नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्युठानबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उठ्ने च्याप्टर क्लोज भएको छ।
पाँच दलीय गठबन्धनबाट प्युठानमा प्रतिनिधिसभाका लागि जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले टिकट पाउने करिब पक्का भएपछि वामदेव बर्दियातिर सोझिएका छन्।
सत्ता गठबन्धबनबीच भागबन्डाका क्रममा प्युठानबाट पौडेल र बागलुङको एउटा क्षेत्रबाट अध्यक्ष चित्रबहादुर केसी उठ्ने करिब पक्का भएकोछ।
यस्तो अवस्थामा गौतमले प्युठानबाट उठेर जित्न सहज हुने आँकलनसहित त्यसतर्फ नजर सोझ्याएका थिए।
त्यसका लागि उनले नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट उठ्ने निर्णय पनि गरेका थिए। उनी र डा. बाबुराम भट्टराईलाई आफ्नो चुनाव चिह्न दिने निर्णय माओवादी केन्द्रले पनि गरिसकेको छ।
तर, आफ्नो जन्मस्थान प्युठानमा अब वामदेव फर्किने सम्भावना सकिएकोछ। २०७० को संविधानसभा निर्वाचनमा उनी प्युठानबाट निर्वाचित भएका थिए।
तर उनी २०७० बाहेक २०४८ यताका सबै निर्वाचनमा बर्दिया १ बाट उठ्दै आएका थिए।
तर उनै गौतम ०७४ मा वाम गठबन्धनको तर्फबाट उठेर पनि कांग्रेसका सञ्जय गौतमसँग पराजित भए। २८ हजार धेरै मत भएर पनि उनले पराजय भोग्नु परेको थियो।
बर्दिया १ मा २०७४ मा पराजित भएका गौतमले अहिले त्यहीँ आफ्नो उपस्थिति देखाउन थालेका छन्। २०७४ मा एमालेभित्रकै अन्तर्घातले हार्न पुगेको तर्क गरिरहेका गौतम अहिले उक्त पार्टीमा छैनन्।
यस्तोमा उनी अहिले राष्ट्रियसभा छाडेर प्रतिनिधिसभामा फर्किने सजिलो विकल्पको खोजीमा छन्। २०७४ मा वामदेवलाई हराएका सञ्जय यो पटक पनि दोहोरिने दाउमा छन्।
कांग्रेसमा इतर समूहका गौतम पनि यो पटक वाम-लोकतान्त्रिक गठबन्धनबाट एमालेविरुद्ध जित निकाल्ने दाउमा छन्। सत्तारुढ दलमा जुनले जितेको त्यो उसैलाई छाड्ने सहमति भएकाले सञ्जय बर्दिया १ मा उठ्ने पक्का छ।
यस्तोमा वामदेवका लागि सत्ता गठबन्धनले अर्को सुरक्षित ठाउँ खोज्नुपर्ने बाध्यता छ। बर्दिया १ मा पनि आफ्ना लागि ठाउँ सुरक्षित नभएको अवस्थामा वामदेवले छोरोसहित आफूलाई सक्रिय बनाएका हुन्।
उनी आइतवार बर्दिया पुगेर सोमबारदेखि त्यहाँ राजनीतिक भेटघाटलाई तीव्र बनाएका हुन्।
२०७४ मा पराजित भएपछि गौतमले निर्वाचित सांसदलाई राजीनामा गराएर प्रतिनिधिसभामा जान चाहेका थिए। उनले त्यसबेला डोल्पा, काठमाडौं ९, बाँके ३ सहितका क्षेत्रका सांसदलाई राजीनामा गराउन चाहेका थिए। तर उनको त्यो प्रयास सफल भएको थिएन।
तर राष्ट्रपतिको कोटाबाट राष्ट्रियसभा सदस्य भएका उनी अहिले फेरि मंसिर ४ को चुनावमा प्रतिनिधिसभाको उम्मेदवार हुन खोजिरहेका छन्।
यस्तोमा उनी लामो समयपछि छोरोसहित बर्दियामा सक्रिय भएका हुन्। गौतमका एकजना सहयोगीले भने उनी आफन्तको बिहेमा सहभागी हुन बर्दिया पुगेका हुन्।
Shares
प्रतिक्रिया