नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको विषयमा केन्द्रमा सत्ता गठबन्धनका नेताहरूले कुरा फेरेको बताएको छ।
पार्टीका महासचिव घनश्याम भुसालका अनुसार, आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको सहमतिभन्दा फरक शैलीको कुरा राखेका छन्।
‘यसअघि नै सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले लिने केन्द्रमा समझदारी बनेको थियो,’ भुसालले नेपालखबरसँग भने, ‘आज बिहानको छलफलमा उहाँहरू (केपी–प्रचण्ड)ले कुरा फेर्नुभयो।’
भुसालका अनुसार, सुदूरपश्चिम प्रदेश सरकारबारे थप केही छलफल गर्नुपर्ने भएको आइतबार बिहान बताएका थिए।
‘हामी यसअघि भएको समझदारीमा दृढ छौँ,’ भुसालले भने, ‘थप छलफल गर्नुपर्छ भनेर उहाँहरूले भनेपछि हामी निस्किएका थियौँ। अरु केही खबर आएको छैन।’
उता, एकीकृत समाजवादीले भने नेपाली कांग्रेससहितको समर्थनमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको छ।
आइतबार दिउँसो गरिएको दाबी पेसमा एकीकृत समाजवादीले पनि समर्थन गर्ने बताएको छ।
यद्यपि यसबारे केन्द्रमा केही जानकारी नआएको भुसालले बताए।
‘समाचारबाटै सुनिएको हो, हामीले केन्द्रमा अहिलेसम्म यसबारे औपचारिक केही निर्णय गरेका छैनौं,’ भुसालले भने।
नागरिक उन्मुक्तिभित्रको कलहका कारण सुदूरपश्चिममा सरकार बनाउन सकस परेको छ।
Shares
प्रतिक्रिया