ad ad

राजनीति


अमेरिकापछि सेनाले माग्यो भारतसँग दुईवटा हेलिकोप्टर, रुससँग प्रक्रिया नै अघि बढेन

भारतीय प्रधानसेनापति मनोज पाण्डे काठमाडौँ आउँदा हेलिकोप्टर सहयोग घोषणा हुने सम्भावना
अमेरिकापछि सेनाले माग्यो भारतसँग दुईवटा हेलिकोप्टर, रुससँग प्रक्रिया नै अघि बढेन

भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ तेस्रो साता काठमाडौँ आउँदा हेलिकोप्टर सहयोग घोषणा हुने सम्भावना छ


सन्तोष घिमिरे
साउन २२, २०७९ आइतबार २३:१७, काठमाडौँ

नेपाली सेनाले संयुक्त राज्य अमेरिकापछि भारतसँग पनि दुई वटा सैनिक हेलिकोप्टर अनुदानस्वरुप मागेको छ।

सेनाले रक्षा मन्त्रालय हुँदै दुई हेलिकोप्टर भारतसँग अनुदान स्वरुप माग्ने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको थियो। वैदेशिक सहायता लिनुपर्ने विषय भएकाले परराष्ट्रले अर्थ मन्त्रालयलाई त्यस सम्बन्धमा सहमति मागेको थियो।

अर्थले सहमति दिएलगत्तै कुटनीतिक च्यानलबाट भारत सरकारलाई दुई हेलिकोप्टर अनुदानस्वरुप माग्दै पत्र लेखिएको परराष्ट्र स्रोतले जानकारी दियो।

‘सैनिक मुख्यालय जंगी अड्डाको प्रस्ताव बमोजिम भारत सरकारलाई कुटनीतिक च्यानलबाट साउन दोस्रो साता पत्राचार भइसकेको छ’, मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।

दक्षिणी छिमेकी भारतले विगतदेखि नै नेपाली सेनालाई बिभिन्न अवसरमा सहायता प्रदान गर्दै आएको छ।

भारतीय प्रधानसेनापति मनोज पाण्डेको भदौ तेस्रो साता हुने नेपाल भ्रमणका क्रममा ती हेलिकोप्टर सहयोगको घोषणा हुनसक्ने कतिपय अधिकारीको अनुमान छ। पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन भदौ २० देखि २२ सम्म काठमाडौँ आउने तय भएको छ। भ्रमणको औपचारिक घोषणा भइसकेको छैन।

‘पाण्डेको भ्रमणमा अनुदानमा हेलिकोप्टर दिने घोषणा हुने वा नहुने निश्चित भइसकेको छैन। तर हामी आशावादी छौं,’ अर्का एक सरकारी अधिकारीले भने।

नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछिन्। सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ।

सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए। त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन्। त्यसैगरी सो अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका छन्।

अमेरिकाले देला त दुई हेलिकोप्टर अनुदानमा? 
गत साउन पहिलो साता नेपाली सेनाले अमेरिकासँग अनुदानस्वरुप दुईवटा हेलिकोप्टर माग गरिसकेको छ। रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा आएको सेनाको हेलिकोप्टर माग्ने सम्बन्धि प्रस्ताव अमेरिका सरकारलाई कुटनीतिक माध्यमबाट पठाइसकिएको मन्त्रालय स्रोतले बतायो।

हाल सेनासँग रहेका १० हेलिकोप्टरमध्ये दुईवटा ग्राउन्डेड र ८ वटा सञ्चालनमा छन्। ती ८ मा दुईवटा एमआई, दुईवटा अगस्टा, दुईवटा एक्युइरियल र दुईवटा बेल छन्।

सञ्चालनमा रहेकामध्ये दुई वटा हेलिकोप्टर आपत्कालीन राहत तथा उद्धारका लागि प्रयोग भइरहेका छन्। तर यो अपर्याप्त रहेको नेपाली सेनाले रक्षा मन्त्रालय हुँदै परराष्ट्रमा पठाएको पत्रमा उल्लेख गरेको रक्षा मन्त्रालय स्रोतले जानकारी दियो।

जानकार स्रोतका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले अनुदानमा हेलिकोप्टर उपलब्ध गराइदिन अमेरिकी पक्षलाई आग्रह गरेका थिए। गत महिना सम्पन्न अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति शर्माले रक्षा मन्त्रालय पेन्टागन तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भएको भेटमा हेलिकोप्टर अनुदानस्वरुप उपलब्ध गराइदिन आग्रह गरेको सैनिकसम्बद्ध स्रोतले बतायो।

अमेरिकाले यदी नेपाली सेनालाई अब हेलिकोप्टरमा अनुदान दिएमा अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्र्तगत नभई भिन्दै दुईपक्षीय सैन्य सहायता अन्र्तगत लिनुपर्ने हुन्छ। किनकी, सरकारले एसपीपी अन्र्तगतका सैन्य सहकार्यमा नेपाल अघि नबढ्ने जानकारी अमेरिका सरकारलाई गराइसकेको छ।

‘एसपीपी अन्र्तगत नभएपनि अन्य खालका सहयोग हामीले अमेरिकी सेनाबाट जारी राख्नेछौं भन्ने बेहोराको पत्र अमेरिका सरकारलाई पठाइएको हो। एसपीपीमा अघि नबढ्ने भनेको अमेरिकी सेना र नेपाली सेनाबीचका अन्य सहयोग टुटाउने भन्ने विल्कुल होइन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

एसपीपीमा अघि नबढ्ने सरकारी निर्णयबाट अमेरिकी सेनाले दिने अन्य सहयोग पनि प्रभावित हुन्छ कि भन्नेमा सैनिक नेतृत्व चिन्तित देखिएको अर्का एक सरकारी अधिकारीले बताए।

रुसबाट दुईवटा एमआई—१७ हेलिकोप्टर किन्ने प्रयास रोकियो 
नेपाली सेनाले रुसबाट दुईवटा एमआई—१७ हेलिकोप्टर किन्नका लागि रक्षा मन्त्रालयमार्फत् गत बैशाखमा प्रक्रिया अघि बढाएको थियो। तर सरकारले रुससँग हेलिकोप्टर किन्नका लागि चासो दिएको छैन। त्यसका पछि दुई कारण रहेको सरकारी अधिकारीहरु बताउँछन्। पहिलो, सेनाका लागि हेलिकोप्टर किन्न सरकारलाई चार अर्ब रुपैयाँ चाहिन्छ, जुन अहिले जुटाउन सहज छैन। दोस्रो हो भूराजनीतिक कारण।

सरकारी अधिकारीहरुका अनुसार रुससँग हेलिकोप्टर नकिन्न अमेरिका र युरोपेली मुलुकले नेपालमाथि कुटनीतिक दबाब दिएका थिए। पैसाको अभाव र भूराजनीतिक दबाबका बाबजुद रुसबाट हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाउने प्रयास अझै जारी छ।

अमेरिकाले दिने भनेको दुई स्काइ ट्रक कहिले आउला? 
अमेरिकाले सन् २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा नेपाली सेनालाई अनुदान सहयोगमा चार वटा स्काइ ट्रक दिने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म दुई वटा मात्रै स्काइ ट्रक नेपाली सेनाले अमेरिकाबाट पाएको छ।

पोल्यान्डमा निर्मित दुई वटा पीजेडएल एम–२८ स्काइ ट्रक अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले सन् २०१९ मा नेपाललाई दिएको थियो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तान्तरण गरिएका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका थिए।

इन्डो–प्यासिफिक सुरक्षा मामिलासम्बन्धी तत्कालीन अमेरिकी सहायक रक्षामन्त्री र्यान्डल स्राइबर नेपाल भ्रमणमै रहेका बेला ती दुई स्काइ ट्रक ल्याइएको थियो। ती स्काइ ट्रक अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अन्तर्गत नै भित्रिएको प्रधानसेनापति शर्माले गत महिना संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बताएका थिए। तर, बाँकी दुई स्काइ ट्रक कहिले अमेरिकाले उपलब्ध गराउँछ भन्ने टुंगो छैन।

‘स्टेट पार्टनरसिप अन्तर्गत हामीले चार वटा सैनिक हवाइजहाज पाउने सहमति अमेरिकासँग भएको थियो। त्यसमध्ये दुई वटा नेपाल आइसकेका छन् र ती मेडिकल काममा प्रयोग भइरहेका छन्,’ शर्माले भनेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .