संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालखबरलाई जानकारी दिइन्।
गत शनिबारबाट प्यालेस्टाइनको लडाकु समूह हमास र इजरायलबीच चर्किएको युद्धका कारण अहिले उनको नेपाल भ्रमण स्थगित भएको उनले बताइन्।
‘अहिले तत्कालका लागि उहाँ(एन्टोनियो गुटेरस) को भ्रमण स्थगित भएको हो,’ उनले नेपालखबरसँग भनिन्, ‘केही समयपछि उहाँको भ्रमण हुन्छ। अहिले जारी युद्धका कारण उहाँको भ्रमण स्थगित भएको हो।’
तीनदिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मा सम्बोधन गर्ने समेत कार्यक्रम तय भएको थियो।
साथै, उनी लुम्बिनी र पोखरा जाने कार्यक्रम पनि तय भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्।
Shares

प्रतिक्रिया