काठमाडौंमा दुई दिनदेखि जारी नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा वरिष्ठ नेता मुकुन्द न्यौपानेमाथि कारबाहीको आवाज उठेको छ।
खासगरी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीको आलोचना गर्दै आएका न्यौपानेमाथि बैठकका क्रममा बोल्ने पोलिटब्युरो सदस्यहरुले कारबाही माग गरेका हुन्।
मंसिर ४ को चुनावका बेला पार्टी लाइनविपरीत गएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै न्यौपानेमाथि कारबाही हुनुपर्ने माग नेताहरुले गरेका हुन्।
समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहेका नेता न्यौपानेले नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आएका थिए।
माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न : ओलीसँगको विद्रोह केही थान पदका लागि थियो?
तर जारी पोलिटब्युरो बैठकमा एमालेसँग मिल्न खोजेको भन्दै न्यौपानेमाथि नै कारबाही माग उठेको हो।
'वरिष्ठ नेता न्यौपानेले पटक पटक पार्टी लाइनविपरीत गएर बोल्नु भएको थियो। उहाँको अभिव्यक्तिका कारण पार्टीलाई घाटा भएको निष्कर्ष बैठकका सहभागीको छ', एक नेताले भने, 'पार्टीको शीर्ष तहमा बसेर उहाँले एमालेलाई बल मिल्ने अभिव्यक्ति दिइरहनु भएको थियो। जसले पार्टीलाई क्षति भएको छ, त्यसैले उहाँमाथि कारबाही हुनुपर्छ।'
उनीमाथि मंसिर ४ को निर्वाचनमा खटिँदा पनि एमालेसँग मिलेको आरोप छ। 'उहाँ निर्वाचनका बेला बारा क्षेत्र नम्बर १ मा खटिनुभएको थियो। बारामा खटिँदा उहाँले पार्टीको प्रचारभन्दा एमाले कार्यकर्तासँग मिलेको प्रमाण छ', ती नेताले भने, 'उहाँ चुनावका क्रममा एमाले कार्यकर्ताको घरमा बसेको फोटोसहित प्रणाम बैठकमा पेश गरिएको छ।'
बैठकमा सहभागी नेताहरुले पार्टी आफैँमा विश्वस्त नहुँदा संगठन अघि नबढ्ने बताउका थिए। 'पहिला त आफूमा विश्वास हुनुपर्यो। पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्न डराउनु हुँदैन। पार्टीविरुद्ध लाग्नेलाई निलम्बन वा कारबाही हुनुपर्छ', ती नेताले भने, 'हामीले यो माग उठाएका छौँ। वरिष्ठ नेताले पार्टीविरोधी गतिविधि गरेको पुष्टि भए स्थायी कमिटी र सचिवालयभित्र पनि कुरा उठ्नुपर्छ। कसैले पनि आन्दोलनप्रति गद्दारी गर्नुहुँदैन।'
Shares
प्रतिक्रिया