राजनीति


तनहुँ पुगेर गगनले भने : कांग्रेस चोकमा राखेको मादल जस्तो होइन

तनहुँ पुगेर गगनले भने : कांग्रेस चोकमा राखेको मादल जस्तो होइन

कांग्रेस तनहुँले सोमबार दमौलीमा गरेको सम्मान कार्यक्रममा महामन्त्री गगनकुमार थापा


नेपालखबर
चैत २०, २०७९ सोमबार १४:४६, काठमाडौँ

गगन थापा तनहुँमानेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज भट्टराई रैथाने भएकाले मतदाताले जिताउने बताएका छन्। 

दमौलीमा सोमबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले कांग्रेसबाहेक दलका उम्मेदवारलाई टुरिस्टको संज्ञा दिए। 

'यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन', उनले भने। 

उनले नेपाली कांग्रेसभित्र सबै कुरा ठीकठाक चलिरहहेको भन्ने कुरा आफूलाई पनि नलागेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  डा. स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्र खनालतिर लक्षित गर्दै उनले पेन्सन पकाएकाहरु भने। 

'मलाई त भन्न मन लाग्छ तिमीले जागिर खाएर आएको, घर बनाएको, पेन्सन पकाएर आएको हो। म त त्यो बेलामा सडकमा बसेर लडेको हो', उनले भने, 'छातीमा ढुंगा खाएर बसेको हो। जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन, तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्यौ भने तिमी किन गयौ भन्ने प्रश्न मैले पनि गर्न सक्छु।'

उनले आफूहरु नेपाली कांग्रेस बदल्ने अभियानम रहेको बताए।

'नेपाली कांग्रेसभित्र जे भइरहेको छ सब ठीक भइरहेको त छैन। कांग्रेसभित्र धेरै कुरा बदल्नु पर्नेछ', उनले भने, 'कांग्रेसलाई लात्ती हानेर बाहिर गएर खराब भनेर, ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यहीँभित्र बसेर लड्नु पर्छ। यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ। त्यो संघर्ष गर्ने हो। गोविन्द भट्टराईले पनि गर्ने हो, हामीले पनि गर्ने हो, सँगै बसेर यहाँ भित्र बसेर गर्ने हो।' 

उनले नेपाली कांग्रेसका युवाहरुलाई देशभित्रै केही गर्न खोज्दा प्रश्न गरिएको पनि उल्लेख गरे। 

'कांग्रेसका तमाम युवा साथीहरु, अरु पार्टीका युवा साथीहरु तपाईं हामीलाई एउटा प्रश्न गरिएको छ। अहिले नेपालमा बसेर, यहीँ बसेर, यहीँका विद्यालयमा पढेर, यहीँको विश्वविद्यालयमा पढेर, तपाईं हामी जस्तो यहीँभित्र केही गर्न सकिन्छ भनेर बसेका के सबै फाल्तुहरु हौँ?', उनले सोधे, 'के हामी सबै अयोग्यहरु हौँ? के सपना देख्ने अधिकार हामीसँग छैन? के हाम्रो संघर्ष बेकार हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .