ad ad

राजनीति


चोलेन्द्रले सुन्न नचाहेको त्यो प्रश्न

चोलेन्द्रले सुन्न नचाहेको त्यो प्रश्न

उजिर कार्की
भदौ २८, २०७९ मंगलबार २१:२४, काठमाडौँ

महाअभियोग सिफारिस समिति समक्ष निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चार दिन बयान दिइसके। उनलाई सोध्न तयार पारेका ४३ प्रश्न सकिइसके तर अझै समितिमा भएका सांसदका प्रश्न सकिएका छैनन्। तिनको पनि जबराले जवाफ दिनैपर्छ। 

यसका लागि फेरि उनलाई बयानमा बोलाउने समितिको तयारी छ। बुधबार बिहान ९ बजे समितिको अर्को बैठक बोलाइएको छ। बैठकबाट अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुने छ र पुरक प्रश्नका लागि चोलेन्द्रलाई कहिले बोलाउने भन्ने दिन तय गर्ने समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले बताए। 

आफूमाथि लागेका कुनै पनि आरोप चोलेन्द्रले स्वीकारेनन्। बरु अरुअरुमाथि पनि आरोप लगाइदिए। पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानमन्त्रीहरुसम्मलाई उनले बयानमा मुछिदिएका छन्। आरोप लगाइदिएका छन्। 

विभिन्न दलका नेता, वकिल, पत्रकार, सहकर्मी न्यायाधीशसम्मलाई उनले छोडेका छैनन्। आरोपमा जोडेका छन्। 

४३ प्रश्नको अन्तिम दिन एउटा प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्। त्यो प्रश्न नै नसोधिदिएको भए हुन्थ्यो भने। प्रश्न गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयसँग सम्बन्धित थियो। सभापति विष्टले राजनीतिक दलहरुका मुद्दासँग मन्त्री पद सौदाबाजी गरिएको विषयसँग सम्बन्धित प्रश्न सोधे। 

प्रधानन्यायाधीशका नातेदार समेत रहेका गजेन्द्र हमालसँग सम्बन्धित विषयको प्रश्न थियो। हमाललाई मन्त्री नियुक्त गरिसकेपछि र प्रधानन्यायाधीशसँग जोडेर विरोध भयो। त्यसपछि हमालले राजीनामा दिएका थिए। 

जवाफको सुरुमै चोलेन्द्रले भने, ‘यो प्रश्नलाई सम्मानित समितिबाट समावेश नगराइदिएको भए राम्रो हुन्थ्यो। मलाई महाअभियोग लगाउँदा २१ वटा बुँदामा जुन आरोप लगाइयो, यो थिएन।’

तर उनले यो प्रश्न सोधी नै सकेपछि जवाफ दिनु पर्ने भन्दै जवाफ त दिए केही कुरा भने खोल्न चाहेनन्। 

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग मागेको विषय पहिले पनि उठेको थियो। जुन व्यक्ति मन्त्री हुँदैछन् भनिएको थियो तिनै व्यक्ति गजेन्द्र हमाल मन्त्री भए। त्यसअघि नै चोलेन्द्रले गलत हो भन्दै खण्डन गरिसकेका थिए। अन्य फोरममा पनि उनले खण्डन गरे त्यतिबेला। 

प्रधानन्यायाधीशसँग जोडेर आएको नाम यदि मन्त्री बनाउने हो भने नबनाइयोस् भने पनि। यी विषय कोट्याउँदै उनले जवाफ दिए, ‘धेरै यसमा म जान्नँ। यो क्रियामा यो प्रश्न नआइदिएको भए हुन्थ्यो। यो प्रश्नलाई महाअभियोगमा नजोडिदिएको भए हुन्थ्यो। अब यसमा धेरै कुरा खोल्दा पनि राम्रो हुँदैन। यो अचम्मको छ।’

सरकार गठनकै बेला गठबन्धनका शीर्ष तहकै नेतालाई पनि आफूसँग जोडिएका व्यक्तिलाई मन्त्री नबनाउन आफूले अनुरोध गरेको राणाले बताए। 

मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएकाले प्रधानमन्त्रीले कसैको दबाबमा, कसैको प्रभावमा, कसैको अनुरोधमा मन्त्रिपरिषद् गठन गर्नुहुन्छ भन्ने कुरा कल्पना गर्न नहुने बताए। यस्तो आरोप प्रधानन्यायाधीशलाई लगाउन नमिल्ने उनको जवाफ थियो। 

प्रधानमन्त्रीले पनि पटकपटक प्रधानन्यायाधीशका कारण नभई आफ्नै क्रियाशील सदस्य भएको र सहयोग गरेका कारण मन्त्री बनाएको भनेको पनि उनले समितिमा सुनाए। 

अन्य राजनीतिक दलहरुले पनि कांग्रेसकै मान्छेलाई मन्त्री बनाइएको बताइसकेको उनले सुनाए। 

‘यसरी प्रधानन्यायाधीशजस्तो सम्माननीय पदमा बसेको व्यक्तिबाट प्रधानमन्त्रीलाई सिफारिस गर्ने, दबाब दिने र प्रधानमन्त्रीले बनाइदिने भन्ने हुनै सक्दैन। यस्ता असत्य कुराहरुको पछाडि हामी लाग्नु हुन्न। यसमा सत्यता छैन। यो मलाई लगाइएको गलत आरोप हो। यसलाई पुष्टि गर्ने कुनै पनि आधार कारण छैन। कुनै यसमा सत्यता छैन। प्रधानन्यायाधीशले राजनीतिक दलसँग सौदाबाजी गर्ने के को लागि? यो सौदाबाजी यो यो विषयमा गरियो भन्ने भएको भए पनि हुन्थ्यो। कसरी के ले पुष्टि हुन्छ?’ जबराले भने, ‘यो झुटो हो, असत्य आरोप हो। यस कारण मलाई महाभियोग लगाउनु पर्ने अवस्था होइन।’

४३ वटै प्रश्न ‘वाहियात’
समितिले बयानमा सोधेका कुनै पनि प्रश्न चोलेन्द्रले रुचाएनन्। सुरुमा दुई दिन त समितिका सांसद र उनको बीचमा चर्काचर्की नै पर्यो। चोलेन्द्रले सांसदहरुले कानुनै नबुझेको भन्दै कानुन पढ्न नै भने। 

चर्काचर्कीमै दोश्रो दिनको बैठक सकियो। त्यसपछि बयानको शैली बदलियो। तेश्रो  दिनदेखि सभापति लिखित प्रश्न पढेर सुनाउने र चोलेन्द्रले जवाफ दिने। बाँकी १० सांसद सुनेर मात्रै बस्ने भयो। दुई दिन यसरी बयान लिएसँगै चार दिनमा ४३ प्रश्न सकिएका थिए। 

तर चोलेन्द्रले हरेक प्रश्नको जवाफ दिँदा कि सुरुमा, कि अन्तमा प्रश्न नै वाहियात भनिदिन्थे। आफूलाई निर्दोष प्रमाणित गर्नेमा भन्दा पनि उनको जवाफ प्रश्नकर्तालाई प्रश्न गर्नमा केन्द्रित हुन्थ्यो। 

प्रश्नको सुरुवात जहाँबाट भएको छ, ती व्यक्तिलाई पनि उनी मुछिदिन्थे। सहकर्मी न्यायाधीशहरुमाथि उनको आक्रोश छताछुल्ल भएको थियो। खासगरी प्रधानन्यायाधीशको लाइनमा रहेका न्यायाधीशहरु उनको निसानामा परे। उनको निलम्बनसँगै सर्वोच्चको नेतृत्व गरेका कामु प्रधानन्यायाधीश दीपक कार्की र अबको प्रधानन्यायाधीशको रोलक्रममा रहेका हरिकृष्ण कार्कीको नाम पटक पटक उनले बयानका क्रममा लिए। 

सत्ता गठबन्धनका स्वार्थहरु कहाँकहाँ थिए भन्ने पनि खोलिदिए। तर प्रतिपक्षी एमालेप्रति भने उनी आभारी देखिए। केही नेताको त खुलेर प्रशंसा नै गरे। बयानकै क्रममा ओलीलाई पटकपटक धन्यवाद दिए। दूरदर्शी नेता पनि भनिदिए। सर्वोच्चको भवन अनियमितताको विषयमा पनि ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति आभार व्यक्त गरे। 

तर तिनै चोलेन्द्रले सर्वोच्चका केही न्यायाधीशको भने व्यक्तिगत चरित्रमा पनि प्रश्न उठाए। वरिष्ठ अधिवक्ताहरुलाई पनि उनले छाडेनन्। प्रश्नमाभन्दा पनि कसले कुन स्वार्थले महाअभियोग लगायो भन्नेमा उनको जवाफ केन्द्रित हुन्थ्यो। समग्रमा उनले बयानमा आफूमाथिका आरोप त अस्वीकार गरे नै सबै प्रश्नलाई वाहियात भनिदिए। 

२ गते बिदा हुने तयारीमा रहेका सांसदले समय व्यवस्थापन गर्न सकेमा फेरि उनलाई बोलाएर पुरक प्रश्न सोध्ने तयारी छ। त्यसपछि भने चोलेन्द्र र महाअभियोग प्रस्ताव त अलपत्र पर्छ नै, संसदको आफ्नै पनि कार्यकाल सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .