राजनीति


एमालेसँग मिलेपछि जसपाका मन्त्रीहरुको जिम्मेवारी खोसिँदै

निर्वाचन आचारसंहिताले नरोके सरकारबाटै हटाउने
एमालेसँग मिलेपछि जसपाका मन्त्रीहरुको जिम्मेवारी खोसिँदै

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १३:४९, काठमाडौँ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेसँग मिलेपछि जनता समाजवादी पार्टीका मन्त्रीहरुको जिम्मेवारी खोसिने भएको छ।

त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ।

निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउमा परिणत शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले जसपाका चारजना मन्त्री रहेका छन्। 

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन्। 

गठबन्धन तोड्दै एमालेसँग मिलेपछि जसपाका मन्त्रीहरुको जिम्मेवारी खोसेर उनीहरुलाई विनाविभागीय बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका हुन्।

मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिससकेकाले मन्त्रिपरिषद् हेरफेर र थपघट गर्न अफ्ठ्यारो भएपछि देउवाले उनीहरुलाई विनाविभागीय बनाउन लागेका हुन्। 

जसपाको मन्त्रालय खोस्ने या हटाउने विषयमा देउवाले कानुन व्यवसायी र गठबन्धन दलसँग पनि परामर्श गरेका छन्।

देउवा जसपाका मन्त्रीहरुलाई सकेसम्म हटाउने तयारीमा छन्। तर निर्वाचन आचारसंहिताले छोएको अवस्थामा जसपाका चारै मन्त्रीलाई विनाविभागीय बनाइदिने उनको तयारी छ।

देउवाका एक सहयोगीका अनुसार आचारसंहिताले नदिएमा विनाविभागीय बनाइदिएपछि मन्त्रीहरुले राजीनामा दिएर बाहिरिने विश्वास सरकारको छ। 

जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए। जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad