ad ad

राजनीति


अब जीबी पक्राउ गर्ने जिम्मा रविलाई

गृहमन्त्रीविरुद्धको मुद्दा प्रहरीले कसरी गर्ला अनुसन्धान?
अब जीबी पक्राउ गर्ने जिम्मा रविलाई

उजिर कार्की
फागुन २३, २०८० बुधबार २०:१०, काठमाडौँ

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको छ। 

तर आरोपित व्यक्ति नै अब अनुसन्धान गर्ने निकायको प्रमुख भएका छन्। रवि लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ। 

यस्तै अन्य सहकारीका विषयमा रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ। उनी समेत जोडिएका यी मुद्दाका प्रमुख आरोपी भने जीबी भन्ने गितेन्द्रबाबु राई हुन्। तर उनी हाल मलेसियामा फरार छन्। उनलाई नेपाल डिपोर्ट गराउन प्रहरीले सुरुमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो। 

पछि मलेसियाले जीबीलाई डिपोर्ट गर्नुको सट्टा भिसा थपिदियो। भिसा थपिदिएपछि प्रहरीले फेरि ताकिता गरेको थियो। मलेसियाले डिपोर्ट गर्नका लागि कूटनीतिक नियोग मार्फत पत्र पठाउन भन्यो। नेपाल प्रहरीले परराष्ट्र मन्त्रालय हुँदै जीबीलाई डिपोर्ट गराउन पत्र पठाइसकेको छ। 

गृहमन्त्रीमा नियुक्त भएका रवि लामिछाने जीबीका व्यावसायिक साझेदार समेत हुन्। ग्यालेक्सी फोरके टेलिभिजनमा उनीहरु दुवैको सेयर थियो। तर पछि रविले टेलिभिजन छाडेका थिए र आफ्नो सेयर पनि बिक्री गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको सूर्यदर्शन सहकारीको मुद्दामा रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ। उक्त मुद्दामा अनुसन्धान गर्न सीआईबीको टोली पनि पोखरा पुगेको थियो। रविविरुद्ध जुन कसुरमा जाहेरी परेको हो, त्यस अनुसार कारोबार भएको प्रमाण समेत फेला पारेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। 

‘पुरक जाहेरी परेपछि हामीले सीआईबीबाट प्राविधिक टोली झिकाएर अनुसन्धान गरेका थियौँ। उहाँ (रवि लामिछाने) ले गैरकानुनी रुपमा गरेका कारोबारको प्रमाण फेला परेको छ। त्यसलाई थप कागजातले पनि प्रमाणित गर्ने काम भइरहेको छ। तर मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा भने माथिल्लो निकायसँग परामर्शमा छौँ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। 

रवि लामिछानेजस्तै गैरकानुनी रुपमा उक्त सहकारीबाट कर्जा लिने ४ सय ३३ जना रहेको पनि प्रहरीले जनाएको छ। रविलाई मुद्दा चलाउने हो भने उनीहरुविरुद्ध पनि मुद्दा चलाउनु पर्ने ती प्रहरी अधिकारीले नेपालखबरलाई बताए। 

तर पुरक जाहेरी भने रवि लामिछाने लगायत केही संस्था समेत गरी १८ जनाविरुद्ध परेको छ। पीडितको जाहेरीपछि अनुसन्धान गरिरहेको प्रहरीलाई भने अब आफ्नै गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्नु पर्ने जिम्मेवारी आइलागेको हो। 

अब आफ्नै गृहमन्त्री जोडिएको मुद्दाको अनुसन्धान कसरी हुन्छ? भन्ने प्रश्नमा प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल बोल्न चाहेनन्। उनले भने, ‘यो कुरा अनुसन्धान कार्यालयमै सोध्नु होला।’

सूर्यदर्शन सहकारीका कारोबारको अभिलेख भएको सर्भर प्रहरीले बरामद गरिसकेको छ। पूर्वडीआईजी छविलाल जोशीको काठमाडौँको शंखमुलस्थित घरमा लुकाएर राखेको अवस्थामा चार वटा सर्भर फेला परेका थिए। ती सर्भरमा चार वटै सहकारीको विवरण भेटिएको छ। रुपन्देहीमा एउटा सर्भर पठाइसकेको र अरु सहकारीको पनि माग भएपछि सम्बन्धित जिल्लामा पठाउने अनुसन्धान अधिकारीले बताए। 

अब गृहमन्त्रीविरुद्धको मुद्दा के हुन्छ भन्ने प्रश्नमा कास्की प्रहरीका अधिकारीले भने, ‘हामी त प्रमाण जुटाउन लागिरहेका छौँ। अब मुद्दा चल्ने नचल्नेचाहिँ व्याख्याकै विषय होला। हामीले पनि माथिल्लो निकायमा सल्लाह गर्नुपर्छ।’  

सीआईबीले पनि जीबी राईका सबै सहकारीको फाइल मगाएर विवरण अनुसन्धान गरिरहेको छ। सीआईबीका अधिकारीले भने, ‘हामीले सबै फाइल मगाएर अनुसन्धान गरिरहेका छौँ। सुरुमा विवरण निकाल्छौँ। त्यसपछि थप प्रक्रिया अगाडि बढ्छ।’

यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि जीबी र रविका सबै बैंकमा रहेको खाताको विवरण माग गरिसकेको छ। यसरी अनुसन्धान अगाडि बढिरहेका बेला उनै गृहमन्त्री भएपछि अब यो मुद्दाको अनुसन्धान नै प्रभावित हुने आशंका गरिएको छ।

प्रतिपक्षमा हुँदा भने रविले जीबीलाई पक्राउ गर्न सार्वजनिक रुपमै गृहमन्त्रीलाई चुनौती दिएका थिए। अब जीबीलाई पक्राउ गर्ने जिम्मा नै उनैलाई आइलागेको छ। कार्यभार सम्हालेपछिको उनको परीक्षा नै यही प्रकरण बन्ने देखिन्छ।

यसअघि गृहमन्त्री हुँदा पनि उनीविरुद्ध नागरिकता र पासपोर्टको मुद्दा चलेको थियो। सोही मुद्दाका कारण उनको सांसद पद गएको थियो भने गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .