ad ad

राजनीति


नयाँ सत्ता गठबन्धनसँग उपेन्द्र यादवले खोजे मधेस मुख्यमन्त्रीको सुनिश्चितता

नयाँ सत्ता  गठबन्धनसँग उपेन्द्र यादवले खोजे मधेस मुख्यमन्त्रीको सुनिश्चितता

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:३५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नयाँ सत्ता गठबन्धनसँग मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारको सुनिश्चितता खोजेका छन्। 

हाल मधेसमा जसपाका नेता सरोज यादव कांग्रेससहितको समर्थनमा मुख्यमन्त्री छन्। 

कांग्रेसले समर्थन फिर्ता लिँदा नयाँ सत्ता गठबन्धन (एमाले, माओवादी केन्द्र र जसपा)को समर्थनले मात्रै मधेशमा बहुमत नपुग्ने देखिएपछि जसपा अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासँगको छलफलमा मधेसमा आफू नेतृत्वको सरकारको सुनिश्चितता खोजेका हुन्।

स्रोतका अनुसार आज बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपाका अध्यक्ष रवि लामिछानेसहितको छलफलमा यादवले नयाँ सत्ता गठनबन्ध निर्माण गर्दा मधेस सरकारको नेतृत्व फेरबदल हुन नहुनेमा जोड दिएका छन्। 

नयाँ सत्ता गठबन्धनमा रास्वपा पनि सहभागी छ। तर, कुनै पनि प्रदेश सभामा रास्वपाको प्रतिनिधित्व छैन। 

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। 

मधेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।

मधेसमा जसपा नेतृत्वको वर्तमान सरकार टिकाइराख्न एमाले, जसपा र माओवादी केन्द्रको संख्याले मात्रै पुग्दैन। 

नयाँ सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सहभागी हुने/नहुने टुंगो छैन। 

यदि एकीकृत समाजावादी पनि नयाँ गठबन्धनमा सहभागी भयो र मधेसका हालका मुख्यमन्त्री यादवलाई नै निरिन्तरता दिने सहमति नयाँ सत्ता गठबन्धनका नेताहरुबीच भयो भने मधेसमा जसपा नेतृत्वको सरकार जोगिन सक्छ। 

यादवले मधेसमा आफ्नो पार्टी नेतृत्वको सरकार जोगाउन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि नयाँ गठबन्धनमा सहभागी गराउनु पर्नेमा जोड दिएका स्रोतले जनाएको छ। 

मधेसका मुख्यमन्त्री यादवले गएको माघ ६ गते तेश्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई ६९ जना सदस्यले विश्वासको मत दिएका थिए। 

त्यतिबेला नेकपा एमाले र जनमतका सांसदले यादवको विपक्षमा मतदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .