बलिउड अभिनेत्री साध्वी भट्ट नेपाली कांग्रेसको चुनावी प्रचार–प्रसारमा जुटेकी छन्। बलिउड फिल्म ‘दि ड्रिम जब’ मार्फत् मुख्य भूमिकामा ‘डेब्यु’ गरेकी साध्वी कांग्रेसको चुनावी प्रचार–प्रसारमा जुटेकी हुन्।
हाल मुम्बईमा रहेकी साध्वीले कांग्रेसको पक्षमा प्रचार–प्रसार सुरु गरेकी हुन्। ‘विपन्न वर्गको उत्थान, रुख चिन्हमा अमूल्य मतदान’ उनले फेसबुकमा लेखेको पहिलो राजनीतिक स्टाटसमा उल्लेख छ।
साध्वीले २०३६ देखि निरन्तर राजनीतिक परिवर्तन, सामाजिक, आर्थिक, शैक्षिक र समग्र विकासका लागि जनताको जनजीविका र राष्ट्रको स्वाधीनताका लागि संघर्ष गरिरहेको राजनीतिकर्मीका रुपमा शिवराज भट्टलाई सञ्जालमा चित्रित गरेकी छन्।
भट्टलाई सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट बैतडी ‘ख’ मा प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ। उनीसँग नेकपा एमालेका तर्फबाट लीलाधर भट्टले प्रतिष्पर्धा गरिरहेका छन्।
साध्वी कांग्रेस उम्मेदवार भट्टकी छोरी पनि हुन्। भट्टका जेठा छोरा नेपालमै, छोरी साध्वी र कान्छा छोरा मुम्बईमा बस्दै आएका छन्। साध्वीले कात्तिक ३ गतेपछि राजनीतिक पोस्ट गरेकी छैनन्।
उनले पछिल्लो पटक आफ्ना बुवाको चुनावी प्रचारका लागि डोटेली भाषामा तयार गरिएको १ मिनेट लामो भिडिओ क्लिप सेयर गरेकी छन्। भिडियो सेयर गर्दै साध्वीले लेखेकी छन्, ‘भोट फर शिवराज भट्ट जय नेपाल।’
उनले कात्तिक ३ मै ‘जीवन भरको समर्पण, त्याग र संघर्ष, यसपालि शिवराज भट्टरलाई जिताऔँ सहर्ष’ लेखेर बुवाको चुनावी गीत शेयर गर्दै ‘पिन पोस्ट’ गरेकी छन्।
साध्वीको ‘दि ड्रिम जब’ मा जुबेर कमल खान, दुर्गेश कुमार, विकास श्रीवास्तव, खुश्बु उपाध्याय, प्रसाद शिकरेलगायतका कलाकारले अभिनय गरेका छन्।
उनी बलिउड फिल्म ‘बेसरम’ मा अभिनेता रणवीर कपुरसँग नृत्यमा देखिएकी थिइन्।
साध्वीले नेपालखबरसँगको कुराकानीमा ‘बेसरम’ फिल्ममा आफू असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेको पनि अनुभव सुनाइन्। साध्वीले आफ्नो आगामी फिल्म ‘बोरे पियाजी’ रहेको पनि बताइन्।
बैतडीको देहिमाडौंकी साध्वी मुम्बईमा अभिनेता अनुपम खेरको इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा गरेपछि बलिउड फिल्म उद्योगतिर लागेकी हुन्। पण्डित गणेशप्रसाद मिश्रबाट गायनमा दुईवर्षे प्रशिक्षण लिएकी साध्वी शास्त्रीय संगीतमा पनि दक्ष छन्।
जावेद अख्तर र ललित पण्डितको संगीतमा आधादर्जन गीत गाएकी उनले दर्जनौं म्युजिक भिडियो र सर्ट फिल्महरूमा पनि काम गरिसकेकी छन्।
उनको हिन्दी गीति एल्बम ‘पत्थर हुवा सोना’ टि–सिरिजले बजारमा ल्याएको थियो। साध्वीले अनुराग कश्यपको सहायक निर्देशक भएर समेत काम गरिसकेकी छन्।
Shares
प्रतिक्रिया