परराष्ट्रमन्त्री डा. नारायण खड्का इन्डोनेशिया यही साता इन्डोनेशिया भ्रमणमा जाने भएका छन्।
इन्डोनेशियाको बालीमा आगामी बिहीबार आयोजना हुन लागेको १५ औं बालि डेमोक्रेसि फोरममा सहभागी हुन मन्त्री खड्का त्यसतर्फ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काको इन्डोनेशिया भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको छ। यद्यपि भ्रमण स्वीकृत हुन बाँकी छ।
‘मन्त्रीज्यू इन्डोनेशिया जाने निश्चित भइसकेको छ। त्यसैअनुशार भ्रमण कार्यक्रम बनेको छ’ मन्त्रालयका एक अधिकारीले आइतबार नेपालखबरसँग भने।
मन्त्री खड्का मंगलबार राति इन्डोशियाका लागि प्रस्थान गर्नेछन्। उनी शनिबार स्वदेश फर्किनेछन्।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि नयाँ सरकार गठनका लागि दलहरुबीच तयारी भइरहेका बेला मन्त्री खड्का विदेश भ्रमणमा जान लागेका हुन्।
उनी गृहजिल्ला उदयपुरबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन्। चुनावपछिको कामचलाउ सरकार भएपनि मन्त्री खड्का भ्रमणमा जान लागेका हुन्।
मन्त्री खड्काको भ्रमणदलमा परराष्ट्र सहसचिव लोकबहादुर थापा र उपसचिव सिवानी बस्नेत रहनेछन्। सम्मेलनको नारा ‘डेमोक्रेसि इन अ चेन्जिङ् वर्ल्ड लिडरसिप एन्ड सोलिडारिटी’ छ। उनले सम्मेलनलाई संबोधन गर्नेछन्। गतबर्ष पनि परराष्ट्रमन्त्री खड्का उक्त फोरममा भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
के हो बाली डेमोक्रेसी फोरम?
सन् २००८ मा स्थापित बालि डेमोक्रेसि फोरमले एसिया प्यासिफिक क्षेत्रमा प्रगतिशिल खालको लोकतान्त्रिक प्रबन्ध निर्माणको लक्ष्य लिएको छ। यस क्षेत्रीय मञ्चले देशहरुबीच समानता, पारस्परिक समझदारी र सम्मानलाई प्रोत्साहित गर्दै बहुलवाद, विविधता र समावेशीताका पक्षमा वकालत गर्दै आएको छ।
एशिया प्रशान्त क्षेत्रमा लोकतन्त्रतलाई रणनीतिक एजेन्डा बनाउन मंचले काम गर्दै आएको छ। एसिया प्रशान्त क्षेत्रका देशलाई आर्थिक र राजनीतिक विकास, शान्ति र सुरक्षाको निर्माण, मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रवर्द्धनका साथै मानवीय मूल्यहरूको सम्मान गर्ने जस्ता बिषयमा सन्तुलन कायम गर्न प्रोत्साहित गर्दै आएको छ।
प्रतिक्रिया