ad ad

राजनीति


वैशाखमा हुनेछ तीनै तहमा रिक्त २४ स्थानको उपचुनाव

वैशाखमा हुनेछ तीनै तहमा रिक्त २४ स्थानको उपचुनाव

सागर न्यौपाने
पुस ४, २०८० बुधबार २०:१४, काठमाडौँ

निर्वाचन आयोगले तीनै तहमा जनप्रतिनिधि रिक्त रहेका पदहरूमा आगामी वर्ष वैशाखमा उपचुनाव गर्ने भएको छ। 

रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको चुनाव वैशाखमा गर्न सरकारलाई सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

उपचुनाव हुन लागेका अधिकांश स्थान जनप्रतिनिधिको निधन भएका कारण रिक्त भएका छन्।

‘रिक्त ठाउँमा उपचुनाव यो साल हुँदैन, अर्को सालको वैशाखमा पुग्छ,’ थपलियाले नेपालखबरसँग भने, ‘अहिले हामी राष्ट्रिय सभा चुनावको तयारीमा जुटेका छौँ। माघपछि अर्काे चुनावको तयारी गर्न कम्तीमा तीन महिना चाहिन्छ।’

उपचुनाव वैशाखभित्रै गर्ने गरी सरकारसँग छलफल गरेको जानकारी दिँदै उनले भने, ‘हाम्रो प्रस्ताव वैशाखको दोस्रोदेखि तेस्रो हप्ता उपयुक्त भन्ने छ, सरकारले मिति दिएपछि गर्छौँ।’

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ स्थानका लागि आगामी माघ ११ गते चुनाव हुँदै छ। एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

कहाँ–कहाँ रिक्त?
अघिल्लो वर्ष मंसिर ४ गते प्रदेशसभा र संघीय संसद्को निर्वाचन भएको थियो । 

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातबाट निधन भएपछि उक्त स्थान रिक्त छ।

प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असार ६ गते सवारी दुर्घटनामा निधन भएको थियो। बझाङ १ (क) बाट सिंह निर्वाचित भएका थिए।  

उता, जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको अघिल्लो पुस २३ गते मिर्गौला फेल भएर निधन भएपछि रिक्त भएको छ।

त्यस्तै, गत असोज  १३ मा ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनालको उपचारका क्रममा निधन भएपछि पद रिक्त छ।

२०८० कात्तिक १७ गते बेलुका जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएपछि उक्त पद रिक्त भएको छ। 

२०७९ माघ २७ मा दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको उच्च रक्तचापका कारण निधन भएपछि पालिका प्रमुखविहीन छ।

यस्तै, गत असार ३१ गते दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि त्यो ठाउँ खाली छ।

रिक्त वडा 
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाख १० गते मोटरसाइकल दुर्घटनामा ज्यान गयो। 

यस्तै, वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते डेंगु संक्रमणबाट निधन भएर रिक्त भएको आयोगले जनाएको छ। 

डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशी, गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरे, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुन, ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामा, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलम र उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष  चुडाराज काफ्लेको निधन भएकोले उपचुनावबाट पदपूर्ति गर्नुपर्नेछ।  

यसैगरी, गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना, बझाङको सुर्मा गाउँपालिका– ४ का वडाध्यक्ष सर्जन बोहरा र सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्ष सदानन्द उराँवको निधन भएपछि ती वडा अध्यक्षविहीन छन्।

जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती, दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्ट र कालिकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाहीको पनि निधन भएको छ।

उता, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष ललितबहादुर घलान र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष निर्वाचित सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली छ ।

आयोगका अनुसार, उपचुनाव गर्नुपर्ने अधिकांश स्थान जनप्रतिनिधिको मृत्यु भएका कारण रिक्त हुन गएका हुन्। 

स्थानीय तह निर्वाचन ऐन, २०७३ र संशोधित २०७४ मा ‘जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवम् नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पदपूर्ति गरिने’ उल्लेख छ। 

‘तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन’, ऐनमा भनिएको छ।

संघ र प्रदेशमा निर्वाचन भएको वर्ष दिन पूरा भएको छ भने  स्थानीय तहबाट निर्वाचित भएकाहरूको पदावधि अझै तीन वर्षभन्दा बढी बाँकी छ। 

गत वर्षको मंसिर ४ मा संघ र प्रदेशको चुनाव एकसाथ भएको थियो भने ०७९ वैशाखमा स्थानीय तह चुनाव भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .