राजनीति


संसदमा तेस्रो धार खडा गर्न मोर्चाबन्दी गर्दै सत्तारुढ ३ दल

संसदमा तेस्रो धार खडा गर्न मोर्चाबन्दी गर्दै सत्तारुढ ३ दल

सागर न्यौपाने
चैत २६, २०७९ आइतबार २१:३७, काठमाडौँ

संसदमा रहेका तीन दलले तेस्रो धार बनाउनेगरी मोर्चा निर्माणको तयारी गरेका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले संसदमै तेस्रो ठूलो शक्ति बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएका हुन्। 

यी तीनको मोर्चा बन्यो भने संसदमा ५४ सिट एकै ठाउँमा हुनेछन्। मोर्चाको मोडालिटी र वैचारिक राजनीतिक रोडम्याप बनाउन नेताहरु खटिरहेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता सञ्चालन गर्न सहज बनाउन, अहिलेकै १० दलीय गठबन्धनलाई ५ वर्ष  मिलेर जाने वातावरण बनाउन मोर्चा बन्न लागेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। 

वैशाख १० गतेको उपनिर्वाचनअगाडि नै मोर्चा घोषणा गर्ने प्रयास भइरहेको नेताहरु बताउँछन्। 

‘गठबन्धनभित्र रहेका मुख्य ५ वटा पार्टीमध्ये वामपन्थी धारका ३ वटा पार्टीबीच वाम मोर्चा बनाउँदै छौँ,’ अध्यक्ष नेपालले भने, ‘केही दिनमा घोषणा हुन्छ।’ 

उनले मिति खुलाउन चाहेनन्। 

अहिले सत्तामै रहेका कम्युनिस्ट विचार बोक्ने शक्तिबीच कार्यगत एकता हुन लागेको उनको भनाइ छ। माओवादीबाट उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा छलफलमा छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव आफैँ छन्। यस्तै राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ पनि छन्। एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल मोर्चा निर्माणका लागि सक्रिय छन्। 

तीनै पार्टीका शीर्ष नेताहरु अनेक चरणको छलफलपछि मोर्चा बनाउन सहमत भएसँगै दोस्रो तहका नेताहरुलाई मोडालिटी बनाउन दिइएको माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘मोर्चा निर्माणको अन्तिम गृहकार्य भइरहेको छ,’ महराले नेपालखबरसँग भने, ‘पर्सिबाट ठोस रुपमा निर्णायक छलफल हुन्छ।’

उनले वाम विचार बोक्ने र संसदमै रहेका अन्य पार्टीलाई पनि समेट्न खोजिएको बताए।

माओवादी केन्द्रकै महासचिव देव गुरुङले पनि कुरा मिले तत्काल मोर्चा घोषणा हुने बताए।

‘कम्युनिस्ट विचार र सिद्धान्त मान्नेहरुबीच मोर्चा गठन गर्न लागिएको हो,’ गुरुङले भने, ‘केही एजेन्डामा साझा धारणा बनाउने र संसदमा सहकार्य हुन्छ।’

उनले तत्काल एकताको सम्भावना नभएको बताए। 

यसकारण बन्दैछ मोर्चा
नेताहरुले मोर्चाको मोडालिटीबारे खुलाउन चाहेका छैनन्। तर, एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार कांग्रेस र एमालेलाई एकै ठाउँमा उभिने अवस्था बन्न नदिन यो प्रयास गरिएको हो।

‘गठबन्धनमै भए पनि कांग्रेसमा कुनै पनि बेला सिट संख्याको घमण्ड बढ्यो भने के गर्ने?’ ती पदाधिकारीले भने, ‘कुनै पनि विकल्पमा जान्छ। त्यसलाई रोक्न र पाँच वर्षको ग्यारेन्टी गर्न खोजिएको हो।’ 

अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। उसको ८९ सांसद छन्। दोस्रो ठूलो दल एमालेको ७८ सांसद छन्। एमालेसँगको गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्दा (१२ फागुन) माओवादी, एकीकृत समाजवादी र कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको छ।

‘माधव नेपाललाई प्रधानमन्त्री बन्न यही गठबन्धन चाहिन्छ,’ एकीकृत समाजवादीकै अर्का पदाधिकारीले भने, ‘वर्तमान प्रधानमन्त्री प्रचण्डलाई सहज सरकार सञ्चालन गर्न दिन र भावी प्रधानमन्त्रीको भूमिका दिन गठबन्धनभित्र नयाँ धार बन्दैछ। यसले चेक एन्ड ब्यालेन्स पनि गराउँछ।’ 

कुनै पनि बेला अन्य दलको साथ लिएर एमाले वा कांग्रेसले सरकार बनाउने जोखिम देखेर तीन दल कार्यगत एकता गर्ने निष्कर्षमा पुगेका हुन्।

‘हाम्रो चौवन्न जनाको शक्ति भएपछि हामीलाई निषेध गरेर कुनै दल जान सक्ने अवस्था हुँदैन,’ ती नेताले थपे।

योबाहेक एमालेलाई दबाब दिने अर्काे रणनीति हो। अरुलाई सन्तुलन राख्न, वामपन्थी एजेन्डा उठाउन र समाजवादी केन्द्र निर्माणको प्रयासका लागि मोर्चा हुँदै अघि बढ्ने प्रयासमा तीन दल जुटेका हुन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गते बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार छन्। तराई÷मधेशमा शक्ति खस्कँदै गएको उनको विश्लेषण छ। कम्तीमा पाँच वर्ष अहिलेकै गठबन्धन टिकाएर मधेशमा कमब्याक गर्ने उनको दाउ छ।

यस्तै एकीकृत समाजवादी आफनै नेताहरुलाई एमालेमा जानबाट रोक्नुपर्ने दबाबमा छ। शनिबार (२५ चैत) मात्र एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका थिए। उनले एकीकृत समाजवादीका धेरै नेता एमाले फर्कन खोजेको दाबी गरेका थिए।

केही हप्ताअघि एकीकृत समाजवादीकै केदार न्यौपाने लगायतका केही नेताहरु एमालेमै फर्केका थिए। लगातार नेताहरुले पार्टी छाड्न थालेपछि एकीकृत समाजवादी तीन दलबीच मोर्चा निर्माणमा जुटेको हो। त्यही कारण अध्यक्ष नेपाल सक्रिय छन्।

माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरुबीच एकताको प्रयास गरिरहेको छ। उसले सोमबार संक्रमणकालीन न्यायसम्बन्धी विषयमा विज्ञसहित अन्तक्र्रिया कार्यक्रम राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .