सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार बेलुका भेट गरेका छन्।
मंगलबार साझ नै अर्थमन्त्री शर्माले पनि प्रधानमन्त्री देउवालाई भेटेका थिए।
अर्थमन्त्री शर्मा र अध्यक्ष प्रचण्डले एकैपटक या अलग अलग प्रधानमन्त्रीलाई भेटेको खुलेको छैन। तर, शर्मा साँझ ६ बजे बालुवाटार पुगेका थिए।
स्रोतका अनुसार प्रचण्ड पनि त्यहीबेला देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच लामो कुराकानी भएको बताइएको छ।
'कुरा निकै राम्रो भयो, अब भोलि थाहा हुन्छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर जथाभावी करका दर फेरेको भन्दै शर्मामाथि राजीनामा दबाब परेको छ
यही प्रकरणको सीसीटीभी फुटेज पनि कानुनविपरीत १३ दिनमै डिलिट भएको जवाफ दिएपछि शर्मा घेराबन्दीमा परेका छन्। कानुनतः सार्वजनिक तथा सरकारी स्थानमा राखिएको सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नु पर्ने नियम छ।
यसबीचमा काङ्ग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने अभिव्यक्ति दिएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ।
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नस्ट गरेको भन्दै एमालेको भ्रातृ संगठन युवा संघ आन्दोलनमा छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्रीको राजीनामाबारे प्रधानमन्त्री देउवाले केही पनि बोलेका थिएनन्।
552
Shares
प्रतिक्रिया