राजनीति


एआईजीमा पदस्थापन नहुँदै आईजीपी

एआईजीमा पदस्थापन नहुँदै आईजीपी

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १८:१२, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी नपाउँदै वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक भएका छन्।

चार दिन अघि एआईजीको दर्ज्यानी चिह्न लगाए पनि सरकारले एआईजीमा उनीसहित ५ जनालाई पदस्थापन गरेको थिएन।

केही दिनमै यीनै ५ मध्येबाट आईजीपी बनाउनु पर्ने भएकाले पदस्थापन रोकिएको थियो। ८ महिनादेखि रोकिएको एआईजी बढुवा सरकारले अन्तिम समयमा गरेको हो। गत असारदेखि नै एआईजीको दरबन्दी खालि थियो। 

रिक्त दरबन्दीको संख्या ५ पुगेपछि सरकारले गतसाता मात्रै एआईजी बढुवा गरेको हो। डीआईजीको वरियतालाई कायम गर्दै एआईजी बढुवा गरेको सरकारले आईजीपी पनि पहिलो नम्बरका कुँवरलाई नै बनाएको हो। 

वरियता अनुसार आईजीपी बनाएसँगै प्रहरीमा विवाद नहुने भएको छ। यसअघि धिरजप्रताप सिंहलाई आईजीपी बनाउँदाको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो।

डेढ वर्षपहिले एआईजी बनेका विश्वराज पोखरेलले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णयविरुद्ध रिट दायर गरेका थिए।

सर्वोच्चले सरकारको निर्णयलाई नै सदर गरेसँगै वरियता मिचेर आईजीपी बनाउने बाटो खुलेको थियो। तर आफैँले यसअघिका बढुवामा बनाएको वरियता सरकारले मिचेन र पहिलो नम्बरका कुँवरलाई नै आईजीपी बनाएको हो। 

कुँवर यसअघि डीआईजी हुँदा मधेस प्रदेश प्रमुख थिए। उनी एआईजीमा बढुवा भएपछि पनि जिम्मेवारी पाएनन् भने उनको बढुवासँगै रिक्त भएको मधेस प्रदेशमा पनि अर्को डीआईजी खटाइएको छैन। 

कुँवरले शनिबार औपचारिक रुपमा आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्। गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिह्न प्रदान गरेसँगै उनको कार्यकाल सुरु हुनेछ। तर उनलाई शुक्रबार नै धिरजप्रताप सिंहले जिम्मेवारी हस्तान्तरण गरेर बिदा हुनेछन्। 

एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको पदस्थापन हुन बाँकी छ।

शनिबारदेखि थप ४ एआईजी रिक्त हुने भएकाले सरकारले चाँडै बढुवा गर्नेछ। नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .