ad ad

राजनीति


राष्ट्रपतिसँग चिनियाँ नेताको भेटवार्ता, द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड

विश्व परिवेश चुनौतिपूर्ण बन्दै गएको ली को भनाई
राष्ट्रपतिसँग चिनियाँ नेताको भेटवार्ता, द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड

नेपालखबर
भदौ २९, २०७९ बुधबार १९:३२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीच हालैका वर्षमा भएका सम्झौता र सहमति कार्यान्वन हुनुपर्ने बताएकी छन्। 

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण लगायत अन्य अवसरमा भएका द्विपक्षीय सम्झौताको कार्यान्वयनका लागि दुवै देशले मिलेर काम गर्नुपर्ने बताइन्। 

भेटवार्तामा सहभागी राष्ट्रपतिका प्रेसविज्ञ टिका प्रसाद ढकालका अनुसार राष्ट्रपतिले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक मित्रताको चर्चा गरेकी थिइन्। 

‘नेपाल र चीनबीच पछिल्लो समयमा विकास, पारस्परिक हित र व्यापार अभिवृद्धिका लागि भएका सबै सम्झौता कार्यान्वयन हुनुपर्छ। यसका लागि दुवै देशले मिलेर काम गर्नुपर्छ’ राष्ट्रपतिको भनाई उदृत गर्दै ढकालले नेपालखबरसँग भने। 

त्यस अवसरमा चिनियाँ नेता ली ले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्कभित्र रही दुई देशका शीर्ष तहमा भएका सहमतिअनुसार आगामी दिनमा नेपालसँगको सहकार्य अघि बढाउन चीनले चाहेको बताएका थिए। उनले राष्ट्रपति सिको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए। 

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सिको तीन वर्षअघिको नेपाल भ्रमणमा भएका सम्झौता चीन र नेपालको मित्रता बढाउनका अलावा नेपालको विकासका लागि महत्वपूर्ण रहेको बताएको ढकालले जानकारी दिए। 

त्यसक्रममा राष्ट्रपतिले नेपाल विश्वशान्तिको पक्षमा रहेको र असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका थिइन्। उनले एक चीनप्रति प्रतिबद्धता जनाउँदै नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिइने समेत बताइन्। 

राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। 

‘भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो’ राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ। 

चिनियाँ नेता ली ले राष्ट्रपति भण्डारीको समेत प्रशंशा गरे। 

‘नेपालका राष्ट्रपति मुलुकको विकास र समृद्धिमा समर्पित हुनुहुन्छ। साथै नेपालले महिलाको सहभागिता र प्रतिनिधित्वका सवालमा हासिल गरेको प्रगति विश्वले अनुकरण गर्न लायक छ। चीनले पनि यसबाट सिकेर महिलाको विकासका लागि अझ धेरै काम गर्नसक्छ’ उनले राष्ट्रपतिलाई भने। 

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली ले अमेरिकासँग चीनको बढ्दो द्वन्द्वतर्फ स्पष्ट संकेत गर्दै विश्व परिवेश चुनौतिपूर्ण बन्दै गएको समेत बताएका थिए। नेपालले ताइवान, हङकङ, सिन्चियाङ् र तिब्बत लगायत चीनका भौगोलिक अखण्डता जोडिएका मामिलामा चीनका पक्षमा दिँदै आएको समर्थनको सराहना गरे। 

भेटवार्ताकै क्रममा चिनियाँ नेता ली ले नेपाल र चीनका मुख्य सिमानाका तातोपानी र रसुवागढी दशैँअघि सञ्चालनमा आउने बताएका थिए।  

‘म यहाँ आउनु ठीकअघि हाम्रा एक उपप्रधानमन्त्री र नेपालसँग सीमा जोडिएका क्षेत्रको व्यापार हेर्ने प्रतिनिधिसँग कुरा गरेको थिएँ। उनीहरुले सीमा नाका चाँडै सञ्चालन हुने सुनिश्चितता गरेका छन्। म यही कुरा जानकारी गराउन चाहन्छु। यसबारेमा अब हाम्रा राजदूतले नेपाल सरकारलाई जानकारी गराउनेछिन्’ उनले भेटमा भने। 

राष्ट्रपति भवन शीलतनिवासमा एकघण्टा भएको भेटमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी सहभागी थिए। चिनियाँ जनकंग्रेसका अध्यक्ष सोमबारदेखि पाँचदिने नेपाल यात्रामा छन्।

नेपाल बसाइमा उनले हिजो प्रधानमन्त्री शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली, सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग बेग्लाबेग्लै भेटेका थिए। परराष्ट्रमन्त्री नारायण खड्काले पनि चिनियाँ नेता ली लाई बेग्लै भेटवार्ता गरी एक चीन नीतिका पक्षमा नेपालको समर्थन दोहोर्याएका थिए। 

लि नेतृत्वको चिनियाँ टोली बुधबार बिहान भक्तपुर दरबार स्क्वायरको भ्रमणमा पुगेको थियो।  प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल आएका चिनियाँ प्रभावशाली नेता ली को टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयका गरी ६७ सदस्य छन्।

चिनियाँ संसदका प्रमुखको यो नै पहिलो नेपाल यात्रा हो। राष्ट्रपति सि पछि नेपाल भ्रमणमा आउने लि नै वरिष्ठतम् चिनियाँ नेता हुन्। उनी बिहीबार बिहान बेइजिङ् हुँदै दक्षिण कोरिया भ्रमणमा जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .