राजनीति


नयाँ पार्टी खोल्दै प्रभु साह

नयाँ पार्टी खोल्दै प्रभु साह

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:४४, काठमाडौँ

मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका टिकट छोडेर स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी थालेका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ लिएर रौतहट क्षेत्र नम्बर ३ बाट विजयी भएका साहले पछिल्लो समय राजनीतिक संवाद बढाएका छन्।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटेका साहले नयाँ पार्टी खोल्न संवाद थालेका हुन्। 

आफूलाई सघाएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गरेका उनले नयाँ पार्टीको नामबारे छलफल गरिरहेका छन्। 

पार्टीको टिकट त्यागेर धोका दिएपछि साहलाई एमालेले कारबाही गरिसकेको छ। उनलाई र अर्का नेता घनश्याम भुसाललाई एमालेले निष्कासित गरेको हो।

निष्कासित भइसकेका साह एमाले फर्किने सम्भावना सकिएको छ। उता माओवादी र समाजवादीमा जानेबारे कुरा भए पनि त्यसले मूर्तरुप लिन नसकेको उनीनिकट स्रोतले जनाएको छ।

'चुनाव जितिसकेको परिस्थितिमा हामी अहिले छलफलमै छौँ। नयाँ पार्टी खोल्ने कोणबाट पनि विचार मिल्नेहरुसँग छलफल भइरहेको छ', साहले नेपालखबरसँग भने, 'यो हाम्रो एउटा विकल्प हो तर निर्णयमा पुगिसकेको होइन।'

स्रोतका अनुसार साहले प्रचण्डसँगको छलफलमा मधेशमा मुख्य भूमिका र पार्टीमा पनि पदाधिकारीको हैसियत मिल्ने अवस्थामा फर्किन सकिने बताएका थिए।

तर प्रचण्डले उनको यो कुरामा कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ। मंगलबार पनि उनी पार्टी निर्माणकै लागि विभिन्न पक्षसँग छलफलमा छन्।

'उहाँ अहिले पार्टी निर्माणको दिशामा छलफलमा हुनुहुन्छ', उनका एक सहयोगीले भने, 'तर बाहिर आए जस्तो पार्टीको नाम नै टुंगो भइसकेको होइन।'

नयाँ पार्टी खोल्नेबारे साह र सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी डा. अमरेश सिंहबीच पनि कुराकानी भएको छ।

'निर्वाचन जितिसकेपछि म छलफलमा छु। मैले केपी ओली, प्रचण्ड र अन्य नेताहरुसँग पनि संवाद गरेको छु', उनले भने, 'प्रभु साहसँग पनि कुरा भइरहेको छ। नयाँ पार्टीबारे पनि छलफल भएको हो। राजनीतिक कार्यकर्ता भएकाले सबैसँग कुरा हुन्छ। तर नयाँ पार्टी खोल्नेबारे निर्णयमा पुगिसकेको छैन।' 

सिंहलाई पनि निर्वाचनअघि नै कांग्रेसले कारवाही गरेको थियो। तर उनले स्वतन्त्र उम्मेदवारी दिएर फेरि संसद यात्रा पक्का गरेका हु्न्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad