ad ad

राजनीति


इन्डो-प्यासिफिक क्षेत्रका सेनापतिहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई निम्तो

अस्ट्रेलिया जान सरकारको स्वीकृति कुर्दै शर्मा
इन्डो-प्यासिफिक क्षेत्रका सेनापतिहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई निम्तो

सन्तोष घिमिरे
असार २०, २०७९ सोमबार २१:११, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्मालाई अमेरिकी सेनाको पहलमा जुलाई अन्तिम साता अस्ट्रेलियामा हुन लागेको एक विशेष सम्मेलनमा निम्तो आएको छ। 

कूटनीतिक स्रोतका अनुसार जुलाई २५ देखि २७ सम्म अस्ट्रेलियामा आयोजना हुने इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई डाकिएको हो। 

प्रधानसेनापति शर्मा आइतबार साँझ मात्रै अमेरिकाको औपचारिक भ्रमण सकेर फर्केका थिए। अमेरिकामा रहँदा उनले अमेरिकी सैनिक अधिकारीसँग भेटेका थिए। 

नेपाली सेनाले प्रधानसेनापति शर्मालाई अस्ट्रेलिया भ्रमणको निमन्त्रणा आएकोबारे सरकारलाई जानकारी गराइसकेको छ। 

‘प्रधानसेनापति शर्मा सम्मेलनमा सहभागी हुने विषयमा सकारात्मक रहेको बुझेका छौँ। यदि मन्त्रिपरिषदबाट स्वीकृत भए उहाँ भ्रमणमा जानुहुनेछ,’ जानकार एक सरकारी अधिकारीले नेपालखबरसँग भने। 

मन्त्रिपरिषद् बैठकले प्रधासेनापति शर्माको अस्ट्रेलिया भ्रमण स्वीकृत चाहिँ गरिसकेको छैन। 

प्रधानसेनापति शर्मालाई आएको निम्तो परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय हुँदै जंगी अड्डा पुगेको थियो। 

सैनिक प्रवक्ता नारायण सिलवालले भने प्रधानसेनापतिको प्रस्तावित भ्रमणबारे अनविज्ञता प्रकट गरे।
 
‘यसबारेमा मलाई जानकारी भएन,’ उनले नेपालखबरसँग भने। 

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डको पहलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो। 

अमेरिकाले इन्डो–प्यासफिक क्षेत्रका सैन्य नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ। 

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड र अस्ट्रेलियाले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्दैछन्। सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। 

भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ। इन्डो–प्यासिफिक रणनीति (आईपीएस) कार्यान्वयनका लागि अस्ट्रेलियाको भूमिका प्रधान रहने अमेरिकाको भनाइ छ।

चीनलाई नियन्त्रण र सन्तुलनमा राख्न अमेरिका र अस्ट्रेलियाले रणनीतिक साझेदारी दह्रो पार्दै लगेको देखिन्छ। अमेरिका र अस्ट्रेलियाले इन्डो–प्यासिफिक कमान्डका बैठक समयसमयमा गर्दै आएका छन्। 

नेपाली सेनाप्रति इन्डो–प्यासिफिक कमान्डको चासो बढ्दो 
अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि विभिन्न प्रस्ताव अघि सार्दै आएको छ। तीन साताअघि नेपाल आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल जनरल चाल्र्स ए फ्लिनले स्टेट पार्टनरसिप कार्यक्रमसम्बन्धी सैन्य सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मालाई आग्रह गरेका थिए। सम्झौतामा हस्ताक्षरका लागि प्रधानमन्त्री देउवा शुरुमा सकारात्मक भए पनि विवाद बढेपछि पछि हटेका थिए। 

तर प्रधानसेनापति शर्माले नेपालको भूराजनीतिक संवेदनशीलताका कारण नेपाली सेना एसपीपीमा सहभागी हुन नसक्ने जवाफ अमेरिकी सैन्य कमान्डर फ्लिनलाई दिएका थिए। त्यहीबीच अमेरिकी सेनाले नेपाल सरकार र सेनालाई बुझाएको एसपीपीसम्बन्धी १० बुँदे सैन्य सम्झौताको मस्यौदा सञ्चारमाध्यममा चुहिएको थियो।

अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाको सात वर्षयता रहिआएको सहभागिता विवादमा परेपछि सरकारले त्यसमा अघि नबढ्ने निर्णय दुई साताअघि गरिसकेको छ। तर नेपाली सेनाले लामो समयदेखि अमेरिकी सेनासँग विविध क्षेत्रमा सहकार्य गर्दै आएको छ। 

एसपीपी सन् २०१९ मै अमेरिकी सैन्य रणनीति इन्डो–प्यासिफिक स्ट्राटेजीमा समेटिएको थियो। अमेरिकाले उक्त सैन्य रणनीतिमा नेपाल र श्रीलंकालाई नयाँ साझेदार मुलुकमा सूचीकृत गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .