राजनीति


माओवादीमा प्रदेश इन्चार्ज फेरबदल : जनार्दन र वर्षमान बाहिरिँदा को-को भित्रिए?

माओवादीमा प्रदेश इन्चार्ज फेरबदल : जनार्दन र वर्षमान बाहिरिँदा को-को भित्रिए?

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जबाट हटाएको छ।

यसप्रति असन्तुष्टि जनाउँदै शर्माले पार्टीमा फरक मत पेस गरिसकेका छन्। 

यस्तै माओवादी केन्द्रले उपमहासचिव वर्षमान पुनलाई पनि विशेष प्रदेश कमिटी प्रदेश इन्चार्जबाट हटाएको छ।

उनले पछिल्ला दिन प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सरकारका काम कारबाहीमा सहयोग गरिरहेका छन्।

मंगलबार र बुधबार दुई दिन बसेको स्थायी समिति बैठकले शर्मालाई इन्चार्ज हटाएर उपाध्यक्ष अग्नि सापकोटालाई ल्याउने निर्णय गरेको छ।

शर्मा गत साउनदेखि पार्टीको बागमती इन्चार्ज थिए। उनीसहित माओवादी केन्द्रले दसवटै प्रदेशका इन्चार्ज फेरबदल गरेको हो।

माओवादी केन्द्रमा ७ भौगोलिक प्रदेश शक्तिशाली मानिन्छ।

उपाध्यक्ष पम्फा भुसाललाई प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्ज बनाउने निर्णय गरिएको छ। यसअघि भुसाल जनवर्गीय संगठन इन्चार्जका थिइन्। 

यस्तै माओवादी केन्द्रले महासचिव देव गुरुङलाई सम्पर्क समन्वय कमिटी इन्चार्ज बनाको छ।

यस्तै कोसी प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिइएको छ। यसअघि कोसीमा चक्रपाणि खनाल इन्चार्ज थिए। 

यसैगरी गण्डकीमा सचिव दिनानाथ शर्मा इन्चार्ज बनेका छन्। गजुरेल र शर्माले पहिलोपटक इन्चार्जको जिम्मेवारी पाएका हुन्। 

मधेसमा लीलामणि पोखरेल इन्चार्ज बनेका छन्। उनी यसअघि पनि मधेसमै इन्चार्ज थिए।

यस्तै लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्। यसअघि लुम्बिनीमा हितमान शाक्य इन्चार्ज थिए। 

कर्णालीमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ। यसअघि कर्णालीमा मात्रिका यादव प्रदेश इन्चार्ज थिए।

यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय भएको छ। यसअघि पोखरेल सम्पर्क समन्वय कमिटी इन्चार्ज थिए। साउनदेखि सुदूरपश्चिम इन्चार्ज रहेका डिलाराम आचार्यलाई  हटाइएको हो। 

माओवादीले उपमहासचिव पुन इन्चार्ज रहेको विशेष प्रदेश इन्चार्जमा हितमान शाक्यलाई ल्याएको छ। माओवादीले लुम्बिनी इन्चार्ज रहेका मात्रिका यादवलाई भारत प्रवास इन्चार्ज बनाएको छ।

साउन २१ मा बसेको माओवादी बैठकले विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज तोकेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .