ad ad

राजनीति


परराष्ट्रमन्त्री चीनमा : रसुवागढी-केरुङ रेलमार्गसहित पूर्वाधार विकासमा महत्त्वपूर्ण सहमति

साढे १५ अर्ब रूपैयाँ सहयोग गर्ने चीनको घोषणा
परराष्ट्रमन्त्री चीनमा : रसुवागढी-केरुङ रेलमार्गसहित पूर्वाधार विकासमा महत्त्वपूर्ण सहमति

फाइल तस्बिर


सन्तोष घिमिरे
साउन २५, २०७९ बुधबार २३:२०, काठमाडौँ

नेपाल र चीनबीच रसुवागढी-केरुङ सीमापार रेलमार्ग विस्तार लगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका समकक्षी वाङ यी बीच बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्तामा चिनियाँ विदेशमन्त्री वाङको गत चैत दोश्रो साता भएको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्धमा भएका प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि ब्यक्त गरेका थिए।

परराष्ट्रमन्त्री खड्कासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले केरुङ—काठमाडौ रेलको पूर्व सम्भाव्यता अध्ययन अनुदानमा सम्पन्न गर्ने घोषणा गरेको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी भेटवार्तामा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन्।

यसअघि वाङको नेपाल भ्रमणका क्रममा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण लाइनको पूर्व सम्भाव्यता अध्ययनको अवधि दुई वर्ष थप्ने सहमति भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्व सम्भाव्यता अध्ययन अघि बढाउन गृहकार्य भइरहेको छ। तर यसको प्रारुपबारे दुई पक्षबीच सहमति हुन बाँकी छ।

वार्तामा चिनियाँ विदेशमन्त्री वाङले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८०० मिलियन चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेका छन्।

परराष्ट्र अधिकारीहरुका अनुसार अब अर्थ मन्त्रालयले उक्त अनुदान सहायता कार्यान्वयनका लागि चिनियाँ पक्षसँग संवाद गर्नेछ।

 झन्डै ९ करोड बराबरको विपद् चिकित्सकीय सहयोग
भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले देशका विभिन्न भागमा विपद् र प्राकृतिक प्रकोपबाट पीडित जनताका लागि सहयोगका लागि आग्रह गरेका थिए।

नेपालको अनुरोधबमोजिम चीनले नेपाललाई ५ कराेडभन्दा बढी रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा विदेशमन्त्री वाङले गरेका छन्।

त्यसैगरी चीनले नेपाललाई ३ कराेड ७८ लाखभन्दा बढी रुपैयाँ बराबरको बेग्लै चिकित्सकीय सामग्री उपलब्ध गराउने भएको छ। चिनियाँ विदेशमन्त्री वाङले नेपालले चाहेजति कोरोनाविरुद्धको खोप नेपाललाई दिन तयार रहेको भेटवार्तामा बताएका थिए।

एक चीनमा समर्थन, चीनविरोधी गतिविधि हुन नदिने
द्विपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताएका थिए। उनले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने आश्वस्त गराएका थिए।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको गत साता भएको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्धमा थप चिसोपना आएको छ।

चीनले ताइवानलाई अभिन्न अंग मान्दछ। तर ताइवानले आफूलाई स्वतन्त्र टापु मान्छ। अमेरिकाले ताइवानलाई चीनको भूभाग मानेपनि सैन्य सहायता प्रदान गर्दै आएको छ।

जसप्रति चीनको गम्भीर असहमति छ। अमेरिकाले ताइवानसँग सैन्य र आर्थिक सम्बन्ध राखेकोप्रति चीनले बिरोध जनाउँदै आएको छ।

चीनका शब्दमा अमेरिकी सभामुख पेलोसीको अघिल्लो साता भएको भ्रमण अमेरिकाले लिँदै आएको एक चीन नीतिविपरीतको कदम हो। यसरी ताइवान मामिलामा चीन र अमेरिका आमनेसामने भइरहँदा नेपालले एक चीन नीतिप्रति पुनः प्रतिबद्धता ब्यक्त गरेको हो।

अमेरिकी सभामुख पेलोसी ताइवानमै रहेका बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले वक्तव्य निकालेर नेपालको लामो समय देखिको एक चीन सिद्धान्तको सराहना गरेकी थिइन्।

उनले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धता दुई देशबीचको राजनीतिक सम्बन्धको आधारशिला रहेको बताएकी थिइन्।

चिनियाँ राजदूतले अबका दिनमा पनि नेपालले ‘ताइवान स्वतन्त्रता’का विरुद्धमा विगतमा जस्तै अडान लिने अपेक्षा गरेकी थिइन्।

अर्कातिर अमेरिका लगायत पश्चिमा मुलुकले चीनविरुद्ध नेपाली भूमि प्रयोग गरिरहेको आशंका चीनले गरेको थियो।

अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण गरी तिब्बती शरणार्थी भेटेकोमा चीनले असन्तुष्टि जनाउँदै आएको थियो।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार भारत तथा अमेरिका लगायत पश्चिमा मुलुकको इशारामा चलेको आरोप मुलुकभित्रै लागिरहेको थियो। यस्तो आरोपबीच परराष्ट्रमन्त्री खड्काले चीन भ्रमण गरी उत्तरी छिमेकीसँगको सम्बन्धलाई सरकारले ती मुलुकजस्तै महत्व दिएको सन्देश दिन सफल भएका छन्।

नेपालको सार्वभौमसत्तामा चीनको नि:शर्त समर्थनः वाङ
मन्त्री खड्कासँग बुधबार भएको कुराकानीमा वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति नि:शर्त समर्थ रहेको दोहोर्याएका थिए।

उनले नेपाल सरकारको विकासका चाहना र प्राथमिकता अनुशार चीनले नेपाललाई सहायता जारी राख्ने पनि बताएका थिए।

चिनियाँ सहयोगका परियोजनालाई गति दिन तयार
द्वीपक्षीय भेटवार्तामा मन्त्री खड्का र उनका समकक्षी वाङले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणमा भएका सहमति र सम्झौताको समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

चीनको सहयोगमा नेपालमा निर्माण भएका परियोजनालाई चाँडै निर्माण सम्पन्न गर्न गति दिने सहमति भएको मन्त्रालयले जनाएको छ।

पूर्वाधार विकास अन्र्तगत चीनले काठमाडौ उपत्यकाभित्र दोश्रो चरणको चक्रपथ निर्माणको काम चाँडै शुरुवात गर्ने वचन दिएको छ।

मल उद्योग खोल्न सम्भाव्यता अध्ययन प्रस्ताव

द्विपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले नेपालमा रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको प्रस्ताव गरेका थिए।

चिनियाँ पक्षले उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस क्रममा चिनियाँ  विदेशमन्त्री वाङले नेपालको कृषि क्षेत्रमा सघाउने वाचा गरे।

नेपालको उत्पादन क्षमता बढाउन चिनियाँ लगानीलाई प्रोत्साहन गर्ने उनले बताए। नेपाली चिया र परम्परागत जडीबुटीको निर्यात बढाउन सहयोग गर्ने आश्वासन पनि चिनियाँ विदेशमन्त्रीले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमानाका खोल्ने सहमति
नेपाल र चीनबीच रसुवा—केरुङ् र तातोपानी—झाङमु सीमानाका व्यापारका लागि दुईतर्फी खोल्ने सहमति पनि भएको छ।

त्यसैगरी हिल्स-पुराङ नाका चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना संक्रमण नियन्त्रणमा आउनासाथ एकतर्फी खोल्न दुवै पक्ष राजी भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनका परराष्ट्रमन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन्।

निजामती अस्पतालमा क्यान्सर प्रयोगशाला 

चिनियाँ विदेशमन्त्रीले निजामती अस्पतालमा क्यान्सर बिरामीको उपचारका लागि एक प्रयोगशाला स्थापनामा सघाउने तथा त्यसका लागि चिकित्सकलाई तालिम दिने वचन पनि दिएका छन्।

त्यसक्रममा मन्त्री खड्काले नेपाललाई स्वास्थ्य सामाग्री, उपकरण र कोरोना बिरुद्धको खोप लगायत क्षेत्रमा सहयोग गरेकोमा चीनलाई धन्यवाद दिएका थिए।

उनले नेपालका स्वाथ्य संरचना र पूर्वाधारको सुदृढीकरण र क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरणमा सहयोग दिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा कोरोना महामारीपछि घर फर्केपछि चीन जान नपाएका बाँकी नेपाली विद्यार्थीलाई चाँडै फर्काउने चिनियाँ विदेशमन्त्रीले प्रतिबद्धता ब्यक्त गरे।

‘अब चीन जान बाँकी नेपाली विद्यार्थीले स्वास्थ्य मापदण्ड पालना गर्दै भिषा प्रक्रिया अघि बढाउँदा हुन्छ’, उनले भेटमा भने।

सीमा समस्याबारे द्विपक्षीय समिति बनाउने सहमति
नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच सीमा समस्याबारे पनि छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार साविकको नेपाल—चीन सीमा निरीक्षण समितिलाई क्रियाशील गराउन  आवश्यक तयारी गर्न द्वीपक्षीय समिति बनाउने सहमति बैठकमा भएको छ।

बैठकमा मन्त्री खड्का र वाङबीच क्षेत्रीय र बहुपक्षीय मञ्चमा पारस्परिक हितका सवालमा भइरहेका सहकार्यबारे छलफल भएको थियो।

आगामी दिनमा पनि उक्त सहकार्य जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

खड्का र वाङबीच प्रतिनिधिमण्डलस्तरमा दुई घण्टा द्विपक्षीय बैठक भएको थियो। बैठकपछि वाङललेा मन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रीभोज दिएका थिए।

चीन गएको नेपाली टोली भोलि सान्दोङका केही रमणीयस्थल अवलोकन भ्रमणमा जाने कार्यक्रम छ। त्यसपछि टोली भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .