राजनीति


अमेरिकामा अख्तियार प्रमुख राईको सम्बोधन : भ्रष्टाचारले सरकारको विश्वसनीयता घटाउँछ

अमेरिकामा अख्तियार प्रमुख राईको सम्बोधन : भ्रष्टाचारले सरकारको विश्वसनीयता घटाउँछ

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:२६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचारले सरकारको विश्वसनीयता घटाउने बताएका छन्।

संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा यही मंसिर २५ देखि २९ गतेसम्म सञ्चालन भैरहेको भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको दशौं सम्मेलनको अवसरमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका प्रमुख आयुक्त राईले सो धारणा व्यक्त गरेका हुन्।

प्रमुख आयुक्त राईले भ्रष्टाचार एउटा गम्भीर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने उल्लेख गरे। सम्मेलन भ्रष्टाचार विरुद्ध लड्न राज्यहरूको सामूहिक संकल्पको संकेत गर्ने महत्त्वपूर्ण क्षण भएको उनले बताए।

प्रमुख आयुक्त राईले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यस विरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरु अवलम्बन गरिएको बताए।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका प्रावधानहरु कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको कुरा बताउन पाउँदा आफू धेरै खुसी भएको उल्लेख गरे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्रसंङ्घीय महासन्धि कार्यान्वयनको लागि सम्पर्क संस्थाको रुपमा तोकिएको र महासन्धिका प्रावधानहरु कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरिएको कुरा सम्मेलनमा जानकारी गराए।

प्रमुख आयुक्त राईले नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको बताउँदै सार्वजनिक पदाधिकारीहरूबीच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको र आयोगको प्रयासको फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको बताए।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिको  प्रभावकारी कार्यान्वयनको लागि कानूनको कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको कुरा समेत सम्मेलनमा जानकारी गराए।

भष्टाचार नियन्त्रणको क्षेत्रमा हालै वर्षहरुमा सुधार भएता पनि नेपालले भ्रष्टाचार विरुद्धको लडाईमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको भन्दै उनले भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको धारणा राखे।साथै, उनले यी चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेकोमा जोड दिए।

भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्रसंङ्घीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरु प्राप्त गर्न नेपालले आगामी दिनमा समेत पक्ष राष्ट्रहरुसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ भने।

सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गर्दै राईले यस्तो महत्वपूर्ण सम्मेलन आयोजना गरेकोमा संयुक्त राज्य अमेरिकाको सरकार र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .