ad ad

राजनीति


प्रचण्डसँग भेटेका बर्दिबासका मेयर माओवादीमा प्रवेश गर्न लागेका हुन्?

प्रचण्डसँग भेटेका बर्दिबासका मेयर माओवादीमा प्रवेश गर्न लागेका हुन्?

बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री


जनार्दन पोखरेल
असोज ९, २०७९ आइतबार २१:९, बर्दिबास

महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रबाट प्रस्ताव आएको बताएका छन्। 

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका क्षेत्रीले माओवादी प्रवेश गर्न लागेको भनेर आएका खबर सत्य नभएको बताए। 

मेयर क्षेत्री माओवादीमा प्रवेश गर्न लागेको र अध्यक्ष प्रचण्डले उनलाई आफ्नो पार्टीमा स्वागत गर्ने तयारी गरेको भन्ने खबरहरू भ्रामक रहेको भन्दै उनले खण्डन गरे।

‘माओवादीका कतिपय साथीहरुबाट त्यो खालको प्रस्ताव आएको साँचो हो। यस विषयमा सामान्य छलफल पनि भएको हो। तर, अहिले नै माओवादी प्रवेश गर्न लाग्यो भन्ने कुरा सत्य होइन,’ मेयर क्षेत्रीले नेपालखबरसँग भने, ‘भेटघाटमा साथीहरुले प्रस्ताव त गर्न सक्छन् नि। त्यसलाई नै आधार मानेर प्रवेश गर्न लाग्यो भन्न मिल्दैन।’

गएको स्थानीय तह निर्वाचनमा क्षेत्री स्वतन्त्र रुपमा बर्दिबासको मेयरमा विजयी भएका हुन्। उनले माओवादीका उम्मेदवार राजु खड्कालाई फराकिलो मतान्तरले पराजित गरेका थिए। क्षेत्री १४ हजार २१० मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी खड्काले ८ हजार २३२ मत मात्रै पाएका थिए। 

उपप्रमुखमा पनि स्वतन्त्र प्यानलकै तारादेवी महतो विजयी भएकी थिइन्। महतोले ९ हजार ७३६ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी कृष्णमाया गौतमले ८ हजार १८५ मत पाएकी थिइन्।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका क्षेत्रीलाई माओवादीका बिदुर कार्कीले पराजित गरेका थिए। क्षेत्रीलाई यसपटक कांग्रेसले टिकट नपादिएपछि उनी स्वतन्त्र प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए। 

१४ वडा रहेको बर्दिबासका चारवटा वडामा उनकै समूहका स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। यसले बर्दिबासमा उनको समूह शक्तिशाली छ भन्ने देखाउँछ।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले क्षेत्रीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यो कारबाही अझै फिर्ता भएको छैन। 

‘ममाथि भएको कारबाही फिर्ता गर्न हामीले कांग्रेस नेतृत्वसँग माग गरेका छौँ,’ मेयर क्षेत्रीले भने, ‘पार्टीले सम्मानसहित हामीमाथिको कारबाही फिर्ता गर्नुपर्छ। त्यो भएन भने संघ र प्रदेशको निर्वाचनमा पनि हाम्रो समूहबाट उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छौँ।’

यस विषयमा केही दिनअघि आफ्नो समूहमा छलफल भएको र दुई चार दिनपछि पुनः छलफल गरेर निर्णयमा पुगिने उनले बताए। 

‘आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा मैले व्यक्तिगत निर्णय गर्ने होइन। हाम्रो टिम बसेर निर्णय गर्छ,’ यही असोज १२ र १३ गते बस्ने हाम्रो बैठकमा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने कि अन्य दलका उम्मेदवारलाई सहयोग गर्ने भन्ने टुंगो लाग्छ।’

तर, माओवादी केन्द्र महोत्तरीका एक नेताले भने मेयर क्षेत्री माओवादीमा प्रवेश गर्ने विषयमा माथिल्लो नेतृत्वसँग छलफल चलिरहेको दाबी गरे। 

‘मेयर क्षेत्रीले एकदुई दिनअघि प्रचण्डलाई भेट्नु भएको कुरा आएको छ। उहाँ माओवादीमा प्रवेश गर्नुभयो भने आश्चर्य नमाने हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .