रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ।
बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले उनीहरुको आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले बताए।
‘बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो’ ढकालले भने, ‘उहाँहरु दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो। त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ।’
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको बताए।
सत्तासाझेदार दलहरुको बैठक नबसी निर्णय गर्दा हतारो हुने र उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले पनि दुई दिन कुर्नुहोस् भनेका कारण आफूहरु तयार भएको ढकालले बताए।
ढकालले राजनीतिक दलहरुमा इमान्दारिताको अपेक्षा गरिएको पनि बताए।
यस्तै, उनले गृह मन्त्रालय दिने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि गृहमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने बताए।
प्रतिक्रिया