ad ad

राजनीति


रास्वपामा पनि धर्म–बहस, रविले तय गरे पशुपतिनाथ–मुक्तिनाथ अभियान

रास्वपामा पनि धर्म–बहस, रविले तय गरे पशुपतिनाथ–मुक्तिनाथ अभियान

सागर न्यौपाने
असोज १६, २०८० मंगलबार २०:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले धर्मबारे बहस भइरहेका बेला काठमाडौंदेखि मुक्तिनाथसम्म जोड्ने गरी ‘जनताको घरघरमा पुग्ने’ कार्यक्रम तय गरेको छ।

सभापति रवि लामिछानेसहित केही केन्द्रीय सदस्य सो अभियानमा सहभागी हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

अभियानको नाम अहिले छलफलकै क्रममा छ। यद्यपि, ‘पशुपतिनाथदेखि पोखरा हुँदै मुक्तिनाथमा रास्वपा’ नाम प्रस्ताव गरिएको छ।

अभियानको नाम छलफलकै क्रममा भए पनि कार्यक्रम भने निश्चित भइसकेको सभापति लामिछानको सचिवालयले जनाएको छ। जसअनुसार, लामिछाने केही केन्द्रीय सदस्यसहित काठमाडौंबाट पोखरा हुँदै मुक्तिनाथ पुग्नेछन्। अभियान करिब एक साताको हुनेछ। 

असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए।

‘काठमाडौंबाट कास्की हुँदै बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा पुगेर अभियान समापन हुन्छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘मुस्ताङ पुगेपछि मुक्तिनाथको दर्शन स्वाभाविक हुन्छ, नगरौँ भन्ने त हुँदैन नि।’

जनताको घरघरमा जाने कार्यक्रमअन्तर्गत यसपटक काठमाडौंबाट गएर गण्डकी प्रदेशमा जोडिन लागेको सहमहामन्त्री बुर्लाकोटीले बताए।

रास्वपामा पनि धर्म–बहस 
रास्वपाका केन्द्रीय तहका केही नेताले धार्मिक विषयमा पार्टीको प्रष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। देशमा हिन्दुत्वबारे बहस भइरहेका बेला सभापति लामिछाने पछिल्ला दिन हिन्दु मन्दिर पुगेपछि पार्टीको लाइन निश्चित गर्नुपर्ने भनाइ उठेको नेताहरु बताउँछन्। 

संविधानअनुसार, नेपाल धर्मनिरपेक्ष मुलुक हो। जुनसुकै धर्म मान्नेलाई पनि स्वतन्त्रता छ। तर, एउटै धर्मलाई मात्र प्राथमिकता दिन नमिल्ने रास्वपाकै केही नेताको धारणा छ।  

बुर्लाकोटी भन्छन्, ‘धार्मिक रुपमा व्यक्तिका अधिकारका विषयमा बोल्ने कुरा हुँदैन, सभापति मुक्तिनाथ जानुभयो भने व्यक्ति जाने हो, त्यहाँ रास्वपा गएको भन्ने हुँदैन।’ 

केही समयअघि लामिछानेले ताप्लेजुङ जाँदा पाथिभरा मन्दिर पनि दर्शन गरेका थिए। 

पार्टीको दस्तावेज निर्माण प्रक्रियाअन्तर्गत प्रथम चरणको ‘जनआवाज सुन्न’ रास्वपाका केन्द्रीय सदस्य असोज २ गतेदेखि १८ जिल्लाको दौडाहामा निस्किएका थिए।

लामिछानेले असोज ३ गतेदेखि पाँच दिनसम्म रोल्पामा बिताएका थिए। रास्वपाले असोज ७ सम्म सो अभियान चलाएको थियो।

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले गण्डकी प्रदेशका केही जिल्लामा राखिएको कार्यक्रमलाई आफ्नै ढंगले व्याख्या गरेर प्रचार गरिएको गुनासो गरे। 

‘काठमाडौंबाटै जाने अनि मुक्तिनाथ पुग्ने भनेपछि तीर्थयात्रा भनेर समाजिक सञ्जालमा चर्चा भइरहेको होला,’ प्रवक्ता ढकालले नेपालखबरसँग भने, ‘यो पार्टीकै घोषित अभियान हो।’

रास्वपा संगठन विस्तार र सुदृढीकरणमा छ। पार्टी गठन गरेको एक वर्ष मात्र हुँदा देशभरबाट प्राप्त भएको मागले संगठन विस्तारकै क्रममा सभापति देशव्यापी दौडाहामा निस्किएको उनले बताए। 

दुईटा सन्देशसहित अभियान गर्न लागिएको सहमहामन्त्री बुर्लाकोटीले बताए।

‘मनाङ र मुस्ताङ पछि परेका जिल्ला हुन्। त्यहाँ पुगेर वस्तुस्थिति बुझ्ने प्रयास हुन्छ,’ बुर्लाकोटीको भनाइ छ, ‘सो भेगका नागरिकका कुरा सुन्न र पीरमर्का बुझ्न खोजिएको हो, यसमा धार्मिक कुरा जोडिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .