्ता कुरा आइरहन्छन्', उनले थपे, 'हामीले त्यो दबाबलाई कसरी झेल्छौँ? त्यसो हुनाले कमसेकम हामीले त्यो प्रस्ताव बनाएर यतिबेला लगेमा भारत र चीनले समर्थन गर्ने स्थिति छ। उनीहरुको राष्ट्रिय चासोमा पनि छ यो। यसलाई हामी मुभ गरौँ’

उनले शक्ति राष्ट्रहरुको शीतयुद्धलाई भौतिक रुपमा देखिनुअघि नै नेपालले यो प्रस्तावलाई अगाडि बढाउनुपर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .