ad ad

राजनीति


स्ववियु निर्वाचन : न विद्यार्थीमा उत्साह, न नेतृत्वसँग आशा

महेन्द्र मोरङमा छैन पहिले जस्तो चहलपहल
स्ववियु निर्वाचन : न विद्यार्थीमा उत्साह, न नेतृत्वसँग आशा

स्ववियु निर्वाचनका क्रममा विद्यार्थीहरु। तस्बिर : नेपालखबर


ध्रुव भट्टराई
चैत २, २०७९ बिहिबार १३:२६, विराटनगर

कुनै बेला स्ववियु निर्वाचन हुँदा देशकै केन्द्रजस्तो बन्ने विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अहिले चुनावी रौनक छैन। 

आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि  विभिन्न संगठनले उम्मेदवारी दिएर भोट मागिरहेका छन्। 

महेन्द्र मोरङ क्याम्सको स्ववियु सभापतिका लागि ४ जनाले उम्मेवारी दिएका छन्।

उम्मेदवारी दिनेहरूमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, एमाले अखिलबाट नवीन पहाडी, माओवादीनिकट अखिल क्रान्तिकारीबाट रोहितकुमार यादव र समाजवादी विद्यार्थी संगठनबाट राकेशकुमार यादव छन्।

नेविसंघले सचिवमा पूजा विश्वास, कोषाध्यक्षमा स्वस्तिक बोहरा, एमाले अखिलले सचिवमा सनिम ठकुरी र कोषाध्यक्षमा आरोग्य थापा तथा अखिल क्रान्तिकारीले सचिवमा आशिका लम्साललाई उम्मेदवार बनाएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले सचिव, कोषाध्यक्ष र केही सदस्यमा उम्मेदवारी दिएको छ। सचिवमा निर्मल भण्डारी र कोषाध्यक्षमा रोहित गौतम उठेका छन्।

स्ववियु चुनावका लागि महेन्द्र मोरङ क्याम्पसमा १० वटा संगठन दर्ता भएका थिए। 

विगतमा जस्तो यो पटकको निर्वाचनमा विद्यार्थी संगठनहरुबीच तिक्तता र कटुता देखिएको छैन। झडप, कुटपिट र काटमार पनि सुनिएको छैन। अहिले विद्यार्थीहरु स्वस्थ प्रतिस्पर्धामा छन्।

‘यो पटक सुरुदेखि नै कम मिहिनेत गरिएको छैन, अहिले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन विद्यार्थी नेताहरुलाई सुरुदेखि नै माइन्युटमा हस्ताक्षर गर्न लगाएका छौँ,’ महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले भने, ‘विगतमा जस्तो यस पटक झै–झगडा हुँदैन भन्ने लागेको छ।’

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट सचिवमा उम्मेदवारी दिएकी आशिका लम्साल पनि विगतमा जस्तो यो पटक नहुने बताउँछिन्। 

‘विगतमा गुण्डागर्दी हुन्थ्यो’रे, अघिल्लो स्ववियु निर्वाचनपूर्व ठूलो झडप भएको थियो,’ उनले भनिन्, ‘अहिले हामी सबैले स्वस्थ्य र शान्तिपूर्ण रुपमा गतिविधि गरेका छौं। सबैले सहमति पालना गरेका छौं।’

महेन्द्र मोरङबाट उदायका नेता
महेन्द्र मोरङमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भयो। 

२०३८ सालमा स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गर्यो। त्यही वर्ष मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो। 

त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो। २०४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापति भए। २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भुराज राई सभापति चयन भए। 

०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए। 

४९–५१ देखि यदु विष्ट, ५१ देखि ५३ गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भयो।

जयराम सुन्दास निर्वाचित हुनुपूर्व क्याम्पसमा भएका झडप र आक्रमणको कहाली लाग्दो श्रृंखला थियो। 

२०६४ साल फागुन १० गते पोखरा क्याम्पसमा एमाले अखिलसँग क्रान्तिकारीको झडप भयो। 

त्यसैको विरोधस्वरुप नेविसंघ र अखिल मिलेर महेन्द्र मोरङ क्याम्पसमा पनि बन्द हड्ताल सुरु गरे। 

त्यसको विरोधमा अखिल क्रान्तिकारी उत्रियो। विवाद बढ्दै जाँदा झडप भयो, फागुन १३ गते क्रान्तिकारीका नेतासमेत रहेका जयराम सुन्दासलाई १३ ठाउँमा काटियो। 

त्यसबेला हालका एमाले नेता पर्शुराम बस्नेतलगायतको टोलीले सुन्दासलाई आक्रमण गरेका थिए। 

पछि उनै सुन्दासको नेतृत्वमा एमाले अखिलसमेत सहभागी भएर ०६५ साल जेठमा सम्पन्न निर्वाचनमा होमियो। सुन्दास सभापतिमा विजयी भए।

यीमध्ये विजयकुमार गच्छदार, ऋषिकेश पोखरेल, उपेन्द्र गच्छदार राष्ट्रिय राजनीतिको सधैँ केन्द्रमा रहने गर्छन्।

फेरिएको स्ववियु निर्वाचन
तत्कालीन सभापति रेग्मी हाल नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हुन्। उनी पहिले र अहिलेको स्ववियु निर्वाचनमा आकाश जमिनको फरक भएको बताउँछन्। 

‘अहिले र त्यतिखेरको स्ववियु निर्वाचनमा आकाश जमिनको फरक छ। त्यसबेलाको निर्वाचनमा दललाई प्रतिबन्ध थियो। क्याम्पसमै दलहरुको गतिविधि केन्द्रित हुन्थ्यो। राजनीतिक आन्दोलनहरुमा पनि विद्यार्थीको भूमिका सशक्त थियो,’ उनी भन्छन्, ‘राजनीतिक हिसावले मोरङ क्याम्पसको निर्वाचनलाई देशैभरीबाट चासोसाथ हेरिन्थ्यो। बहुदल आएपछि क्याम्पसलाई शैक्षिक आन्दोलनको केन्द्र बनाउनुपर्नेमा त्यसो भएन। गुण्डागर्दी संरक्षण केन्द्र जस्तो बन्यो। अहिलेको विद्यार्थी आन्दोलन भने शैक्षिक अभियान पनि र विद्यार्थीको हकको सवालमा पनि कमजोर जस्तो भएको छ। त्यसलाई सुधार गरेर लैजानु पर्छ।’

पूर्वस्ववियु सभापति समेत रहेको एमाले नेता सागर थापा पनि अहिलेको स्ववियु निर्वाचनप्रति विद्यार्थीको आकर्षण नभएको बताउँछन्।

‘पहिले महेन्द्र मोरङमा विद्यार्थीहरु स्ववियुप्रति आशावादी थिए। उनीहरुलाई स्ववियु चाहिन्छ भन्ने जस्तो थियो। तर, अहिलेका विद्यार्थीहरु यो स्ववियु चाहिनेभन्दा पनि मेरो दाइ, मेरो साथी निर्वाचनमा उठेको छ, उसलाई भोट दिएर जिताऊँ भन्ने मात्रै छ। स्ववियु स्थापित गराएर व्यक्ति स्थापित हुनुपर्नेमा अहिले स्ववियु ओझेलमा र व्यक्ति चर्चामा भएको अवस्था छ,’ उनी भन्छन्, ‘अहिले विद्याथीर्हरु आफ्ना अधिकारमा आफैं आत्मनिर्भर भएका छन्। पहिले चाहिँ स्ववियुले विद्यार्थीलाई अधिकार दिन्छ भन्ने थियो। तर, अहिले निजीक्षेत्रका क्याम्पसहरुको प्रभावका कारण पनि स्ववियुमा विद्यार्थीको क्रेज देखिँदैन। महेन्द्र मोरङ क्याम्पस पनि प्राइभेट जस्तो महँगो भएको छ। गरिबका छोराछोरीले पढ्नै नसक्ने अवस्था छ। त्यसलाई सस्तो गर्ने गरी विद्यार्थी संगठन लाग्नुपर्छ।’

पूर्व स्ववियु सभापति समेत रहेका हालका प्रदेशसभा सांसद भीम पराजुली पनि अहिले विद्यार्थी आन्दोलन नै कमजोर भएको दाबी गर्छन्। 

‘०६२–६३ सालको आन्दोलनमा सात दलको भन्दा ठूलो जुलुससहितको आन्दोलन हामीले गर्थ्यौँ। हिजो राजनीतिक अधिकारका लागि विद्यार्थी लडेका थिए। धेरै नेताहरु पनि विद्यार्थी आन्दोलनबाटै जन्मिए। तर, अहिले त्यो नेतृत्व नभए जस्तो देखिन्छ,’ पराजुली भन्छन्, ‘लामो समयसम्म स्ववियु निर्वाचन नुहँदा यो अवस्था आएको होला।’

निवर्तमान सभापति जयराम सुन्दास पनि त्यसबेलाको र अहिलेको स्ववियु निर्वाचनमा आकाश जमिनको फरक रहेको बताउँछन्। 

‘अहिले शान्त जस्तो देखिएको छ। त्यतिबेला हामी क्रान्तिकारी विद्यार्थीले क्याम्पसलाई गुण्डागर्दीमुक्त बनाउनु पर्छ भन्यौं। त्यसको बदलामा हामीमाथि आक्रमण भयो,’ सुन्दास भन्छन्, ‘अहिले लामो समय स्ववियु निर्वाचन नभएर नेतृत्वको श्रृङ्खला पनि टुट्दै गएको छ। नेतृत्व गर्नसक्ने लिडरसिप पनि कमजोर देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .