ad ad

राजनीति


नेपाली चियामा अतिरिक्त कर नलगाउन भारतीय राजदूतसँग मन्त्री बडूको आग्रह

नेपाली चियामा अतिरिक्त कर नलगाउन भारतीय राजदूतसँग मन्त्री बडूको आग्रह

नेपालखबर
भदौ ७, २०७९ मंगलबार २१:१०, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

भेटवार्तामा मन्त्री बडूले पारवहन तथा व्यापारका क्षेत्रमा भारत नेपालको महत्वपूर्ण साझेदार रहेकोले नेपालमा भारतीय लगानी विस्तारमा राजदूतले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे। 

उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए।

सो क्रममा मन्त्री बडूले दुवै देशबीच सहमति भै हस्ताक्षरको चरणमा रहेको पारवहन सन्धिमा हस्ताक्षर गर्ने कार्यलाई सिघ्रता साथ सम्पन्न गर्न, कञ्चनपुरको दोधारा—चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालनमा तीब्रता दिन तथा एकीकृत जाँच चौकी निर्माण, भारत सरकारबाट निर्माण गरिने भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदीमाथिको पुल निर्माण कार्य छिटो सुरु गर्न र नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको दार्चुलाकै दुम्लिङ्ग राप्तास्थित महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणमा आवश्यक सहमति प्रदान गर्नसमेत राजदूतलाई आग्रह गरे।

त्यसैगरी उनले भारतबाट गहुँ तथा चिनी आपूर्तिमा सहजता प्रदान गर्न र भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर लगाउने विषय सञ्चारमाध्यममा आइरहेकोबारे ध्यानाकर्षण गराउनुका साथै भारत सरकारले नेपाली चिया निर्यातमा असर पर्ने निर्णय गर्ने छैन भन्ने विश्वास व्यक्त गर्दै यस विषयमा सहजीकरणका लागि अनुरोध गरे। 

साथै आगामी सेप्टेम्बरमा हुने नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठकलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने विचार व्यक्त गरे।

राजदूत श्रीवास्तवले मन्त्री बडूले उठाएका विषय भारत र नेपाल दुवै देशका साझा हितका विषय भएकाले भारत सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूले गम्भीरतापूर्वक सहजीकरण गर्ने बताए।

उनले नेपाली चियामा थप शुल्क र कर लगाउने विषय संसदीय समितिमा छलफलमै रहेकोले यसमा पनि आफूले नेपालको चिन्ता र चासोका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजदूत श्रीवास्तवले पेट्रोलियम तथा एलजी ग्याँसको पाइपलाइन विस्तार, आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .