राजनीति


एसएसबीका प्रमुख मंगलबार नेपाल आउँदै

एसएसबीका प्रमुख मंगलबार नेपाल आउँदै

एसएसबी प्रमुख थाओसेन


नेपालखबर
असोज ९, २०७९ आइतबार २०:३३, काठमाडौँ

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार (असोज ११ गते) नेपाल आउने भएका छन्। 

गृह मन्त्रालय स्रोतका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन आउन लागेका हुन्। 

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्। बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने मन्त्रालय स्रोतले बतायो। 
बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ। बैठक असोज ५ देखि ७ गतेसम्मका लागि निर्धारित गरिएको भएपनि अन्तिम अवस्थामा भारतीय पक्षले बैठक ११ देखि १३ गतेसम्मका लागि सार्न आग्रह गरेको थियो। सोहीअनुसार बैठक हुन लागेको हो। 

उक्त बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने भएको छ।

नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो। यसअघि सन् २०२१ को अगस्टमा भारतको नयाँ दिल्लीमा पाँचौँ बैठक आयोजना भएको थियो। उक्त बैठकमा भाग लिन तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल भारत गएका थिए। 
बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको प्रगति समीक्षा र भावी कार्ययोजनाबारे छलफल  हुनेछ। 

नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो। सन् २०१२ यता देशमा त्यसखालको बैठक आलोपालो आयोजना गरिँदै आएको छ। 

सशस्त्र प्रहरी बलले सीमाको सुरक्षाको जिम्मा पाएको छ। नेपाल–भारत तथा नेपाल–चीन सीमामा सशस्त्र प्रहरी बलका जवान खटिने गरेका छन्। भारतका तर्फबाट एसएसबीका जवान नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिने गरेका छन्। नेपाल र भारतबीच १८१८ किलोमिटर लामो खुला सीमा छ।

खुला सीमाको फाइदा उठाउँदै बेलाबखत अन्तरदेशीय अपराध, साना तथा मझौला हतियारको कारोबार, तेश्रो देशका नागरिकको अवैध प्रवेश, मानवतस्करी, चोरीपैठारी, जाली नोट ओसारपसार, अवैध वस्तुको व्यापार र लागुऔषध ओसारपसारसँग सम्बन्धित घटना हुने गरेका छन्। 

विगतमा भारतीय एसएसबीले नेपाली नागरिकलाई सीमामा दुर्व्यवहार गरेको घटना विगतमा सार्वजनिक भएका थिए। नेपालले त्यस विषयमा भारतको उच्च तहदेखि एसएसबीका अधिकारीसँगका बैठकमा पनि ध्यानाकर्षण गराएको थियो। केही वर्षयता त्यसखाले घटनामा उल्लेख्य मात्रामा कमी आएको जानकार अधिकारीहरु बताउँछन्। 

पछिल्लोपटक २०७८ असारमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा महाकाली नदी तर्दै गरेका नेपालका जयसिंह धामीको मृत्यु भएको थियो। उक्त विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर अनुसन्धान गर्न माग गरे पनि भारतले त्यसलाई कुनै चासो दिएन। देउवा नेतृत्वको सरकारले उक्त विषय भारतीय पक्षसँग दह्रोसँग राख्न नसकेको भन्दै आलोचना पनि भयो। 

सन् २०१८ मा नयाँ दिल्लीमा भएको दुई देशका सीमा प्रहरी बलको बैठकमा सीमामा खटिने प्रहरी जवानलाई तालिम दिने र उनीहरुलाई जनतामैत्री बनाउने सहमति भएको थियो। भारतीय प्रहरी जवानबाट सीमा वारपार गर्ने नेपाली नागरिकमाथि दुर्व्यवहारका घटना रोक्न उक्त सहमति भएको थियो। 

नेपाल र भारतका सशस्त्र प्रहरीबीच सीमा क्षेत्र वरपर हुने अवान्छित गतिविधि रोक्न विभिन्न सहमति पनि भएका छन्। सन् २०१७ मा नेपालको सशस्त्र र भारतीय एसएसबीबीच सीमामा संयुक्त गस्ती बढाउने सहमति भएको थियो। त्यसैगरी नेपाल र भारतका बोर्डर आउटपोस्ट (बोओपी) मा खटिने प्रहरी जवानदेखि सशस्त्र बलका नेतृत्वका तहमा पनि सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो। 

नेपाल आउन लागेका एसएसबीका प्रमुख थाओसेनलाई गत जुनमा भारत सरकारले उक्त पदमा नियुक्त गरेको थियो। इन्डियन पुलिस सर्भिसका वरिष्ठ अधिकृत थाओसेन २१ औँ एसएसबी प्रमुख हुन्। उनी सन् १९८८ मा सेवामा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .