बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन उर्फ बालेन्द्र शाह डोजरसहितको टोली लिएर नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको ‘अल्फाबिटा कम्प्लेक्स’ पुगे र अवैध रूपमा बनाइएका संरचना भत्काउन लगाए।
त्यस क्रममा मेयर शाह र अल्फाबिटाका निर्देशक द्विराज शर्माबीच चर्काचर्की पर्यो। शर्माले मेयर शाहलाई तपाईं डन हो भनेर आक्रोश पोखे।
यसैबीच अहिले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तिनै द्विराज शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँगै रहेको तस्बिर सार्वजनिक गरिएको छ। र, अल्फाबिटाका निर्देशक शर्मा एमालेसँग निकट रहेको देखाउन खोजिएको छ।
यसमा ओलीको सचिवालयले भने आपत्ति जनाएको छ।
द्विराज शर्माको परिवार र केपी शर्मा ओली सँगै रहेको तस्बिरसहित प्रकाशित समाचार सेयर गर्दै अध्यक्ष ओालीका प्रेस विज्ञ रामशरण बजगाइँले विरोध गरेका हुन्।
‘यहाँ एमाले अध्यक्षको तस्बिर किन जोडेको हो? त्यो अल्फाबिटामा कार्यक्रम सञ्चालन गर्न जाँदा उनको परिवारसँग खिचेको तस्बिर राखेर दुरुपयोग गर्न पाइन्छ’, बजगाईंले सामाजिक सञ्जालमार्फत त्यो समाचार लेख्ने पत्रकारप्रति आक्रोश पोखेका छन्, ‘आफू लागेको पार्टी बलियो बनाउनुपरे जुलुसमा जानु, यसरी पेसालाई बदनाम नगर्नु, मेरो सुझाव।’

उनले एमाले अध्यक्ष ओलीको तस्बिर राखेको विषयमा आधिकारिक रूपमा जिज्ञासा राख्दा पनि सम्बन्धित पक्षले जवाफ नदिएको गुनासो गरेका छन्।
‘दुईपटक फोन गरेँ, रिसिभ हुँदैन’, उनले भनेका छन्।

Shares

प्रतिक्रिया