राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर १६ गते उक्त प्रकरण छानबिनको जिम्मेवारी परिसरलाई दिएको थियो। प्रशासनको त्यही निर्देशनअनुसार परिसरले रविको नागरिकताबारे छानबिन तीव्र पारेको हो।
परिसरले निर्वाचन आयोगमा पेस गरिएको रविको नागरिकताको प्रतिलिपि लगेको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीले माग गरेअनुसार लामिछानेको नागरिकताको प्रतिलिपि दिइएको जानकारी दिए।
'निर्वाचनमा उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि प्रहरीबाट माग भएअनुसार उपलब्ध गराइएको छ', वाग्लेले नेपालखबरसँग भने, 'हामीकहाँ रेकर्डमा रहेको नागरिकताको प्रतिलिपि माग भएअनुसार दिएर पठाएका हौँ।'
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणबारे विवादमा नपर्ने गरी आयोगले निर्णय लिएको छ। उसले यसबारे आफूले कुनै निर्णय नलिइ अनुसन्धानको जिम्मा गृह र परराष्ट्र मन्त्रालयलाई दिएको छ।
गृहको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकतामा छानबिन प्रहरीमार्फत अघि बढाएको हो।
अमेरिकी पीआर नत्यागी नेपाल बसेका उनी यसअघिदेखि नै विवादमा परेका थिए। विदेशी नागरिक भएर पनि नेपालमा काम गरेको आरोपमा उनीमाथि पटक पटक छानबिन भएको थियो।
तर पछिल्लो समय उनले अमेरिकी पीआर लिएपछि पनि नेपाली नागरिकता नत्यागेको खुलेको थियो। अर्कातिर विवादमा परेपछि उनले अमेरिकी पीआर त्यागेको बताए पनि नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाएका थिएनन्।
कुनै पनि नेपालीले अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था छ। यस्तोमा उनले विदेशी पीआर त्यागिसकेपछि नयाँ नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाइ रद्द भइसकेको नागरिकता नै निर्वाचन आयोगमा पेश गरेको आरोप छ। विवादमा परेपछि उनले आफूले नयाँ नागरिकता लिए नलिएको अहिलेसम्म केही खुलाएका छैनन्।
छानबिनबाट लामिछानेको नागरिकता र राहदानी गैरकानुनी मानिए सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने अवस्था छ।
राजनीतिक दलसम्बन्धी कानुनमा पार्टी सभापति/अध्यक्षको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को नेतालाई सभापति बनाउन सक्ने भनिएको छ।
रविले विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागी राहदानीसमेत निकालेको विषयमा मंसिर ४ अघि नै निर्वाचन आयोगमा उजुरी परेको थियो।
रविविरुद्धको उजुरीमा निर्वाचन आयोग मौन बसेका प्रहरी-प्रशासनले छानबिन तीव्र पारेका हुन्। रविले यसअघि नै विवादमा परेपछि अमेरिकी पीआर त्यागेको बताएका थिए।
उक्त पीआर त्यागेपछि रविले फेरि नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने थियो।
रविविरुद्ध स्वत: खारेजीमा परिसकेको पुरानै नागरिकताका आधारमा चुनावी मैदानमा उत्रिएर जितेको आरोप थियो।
चितवन २ बाट जितेका उनले यस पटक काठमाडौंबाटै मतदान गरेका थिए।
Shares
प्रतिक्रिया