ad ad

राजनीति


सतारुढ नेताको छलफल : नयाँ सरकार, राष्ट्रपति र ‘पावर सेयरिङ’सम्म प्रमुख एजेन्डा

सतारुढ नेताको छलफल : नयाँ सरकार, राष्ट्रपति र ‘पावर सेयरिङ’सम्म प्रमुख एजेन्डा

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १५:३०, काठमाडौँ

मङ्सिर ४ गते सकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सकिनै लाग्दा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता तीव्र भएको छ। 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार नयाँ सरकार गठनबारे छलफल भएको छ। 

प्रधानमन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्नुपर्नेबारे छलफल गरेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए। 

बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो। 

गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए। 

निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो।   

यस्तै सोमबार नै दिउँसो प्रचण्ड र नेपालबीच पनि वार्ता भएको छ। हात्तीवनमा भएको उक्त वार्तामा निर्वाचन परिणामको समीक्षा र आगामी सरकारबारे छलफल भएको बताइएको छ।

उक्त छलफलका क्रममा दुई नेताबीच पार्टी एकताबारे पनि कुरा भएको बताइएको छ। निर्वाचन परिणामसँगै दुई दलबीच एकता गरेर जाने दिशामा पनि कुरा भइरहेको स्रोतले जनाएको छ। 

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। 

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ। अन्य दुई स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै नेकपा (एमाले) ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात स्थानमा जित हासिल गरेका छन्। 

यस्तै स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएका छन्।

बाँकी स्थानको केही समस्याका कारण मतपरिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ। उदयपुर १, सुनसरी र धनुषा ४ सहितका स्थानको परिणाम आइसकेको छैन।

अर्कातिर बाजुरा, दोलखा र स्याङ्जाम अझैसम्म मतगणना नै हुन सकेको छैन। दोलखाका १० केन्द्रमा पुन:मतदान हुँदैछ। बाजुरा र स्याङ्जाबारे आयोगले निर्णय लिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .