ad ad

राजनीति


यसरी सुदृढ हुँदैछ कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध

कम्युनिस्ट र कांग्रेस दुवैसँग समानान्तर सम्बन्ध राख्ने चिनियाँ चाहना
यसरी सुदृढ हुँदैछ कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध

सन्तोष घिमिरे
साउन २८, २०७९ शनिबार १२:५२, काठमाडौँ

परराष्ट्रमन्त्री नारायण खड्काको हालैको चीन भ्रमणमा नेपाल–चीन दुई देशीय सहकार्यका विविध विषयबाहेक नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको सम्बन्ध विस्तार बनाउनेबारे पनि कुराकानी भएको छ। 

मन्त्री खड्का र उनका चिनियाँ समकक्षी वाङ यीबीच चीनको छिन्दाओ सहरमा गत बुधबार साँझ भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाली कांग्रेस र सीपीसीबीच सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो। 

चिनियाँ परराष्ट्रमन्त्री वाङले खड्कासँगको छलफलका क्रममा नेपाली कांग्रेस तथा नेपालका अन्य राजनीतिक दलहरुसँग सम्बन्धलाई चीनले महत्व दिएको बताएका थिए। 

‘नेपालका राजनीतिक दल र चिनियाँ कम्युनिस्ट पार्टीबीच पछिल्ला दिनमा सम्बन्ध सुमधुर बन्दै गइरहेको छ। अबका दिनमा सम्बन्ध थप मजबुत बनाउनुपर्छ भन्नेमा हाम्रो सहमति रह्यो,’ परराष्ट्रमन्त्री खड्काले भने। 

खड्काका अनुसार वाङसँगको छलफलमा नेपाली कांग्रेस र सीपीसीबीचको सम्बन्धबारे पनि कुराकानी भएको थियो। 

‘नेपाली कांग्रेस र सीपीसीको सम्बन्ध पुरानो छ। अबका दिनमा त्यसलाई मजबुत बनाउनुपर्छ भन्नेबारे कुराकानी भयो,’ मन्त्री खड्काले भने। 

चु्नावको मुखमै चीन भ्रमण गरेर फर्किनुभयो, यहाँको पछिल्लो अवस्थाबारे चिनियाँ विदेशमन्त्रीसँग कुराकानी भयो कि भन्ने प्रश्नमा मन्त्री खड्काले भने ‘नेपालको चुनावका विषयमा उहाँहरुको चासो रहेन। त्यसबारे कुनै कुरा भएन। नेपाली कांग्रेस तथा नेपालका अन्य राजनीतिक दलहरुसँग सम्बन्धलाई अझ सुदृढ गर्नेबारे मात्र कुरा भयो।’ 

मन्त्री खड्का चीनको तीन दिने भ्रमण सकेर बिहीबार साँझ स्वदेश फर्किएका थिए। 
 
चीनले पछिल्लो समय नेपालका सबै दलसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ। एक महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पाटीका विदेश विभाग प्रमुख लिउ चिआन्छाओले यहाँका सत्तापक्षीय र प्रतिपक्षी दलका नेतासँग भेटेर सबै दलसँगको सम्बन्ध विस्तार गर्ने चीनको चाहना सुनाएका थिए।

खासगरी नेपाली कांग्रेससँगको सम्बन्धलाई पुनर्ताजगीकरण गर्न चाहेको सन्देश उनले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री खड्कालाई दिएका थिए। मन्त्री खड्कासँग बुधबार भएको भेटमा पनि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा स्टेट काउन्सिलर वाङले सोही धारणा दोहोर्याएका हुन्। 

गत महिना नेपाल भ्रमणका क्रममा सीपीसीका नेता लिउ बीपी संग्रहालय सुन्दरीजल पनि पुगेका थिए। सन् १९६० को दशकमा बीपी कोइरालाकै पालामा सीपीसीले नेपालका राजनीतिक दलसँग संस्थागत सम्बन्ध सुरुवात गरेको उनले बताएका थिए। बीपी संग्रहालय भ्रमण गरेर नेता लिउले कांग्रेससँगको ऐतिहासिक सम्बन्ध ब्युँत्याउन चाहेको सन्देश दिएका थिए। 

यतिबेला चीनले कांग्रेससँगको सम्बन्धलाई गहिर्याउन चाहनुका पछाडि केही कारण छन््। पहिलो, नेपालको आन्तरिक राजनीतिसँग जोडिएको छ भने दोश्रो बाह्य कारण पनि छ। विगतमा चीनले वामपन्थी शक्तिलाई महत्व दिएको विश्लेषण नेपालमा भएको थियो। कांग्रेसले पनि चीनसँगको सम्बन्धलाई खासै महत्व नदिएको भन्ने गरिन्थ्यो। 

खासगरी एमाले र माओवादी मिलेर २०७५ मा बनेको नेपाल कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध गहन पारेको र कांग्रेसलाई महत्व नदिएको भन्ने गरियो। यद्यपि, सीपीसीले त्यसबेला पनि कांग्रेसको शीर्ष तहमा छलफल र अन्तर्क्रिया भने गरिरहेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीसँग कांग्रेस नेता तथा हालका परराष्ट्रमन्त्री खड्का सम्पर्कमा थिए। 

कांग्रेसका तर्फबाट नेता खड्काले नै गत महिना चिनियाँ नेता लिउको सम्मानमा रात्रिभोज समेत दिएर सीपीसीसँगको सम्बन्धलाई महत्व दिएको जनाउ दिएका थिए। 

अबका दिनमा कांग्रेस तथा दुई वामपन्थी दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको देखिन्छ। उनीहरुबीच चुनावमा तालमेल गरेर जाने सहमति भइसकेको अवस्थालाई पनि चीनले नजिकबाट नियालिरहेको चीन मामिला विज्ञहरु बताउँछन्। गत महिना यहाँ आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले नेपालका वामपन्थी शक्तिहरु एमाले र माओवादी केन्द्र मिलेर जाऊन् भन्ने अन्तर्निहीत चाहना व्यक्त गरे पनि उनले चीनले त्यसमा हस्तक्षेप नगर्ने बताएका थिए। 

वाम गठबन्धनको सम्भावना तत्कालका लागि टरेको अवस्थामा चीनले कांग्रेस नेतृत्वको अहिलेको गठबन्धनसँगको सम्बन्धलाई प्राथमिकता दिएको देखिन्छ। 

अर्कोतिर, नेपालमा बढ्दो अमेरिकी प्रभावप्रति उत्तरी छिमेकी चीन सशंकित देखिन्छ। एमसीसी अनुमोदनसँगै कांग्रेस नेतृत्वको गठबन्धन सरकार अमेरिकातिर ढल्किएको विश्लेषण चिनियाँ सरकारी सञ्चारमाध्यम तथा चिनियाँ विज्ञले राख्दै आएका छन्। नेपालमा अमेरिका हावी हुँदा चिनियाँ स्वार्थमा आँच आउने उनीहरुको विश्लेषण छ। त्यसकारण अहिलेको सत्ता गठबन्धनसँग बढीभन्दा बढी अन्तर्क्रिया बढाउने चिनियाँ रणनीति रहेको बताइन्छ। 

त्यसअन्र्तगत सीपीसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणमा निमन्त्रणा गरिसकेको छ। प्रचण्डले आफू चाँडै चीन जाने बताइसकेका छन्। माओवादी स्रोतका अनुसार प्रचण्ड भदौभित्र चीन भ्रमणमा जाने तयारी छ। तर भ्रमणको मिति यकिन हुन बाँकी छ। 

यसरी चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्ट पार्टी र कांग्रेससँग समानान्तर सम्बन्ध राख्न चाहेको देखिन्छ। उक्त नीति चिनियाँ कम्युनिस्ट पार्टीका निवर्तमान विदेश विभाग प्रमुख सोङ तावले अघि बढाएका थिए। त्यसअनुसार उनी नेपालका पार्टीसँग निरन्तर सम्पर्कमा थिए। यद्यपि, उनको बढी सम्पर्क वामपन्थी शक्तिसँग नै हुने गरेको थियो। सोङको स्थानमा तीन महिनाअघि मात्रै नियुक्त लिउको पहिलो विदेश भ्रमण नै नेपालबाट सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .