राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ।
फागुन २१ गते बनेको सत्ता गठबन्धनभित्रै रहेकाले मत दिने निर्णय भएको एकीकृत समाजवादीकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राईले नेपालखबरलाई बताइन्।
‘हामी अहिले सत्ता गठबन्धनमा जोडिएका छौँ’, उनले भनिन्, ‘त्यसैले राष्ट्रिय सभा उपाध्यक्षका लागि हामीले एमाले उम्मेदवार विमला घिमिरेलाई मतदान गर्दैछौँ।’
समाजवादीले पनि राष्ट्रिय सभा उपाध्यक्षका लागि दाबी गरेको थियो। तर गठबन्धनमा सहमतिअनुसार एमालेबाट घिमिरेको उम्मेदवारी कायम भएको छ। यस्तोमा पार्टी विभाजनपछि पहिलो पटक समाजवादीले एमाले उम्मेदवारलाई जिताउन मतदान गर्ने भएको हो। ्
बुधबार हुन लागेको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्।
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा र मनोनीतसहित १-१ सांसदले मतदान गर्दैछन्।
Shares
प्रतिक्रिया