ad ad

राजनीति


बृहत् लक्ष्य: कोखदेखि शोकसम्म– विपन्न परिवारलाई मृत्यु संस्कारका लागि १० हजार

बृहत् लक्ष्य: कोखदेखि शोकसम्म– विपन्न परिवारलाई मृत्यु संस्कारका लागि १० हजार

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १२:३०, काठमाडौँ

नेपाली कांग्रेसले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु संस्कारका लागि स्थानीय सरकारमार्फत आर्थिक सहयोग गर्ने भएको छ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको पार्टीको घोषणा पत्रमा कांग्रेसले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु संस्कारका लागि परिवारलाई स्थानीय सरकारमार्फत १० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ। 

‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकारमार्फत् उपलब्ध,’ घोषणा पत्रको ५० औं पृष्ठमा राखिएको ‘बृहत् लक्ष्यः कोखदेखि शोकसम्म’ को शिर्षकअन्तर्गतको ‘मृत्यु संस्कार’ मा भनिएको छ। 

कांग्रेसले सोही शिर्षकको ‘वृद्धावस्था’ मा कांग्रेसले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थय बिमा, ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि घोषणा गरेको छ। 

यस्तै कांग्रेसले जेष्ठ नागरिक सत्संग केन्द्र स्थापना गर्ने, जेष्ठ नागरिक उपचार खर्च व्यहोर्ने र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने पनि घोषणा गरेको छ। 

‘बृहत् लक्ष्यः कोखदेखि शोकसम्म’ को शिर्षक मै कांग्रेसले ‘रोजगारी श्रम अन्तर्गत सबै युवालाई सम्मानित रोजगार, तरुण सीप वृत्ति र पूर्णकालीन शिक्षा दिने, स्वरोजगार सहुलियत कार्यक्रमअन्तर्गत एकल महिला तथा अपंगता भएका नागरिक द्वारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत सरकारका तर्फबाट योगदान दिने पनि उल्लेख गरेको छ। 

कांग्रेसले ‘सुरक्षित मातृत्व’ अन्तर्गत सुत्केरी आमा पोषिलो खानाअन्तर्गत आमा र शिशुका लागि हजार दिनसम्म पोषण कुपन र ५ हजार सुत्केरी भत्ता दिने पनि घोषणा गरेको छ। कांग्रेसले निःशुल्क संस्थागत सुत्केरी सेवा तथा सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवाको व्यवस्था समेत गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .