राजनीति


गृह र अर्थमन्त्रीसँग नैतिकता भए राजीनामा दिइ सक्थे : ठाकुर गैरे

गृह र अर्थमन्त्रीसँग नैतिकता भए राजीनामा दिइ सक्थे : ठाकुर गैरे

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १७:४, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुर गैरे सुन तस्करी प्रकरणमा प्रतिपक्षको आवाजलाई सरकारले नजरअन्दाज गरेको बताएका छन्। 

बुधबार बसेको संसद् बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले सुन प्रकरणबारे प्रतिपक्षले जुन उचाइबाट कुरा उठाइरहँदा, जनताले ध्यानाकर्षण गराइरहँदा सरकारको भूमिका शंकास्पद देखिएको बताए। 

‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे प्रश्न उठिरहेको छ। यसबारेमा सभामुखबाट रुलिङ हुनुपर्ने थियो’, उनले भने, ‘केही समयअघि यही संसद्मा पशुपतिनाथमा चढाइएको जलहरीलाई सुन होइन पित्तल हो भनियो। विमानस्थलबाट सहज ढंगले निस्किएको सुन कसको हो कसले ल्याएको हो छानबिन हुनुपर्छ।’

उनले तस्करीको सुन बरामद भएकै दिन विमानस्थलस्थित अधिकारीहरुको बिदाबारे पनि प्रश्न उठाए। 

‘जुन तस्करीको सुन विमानस्थलबाट निस्कियो, अर्थमन्त्रालयका प्रतिनिधिले किन बिदा लिए? गृहका प्रतिनिधिले किन बिदा लिए?’, उनले भने, ‘अर्थमन्त्रीले मैले सुन पक्रिनेलाई पुरस्कार दिन्छु भनेकाले समातेको हो भन्नु भयो। त्यसो भए त्यो सुनबारेको पुरस्कार पाउने को हो? सार्वजनिक गरिनुपर्छ।’

उनले २० हजार लिएर कम्पनी खोल्न दिने मान्छे सुन तस्करीको नाइके नहुने बताए। 

‘पशुपतिनाथको जलहरीलाई विवादमा ल्याउने योजना बनाएर सरकार नै सुन तस्करीमा लागेको देखियो’, उनले भने, ‘विषयवस्तुलाई अन्त मोडेर सरकार नै तस्करीमा लाग्यो। एउटै कम्पनीले ३३ औँ पटकसम्म सामान ल्याएको छ। तर त्यसअघि २२ औँ पटकमा समातिएन, ३२ औँ पटकमा समातिएन। किन भने यो सरकारकै मान्छेको योजनामा भएको थियो।’

उनले विमानस्थलमा सुरक्षा र भन्सारको जिम्मा पाएकाहरुले सुन समात्न नसक्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा आइसक्नुपर्ने बताए। 

‘सुन बरामद भइसकेपछि गृहमन्त्रीले पद छाड्नुपर्थ्यो। अर्थमन्त्रीले पनि हाम्रो निकायले सुन पक्रिन सकेन अनि पदमा बस्दिन भन्नुपर्थ्यो’, उनले भने, ‘नैतिक रुपमा अर्थमन्त्री र गृहमन्त्री भइरहन मिल्छ? आदर्शको कुरा गर्नेले त्यो आदर्शको पालना गर्नुपर्छ कि पर्दैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad