ad ad

राजनीति


कांग्रेस नेताकै निष्कर्ष : एमालेलाई हराउने तागत गठबन्धनसँग छैन, देउवा नयाँ राजा बने

कांग्रेस नेताकै निष्कर्ष : एमालेलाई हराउने तागत गठबन्धनसँग छैन, देउवा नयाँ राजा बने

चियापानमा सहभागी कांग्रेस नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १३:३८, काठमाडौँ

नेपाली कांग्रेसका नेता धर्म परियारले केन्द्रमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई गाली गर्नेहरुले आफ्नै पार्टीमा समावेशी टिकट वितरण गर्न नसकेको बताएका छन्। 

काठमाडौंमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। 

उनले टिकट वितरण समानुपातिक नभइ नेताहरु नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए। 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीलाई राखेकोमा आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाए। 

उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए। 

उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको बताए।

‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ। दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ', उनले भने, 'केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, कांग्रेसको गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ। तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ। केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन। हामीले सच्चिनुपर्छ। टिकट दिँदा समानुपातिक हुनुपर्छ।'

उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना श्रीमतीलाई समानुपातिका राखेर राम्रो सन्देश नदिएको पनि बताए। 

'प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरुको त्याग, मिहिनेत होला तर यसले राम्रो सन्देश दिँदैन', उनले भने, 'राजाको विरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन्? कांग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरु कुर्सीमा बस्नुहुन्छ भने त्यसको बिरोधमा उत्रिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .