राजनीति


सुदूरपश्चिम : दोहोरिन खोज्ने हारे, ०७४ मा हार्नेहरुले सांसद बन्ने मौका पाए

प्रदेश सभामा अधिकांश नयाँ अनुहार
सुदूरपश्चिम : दोहोरिन खोज्ने हारे, ०७४ मा हार्नेहरुले सांसद बन्ने मौका पाए

गोकुल जोशी
मंसिर २३, २०७९ शुक्रबार १०:९, कञ्चनपुर

सुदूरपश्चिममा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। प्रतिनिधि सभाका १६ क्षेत्रमध्ये नेपाली कांग्रेसले ८ क्षेत्र जितेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावमा होमिएको कांग्रेसले गठबन्धनबाट भागमा परेका ९ क्षेत्रमध्ये ८ क्षेत्रमा जितेको छ।

कैलाली १ मा कांग्रेस उम्मेदवार रामजनम चौधरी पराजित भएका छन्। प्रदेश सभाका ३२ क्षेत्रमध्ये कांग्रेसले १२ क्षेत्र जितेको छ। ०७४ को सबैभन्दा ठूलो दल नेकपा एमाले यसपटक पुछारमा पुगेको छ। 

उसले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ३ सिट जितेको छ। प्रतिनिधि सभामा सबै सिट गुमाएको माओवादी केन्द्रले प्रदेश सभामा ८ सिट जितेको छ।

नागरिक उन्मुक्तिले प्रतिनिधि सभामा ३ र प्रदेश सभाका ५ क्षेत्र आफ्नो पोल्टामा पारेको छ। नेकपा एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेश सभामका ३/३ सिटमा सफलता हात पारेको छ।

यसपटकको प्रतिनिधि र प्रदेश सभा चुनावमा ०७४ मा हारेकाहरुले मौका पाएका छन्।

अधिकांश जनप्रतिनिधि ०७४ को चुनाव हारेका छन्, कोही नयाँ अनुहार पनि छन्। ०७४ मा जितेर यसपटक पनि जित दोहोर्याउनेको संख्या थोरै छन्। 

जसले ०७४ मा हारे, अहिले जिते
सुदूरपश्चिमको प्रतिनिधि सभाका १६ क्षेमध्ये ४ क्षेत्रमा ०७४ मा हारेका उम्मेदवारले जिते। कांग्रेसका रमेश लेखक, एनपी साउद, पुष्पबहादुर शाह र वीरबहादुर बलायर यसपटक सांसद बने।

प्रदेश सभातर्फ ७ नेताले हारको बदला लिएर सांसद बनेका छन्। कांग्रेसका बेलबहादुर राना (कञ्चनपुर), बहादुरसिंह थापा (कञ्चनपुर), मेघराज खड्का (अछाम) र पदमबहादुर शाही (बाजुरा) ०७४ मा हारेका नेता हुन।

माओवादीका रमेशसिंह धामी (कैलाली) र एमालेका चक्र मल्ल (डोटी) पनि ०७४ मा हारेका थिए। तत्कालीन एमालेका उम्मेदवार बनेका ताराप्रसाद जोशी (डडेल्धुरा) मा अघिल्लो चुनाव हारेका थिए। यसपटक उनी स्वतन्त्रका हैसियतले सांसद निर्वाचित भएका छन्।

०७४ मा हारेका कोही यसपटक प्रदेशतिर झरेर सांसद बनेका छन्। कांग्रेसका दिवानसिंह विष्ट (कञ्चनपुर), खगराज भट्ट (डडेल्धुरा) र विक्रम धामी (दार्चुला) प्रदेश सांसद निर्वाचित भएका छन्।

संविधान सभा सदस्य समेत रहेका विष्ट अघिल्लो पटक प्रतिनिधि सभामा हारेका थिए। माओवादीका भट्ट डडेल्धुरामा ०६४ यताका चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए। कांग्रेसका धामी अघिल्लो पटक प्रतिनिधि सभामा भिडेका थिए। तर सफल हुन सकेनन्।

दोहोरिन खोज्दा पराजित
सुदूरपश्चिममा दोहोरिन खोज्ने अधिकांश नेताहरु पराजित भएका छन्। १६ क्षेत्रमध्ये प्रतिनिधि सभातर्फ ६ क्षेत्रमा ०७४ मा जितेका उम्मेदवार पराजित भए।

प्रतिनिधि सभातर्फ नेकपा एमालेका लेखराज भट्ट, यज्ञबहादुर बोगटी, झपडबहादुर रावल, गणेश ठगुन्ना, नारदमुनि राना र गौरीशंकर चौधरी पराजित भए। उनीहरुले ०७४ मा जितेका थिए।

०७४ मा प्रतिनिधि सभामा जितेका बाजुराका लालबहादुर थापा यसपटक प्रदेश सभामा पराजित भए।

प्रदेश सभामा दोहोरिन खोज्दा पराजित भएकाहरुको संख्या बढी छ। सुदूरपश्चिमका मन्त्री र निवर्तमान सांसद गरेर ११ जना यसपटकको चुनावमा पराजित भए।

आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल कैलालीमा पराजित हुँदा सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा डडेल्धुरामा हारे।

पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का कञ्चनपुरमा हारे भने पूर्व भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरा डडेल्धुरामा पराजित भए। एमालेका लीलाधर भट्ट (बैतडी), नेपालु चौधरी (कैलाली) र बलदेव रेग्मी (बाजुरा) मा हारे।

नेकपा एकीकृत समाजवादीका अमरबहादुर साउद कैलालीमा हार्दा कैलालीकै माओवादीका नन्दबहादुर साउद पनि दोहोरिन सकेनन्।

एमालेबाट निर्वाचित रतनबहादुर थापा कैलाली २(२) मा यसपटक नागरिक उन्मुक्तिबाट उम्मेदवार थिए। उनी पनि सफल हुन सकेनन्। लोसपाका कृष्ण चौधरी पनि दोहरिन सकेनन्।

प्रदेशबाट प्रतिनिधि सभा : कोही सफल, कोही असफल
०७४ मा प्रदेशमा स्पर्धा गरेका ५ नेता यसपटक प्रतिनिधि सभामा भिडेका थिए। तीमध्ये तीन जना प्रतिनिधि सभामा प्रवेश गर्न सफल भएका छन्।

कञ्चनपुर १ बाट तारा लामा तामाङ, कैलाली ५ बाट डिल्लीराज पन्त र कैलाली २ बाट अरुणकुमार चौधरी प्रतिनिधि सभामा उक्लिएका हुन्।

एमालेका तामाङ यसअघि प्रदेश सांसदमा निर्वाचित हुँदै आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए। उनले यसपटक माओवादीकी बिना मगरलाई उछिन्दै प्रतिनिधि सभामा सिट सुरक्षित गरे।

नागरिक उन्मुक्तिका चौधरी अघिल्लो पटक कैलालीमा प्रदेश सभा चुनावमा पराजित भएका थिए। पन्तले कांग्रेसबाट प्रदेश सांसद जितेका थिए। उनले यसपटक निवर्तमान सांसद नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा संसदको यात्रा तय गरे।

प्रदेशबाट प्रतिनिधि सभामा छलाङ मार्ने योजनासहित चुनावमा होमिएका कर्णबहादुर मल्ल डडेल्धुरा र झपट बोहरा अछाम १ मा पराजित भए।

मल्ल कांग्रेसको टिकटमा ०७४ को प्रदेश सभा चुनावमा डडेल्धुरामा निर्वाचित भएका थिए। यसपटक कांग्रेस बीपीबाट प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धा गरेका उनी तेस्रो स्थानामा रोकिए।

जो दोहोरिए
सुदूरपश्चिममा ९ नेता सांसदमा दोहरिएका छन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट जित्दै आएका छन्। यसपटक पनि उनी डडेल्धुराबाट सांसदमा निर्वाचित भए।

नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी बैतडीमा दोहरिए। यस्तै, दार्चुलामा दिलेन्द्रप्रसास बडू, डोटीमा प्रेमबहादुर आले र अछाम १ मा शेरबहादुर कुँवर सांसद दोहरिए।

बडू यसअघि समानुपातिक सांसद थिए भने कुँवर राष्ट्रिय सभामा सदस्य थिए। प्रदेश सभातर्फ ४ जना सांसद मात्रै दोहरिएका छन्। 

नेकपा माओवादी केन्द्रका नेता एंवम् सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी (दार्चुला), भौतिक पूर्वाधारमन्त्री समाजवादीका दीर्घबहादुर सोडारी (कैलाली), आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश रावल (कञ्चनपुर) र अक्कलबहादुर रावल प्रदेश सांसदमा दोहरिएका हुन्।

नयाँ अनुहार
सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सांसद अधिकांश नयाँ छन्। ४ जना सांसद दोहोरिँदा ०७४ मा हारेका कतिपयले यसपटक जितेका छन्।

एमालेका वीरबहादुर थापा र सुरेन्द्र पाल पहिलो प्रयासमै प्रदेश सांसद बने।

माओवादीका ओमविक्रम भाट, शिवसिंह ओली, भीमबहादुर भण्डारी र झपडबहादुर साउदले प्रदेश सांसदमा ‘डेब्यु’ गरे।

कांग्रेसका शिवराज भट्ट, प्रकाश देउवा, प्रकाशबहादुर बम, कमलबहादुर शाह, पृथ्वीबहादुर सिंह र मानबहादुर रावल पनि पहिलो मौकामै सांसद बने।

नागरिक उन्मुक्तिका घनश्याम चौधरी, खुसीराम डगौरा थारु, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी र रामेश्वर चौधरी तथा एकीकृत समाजवादीका नरेशकुमार शाही पनि सांसद चुनिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .