राजनीति


युन्नानको चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो सञ्चारमन्त्री शर्मालाई

युन्नानको चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो सञ्चारमन्त्री शर्मालाई

सञ्चारमन्त्रीसँग भेट गर्दै चिनियाँ टोली। तस्बिर : सञ्चारमन्त्रीको सचिवालय


नेपालखबर
असोज २, २०८० मंगलबार १८:३४, काठमाडौँ

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग भेटवार्ता गरेको छ। 

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास जनाइन्।

उनले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रको रुपमा विकास हुँदै गएको पनि बताइन्।

राज्यस्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबिचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उनले बेलाबेला हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने स्पष्ट गरिन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदान प्रदान अझ बढेर जाने विश्वास जनाइन्। 

चीनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उनले चिनियाँ कम्पनीहरुले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको सुनाइन्।

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबीच सहायता आदानप्रदान बढाउनुपर्ने उनले बताइन्।

मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उनको भनाइ थियो।

नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरुले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्धनको काम गरिरहेको बताइन्। 

अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताइन्।

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानले नेपाल र चीनबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबिच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताइन्।

आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उनले नेपालमा पनि पर्यटन प्रवर्धनको महत्वपूर्ण सम्भावना रहेको बताइन्।

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउन सके विकासमा योगदान पग्ने उनले बताइन्।

प्रचार विकासको राम्रो माध्यम भएको औल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरु इच्छुक रहेको बताइन्।

युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वब्यापीरुपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .