ad ad

राजनीति


घेराबन्दीमा मुख्यमन्त्री राउत, भ्रष्टाचार आरोपले रोक्न सक्छ प्रदेशसभाको यात्रा

एमालेसँगको तालमेलले जसपालाई उल्टै समस्या
घेराबन्दीमा मुख्यमन्त्री राउत, भ्रष्टाचार आरोपले रोक्न सक्छ प्रदेशसभाको यात्रा

जयन्त ठाकुर
कात्तिक २, २०७९ बुधबार ७:२३, जनकपुरधाम

संघीय सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहँदा मधेश सरकार भ्रष्टाचारको गम्भीर आरोप खेपिरहेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा अभियोगपत्र नै दर्ता गरायो।

जसको अहिले पनि अनुसन्धान जारी छ। साइकल वितरणमा भ्रष्टाचार भएको अभियोगपत्र दर्ता भएको केही दिन नबित्दै निर्वाचन मिति घोषणा भयो।

साइकल वितरणका साथै मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचारको आरोप लागेको समय मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १ (ख) बाट फेरि प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन्।

यिनै आरोपबीच नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनबाट उम्मेदवारी दिएका मुख्यमन्त्री राउतलाई फेरि जित हासिल गर्न चुनौती छ।

त्यही क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार हुन्-कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी। त्यस्तै कुनै बेला पर्सामा मधेश आन्दोलनको नेतृत्वकर्तामध्ये एक ओमप्रकाश सर्राफलेसमेत मुख्यमन्त्री राउतविरुद्ध उम्मेदवारी दिएका छन्।

लोसपाका नेता शशीकपुर मियाँले पनि मुख्यमन्त्री राउतको कार्यशैलीबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

राउतलाई चुनौती दिएका यी उम्मेदवारले पछिल्लो ५ वर्षमा मधेश सरकारमा भएका चरम भ्रष्टाचार नै प्रमुख एजेन्डा बनाएका छन्। आफ्ना प्रतिस्पर्धीहरूको यो घेराबन्दी तोड्न मुख्यमन्त्री राउतलाई सहज देखिँदैन।

सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस पर्साका उपसभापति कुर्मीले २०७४ को निर्वाचनमा हारेका थिए।

पर्साको १ (क) बाट २०७४ मा उम्मेदवारी दिएका कुर्मी तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनबाट उठेका जन्नत अन्सारीसँग हारेका थिए।

सत्तारुढ गठबन्धनमा यसपटक त्यस क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस नेता कुर्मी १ (ख) मा मुख्यमन्त्री राउतविरुद्ध उठेका छन्।

त्यस क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले बागी उम्मेदवारी दिएका छन् । २०७४ को चुनावमा पनि टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए।

२०७४ को निर्वाचनमा मुख्यमन्त्री राउत यसै क्षेत्रबाट ९ हजार ८ सय ४ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विजय सर्राफले ६ हजार ८ सय २९ मत ल्याउन सके।

राउतविरुद्ध भ्रष्टाचार मुख्य एजेन्डा

कांग्रेस पर्साका उपसभापति समेत रहेका कुर्मी मुख्यमन्त्री राउतको विकल्पका रुपमा मतदातामाझ आफूलाई प्रस्तुत गरिरहेका छन्।

पर्साबाट निर्वाचित मुख्यमयन्त्री बन्दा समेत यहाँ जनअपेक्षाअनुरूप काम गर्न नसकेकाले यहाँका जनता निराश भएको कुर्मीको भनाइ छ।

यसअघि जनतामाझ मुख्यमन्त्री राउतले गरेका प्रतिवद्धतामध्ये कुनै पनि पूरा गर्न नसकेकाले उनीविद्ध यहाँका जनता क्रुद्ध रहेको उनको दाबी छ।

आफू निर्वाचनमा हारे पनि जनताकै बीच रहेर काम गरेकाले आफूलाई मतदाताले विश्वास गर्ने कुर्मीको भनाइ छ। 

वीरगञ्जका सामाजिक अभियन्ता लोसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले समेत मुख्यमन्त्रीलाई त्यो क्षेत्रमा चुनौती दिएका छन्।

सर्राफ सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छन्। वीरगञ्जले मुख्यमन्त्री पाएकोमा गर्व गर्नुपर्ने भए पनि मुख्यमन्त्रीले वीरगञ्जका लागि केही गर्न नसकेकाले उनलाई विस्थापित गर्नुको विकल्प नरहेको सर्राफले बताए।

उनले २०७४ सालको निर्वाचनमा पनि मुख्यमन्त्रीविरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यतिबेला ५ सय ७१ मत मात्रै उनले ल्याएका थिए।

साइकल वितरणमा अनियमितता, मुख्यमन्त्री स्वच्छता अभियान लगायत योजना अपारदर्शिता देखिएको उनले आरोप लगाए। मधेश सरकार ५ वर्षको कार्यकाल भ्रष्टाचारकै बितेको भन्दै यसलाई नै आफ्नो ठूलो मुद्दा बनाएका छन्।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँलाई पार्टीले टिकट नदिएपछि पार्टीबाट राजीनामा दिएर मुख्यमन्त्री राउतविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्यमन्त्री राउतको भ्रष्ट प्रवृत्तिविरुद्ध नै आफूले उम्मेदवारी दर्ता गराएको मियाँको भनाइ छ। 

दलीय गठबन्धनले देशलाई निकास नदिने भएकाले जनता गठबन्धनप्रति आक्रोशित भइसकेको उनको दाबी छ।

‘यो गठबन्धन होइन, ठगबन्धन हो’, मियाँले भने, ‘नेताहरूको टाउको मिल्दैमा जनताले गठबन्धनलाई मत दिनुपर्ने बाध्यता छैन।’ 

हिजोसम्म केपी ओली हत्यारा भन्ने पार्टीले मनोनयन गर्नु २४ घण्टाअगाडि उनैसँग घाँटी जोड्नुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र पद जोगाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेको उनले बताए।

मुख्यमन्त्री जित्नेमा विश्वस्त

पर्सा १ (ख) मा आफूविरुद्ध उम्मेदवारी दिएकाहरूले भ्रष्टाचारलाई मुख्य एजेन्डा बनाए पनि राउत आफ्नो जितमा विश्वस्त रहेको दाबी गर्छन्।

आफूले ५ वर्षमा गरेको कामलाई आधार बनाएर मतदाताले आफूलाई नै मत दिने विश्वास रहेको मुख्यमन्त्री राउतको भनाइ छ। 

मधेश प्रदेश नामकरण गरेर प्रदेशवासीलाई पहिचान दिलाउनुलाई उनी मुख्य उपलब्धिका रूपमा मतदातालाई बुझाउने कोसिसमा छन्।

यसका साथै भ्रष्टाचारको आरोप लागेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान, मुख्यमन्त्री स्वच्छता अभियानका कारण प्रदेशमा कायापलट भएको दाबी गरेका छन्। ‘मेरो कामबाट जनता सन्तुष्ट छन्, मलाई नै मत दिन्छन् ढुक्क हुनूस्,’   मुख्यमन्त्री राउतले भने।

संघीयता संस्थागत गर्नकै लागि ५ वर्ष संघीय सरकारसँग लडाइँ गरेको कुरा जनतामाझ छर्लङ्ग रहेको उनले बताए।

तर वीरगञ्ज महानगरपालिकाका लागि जति गर्न सक्नुपर्थ्याे, त्यति गर्न नसकेको उनले स्वीकार गरेका छन्। ‘अब यिनै अधुरा काम पूरा गर्नु नै मेरो लक्ष्य हो’, मुख्यमन्त्री राउतले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .