राजनीति


गोकुल बाँस्कोटाको दाबीः माधव नेपाल एक वर्ष प्रधानमन्त्री ग्यारेन्टी!

गोकुल बाँस्कोटाको दाबीः माधव नेपाल एक वर्ष प्रधानमन्त्री ग्यारेन्टी!

नेपालखबर
फागुन २९, २०८० मंगलबार १०:२१, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १ वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन्। 

बास्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत् सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतलाईलाई लक्षित गर्दै नेपाल प्रधानमन्त्री बन्ने सम्भावना देखिएको बताएका हुन्। 

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ। त्यसका लागि एकीकृत समाजवादी निर्णायक छ।

फागुन २१ मा बनेको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपालको मात्रै समर्थनमा नारायण दाहाल अध्यक्ष हुन चुनौती देखिएको छ।

यस्तोमा सत्तारुढ गठबन्धन र नेपाली कांग्रेस पनि समाजवादीलाई फकाउन लागेका छन्। यद्यपि समाजवादीले सत्ता गठबन्धनलाई सघाउने निर्णय गरिसकेको छ। उता कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ। प्रधानमन्त्रीको विश्वासको मतमा पनि एकीकृत समाजवादी निर्णायक छ। सत्ता गठबन्धनमा समाजवादी उभिनेबित्तिकै प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्।

गठबन्धन सुरुमै संकटमा पर्ने अवस्था आएपछि समाजवादी अध्यक्ष नेपाललाई संसदको बाँकी समयमा प्रधानमन्त्री बनाउने सहमति प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। दुई नेताको सहमति मौखिक मात्रै भएकाले नेपालले अब लिखित सहमति नै चाहिने अडान राखेका छन्। 

समाजवादी अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री बनाउन लिखित सहमति हुनुपर्नेसहित ५ बुँदे माग राखेका छन्। 

यस्तोमा मंगलबार बिहान ११ बजेपछि राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन अघि बढेको छ। अध्यक्ष पदका लागि सत्ता गठबन्धनबाट माओवादी सांसद नारायणप्रसाद दाहाल र कांग्रेसका युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय सभामा ५९ सदस्य छन्। गठबन्धनका दाहाललाई माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जनाको समर्थन मिल्ने पक्का भएको छ।

उता शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एकजनाले मतदान गर्ने तयारी छ। लोसपाले समर्थन गरिसकेको छ भने जनमोर्चाले निर्णय गरिसकेको अवस्था छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .