कहिलेकाहीँ ‘हामीलाई भोट देऊ’ नभनिकन पनि आफ्नाका लागि भोट माग्न सकिन्छ। उपनिर्वाचनको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस्तै गरे।
‘लोकतन्त्रमा फक्रिरहेका सुन्दर फूलहरूलाई कोपिलामै निमोठ्नु हुँदैन,’ शनिबार अपरान्ह सामाजिक सञ्जालमा प्रचण्डले यस्तै धारणा पोस्ट गरेका थिए।
निर्वाचन आचार संहितालाई मध्यनजर गर्दै आएको थियो, प्रचण्डको यो पोस्ट। खासमा काठमाडौँका मेयर बालेन्द्र शाह र रवि लामिछाने समर्थक मतदाताहरूको भोट कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवारलाई पार्ने ‘कलात्मक रणनीति’ अनुरूप प्रचण्डले उपरोक्त पोस्ट गरेका थिए।
मौन अवधि सुरु हुनुअघि कीर्तिपुरको अन्तिम सभा (१३ मंसिर) मा कांग्रेस महामन्त्री गगन थापाले पनि यस्तै ‘कलात्मक’ प्रयास गरे।
‘प्रचण्डले दिनदिनै ‘प्रधानमन्त्री बनिदिनुस्’ भनेर भनेर खबर पठाएको पठायै छन्, तर कांग्रेस ओलीलाई नै प्रधानमन्त्री मानेर अघि बढ्छ,’ गगनको यो भनाइ एकातिर एमाले समर्थितको मत कांग्रेस उम्मेदवारका पक्षमा पार्ने योजनाको उपज थियो, अर्काेतिर ओलीको साथ लिएर कांग्रेसभित्र आफ्नो पकड अझ बलियो बनाउने प्रयास।
‘बालेन्द्रहरू फक्रिँदै गरेका फूल हुन्’ भन्ने शनिबारको प्रचण्डको भनाइ मानिसहरूले बिर्सिसके। तर, प्रधानमन्त्री बन्न ‘प्रचण्डले हप्तैपिच्छे कांग्रेसलाई प्रधानमन्त्री बन्नुपर्यो भनेको भन्यै छन्’ र ‘(कांग्रेसले चुनाव जित्यो भने) कीर्तिपुरको डाँडोमा ल्यापटप लिएर बस्दा महिनाको तीन–चार लाख कमाउन सकिने बनाउन सकिन्छ’ भन्ने भनाइ अहिले पनि चर्चाकै शिखरमा छ।
‘ल्यापटप हुँदा कीर्तिपुरको डाँडामा बसेर मासिक तीन–चार लाख कमाउन सकिन्छ’ भन्ने भनाइको चर्चा हामी तल गर्नेछौँ। माओवादी पंक्तिले लगातार प्रतिवाद गरिरहेका कारण गगनको ‘हप्तैपिच्छे प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरिरहेका छन्’ भन्ने अभिव्यक्ति अझै चर्चामा रहेको हो।
जस्तोः गगनको अभिव्यक्ति आएकै साँझ प्रचण्डको सचिवालयका रमेश मल्लले ‘माओवादीले कसैलाई प्रधानमन्त्री अफर नगर्ने, बरु ०८४ मा आफै प्रधानमन्त्री बन्नेगरी अघि बढेको छ’ भन्दै प्रतिवाद गरेका थिए।
माओवादी उपमहासचिव वर्षमान पुनले पनि भोलिपल्ट (१४ मंसिर) यसको चर्चा गरे। गृहजिल्ला रोल्पामा रहेका उनले ‘कांग्रेस–एमाले गठबन्धन लामो समय जाने विश्वास नभएकाले एमालेसँग बार्गेनिङ बढाउन गगनबाट यस्तो अभिव्यक्ति आएको हो’ भन्दै गगन र सत्ता गठबन्धनमाथि धावा बोले।
‘गगन थापासँग एक युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो,’ शनिबार (१५ मंसिर) दिउँसो त प्रचण्ड नै बोले, ‘अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुठो कुरा गर्नसक्ने भएको देख्दा मलाई साँच्चिकै दया लागेको छ।’
कसलाई होला प्रचण्डको प्रस्ताव?
असार अन्तिम साता सत्ताबाट हटेपछि प्रचण्डले ‘अब जनताको बीचमा बस्ने र २०८४ को निर्वाचनमा बहुमत हासिल गरेर मात्र सत्तामा फर्कने हो’ भन्ने गरेका थिए। तर, २८ कार्तिकको एक कार्यक्रममा ‘संसदमा माओवादीको सांसद संख्या जादुयी नै छ’ भन्ने कुरा सगर्व दोहोर्याए।
‘हामी प्रमुख प्रतिपक्षी पार्टी हौँ, विपक्षी दल भनेको गभर्मेन्ट इन वेटिङ (सरकार पर्खिरहेको दल) हो’ उनले थपे, ‘यो उनीहरूलाई उल्टाएर बन्ने सरकार हाम्रो हो।’
यसबाट बुझ्न सकिन्थ्यो, सत्ताको खेल फेरि सुरु भयो। भनिन्छ, कमजोर फौजले शत्रुको एक गोलीविरुद्ध सयौँ गोली फायर गर्छ। प्रचण्डले आफूलाई ‘गभर्मेन्ट इन वेटिङ’ भनेको पनि तीन हप्ता बित्न लागिसक्यो। तर, ‘यो गठबन्धन अन्तिमसम्मै टिक्छ’ भन्दै प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूले त्यसयता दर्जनौँ फायर खोलिरहेबाट पनि राजनीतिको संकेत बुझ्न सकिन्छ।
१३ मंसिरको कीर्तिपुरको चुनावी सभामा एमाले महासचिव शंकर पोखरेलले पनि ‘जादुयी नम्बर’ को चर्चा गरे। उनले ‘जादुयी नम्बरले सत्ता चलाउने स्थिति चुनावबाट अन्त्य गर्नुपर्छ’ भनेका थिए। यो भनाइले ‘जादुयी नम्बर’ अझै प्रभावकारी छ भन्ने अर्थ दिन्छ।
प्रचण्डसँग एकातिर संसदमा ‘जादुयी नम्बर’ छ, अर्काेतिर छ– सत्ताको रसवरी!
प्रचण्डको विगत र उनको स्वभाव र संसदको यो स्थिति हेर्दा उनले ‘प्रधानमन्त्री बनिदिनुस्’ भनेर हप्तैपिच्छेजसो प्रस्ताव गरेका छन् भन्ने गगनको दाबी त्यसैले पनि असत्य हो भन्ने लाग्दैन।
बहुदलकालमा झैँ गणतन्त्रमा पनि सरकार अस्थिर छन्। तर, यो अस्थिरताको मूल दोषी प्रचण्ड होइनन्।
गगन थापाको दल आफूलाई संसदीय व्यवस्थाको हिमायती ठान्छ। र, आफैले माओवादीलाई संसदीय मूलधारमा रहेको दाबी पनि सगौरव गर्छ। संसदीय व्यवस्थाको मूलमर्म भनेकै संसदमा बहुमत जुटाउनेले सरकार बनाउने हो, अल्पमतमा पर्नेले प्रतिपक्षमा बस्ने र सत्ताको प्रतीक्षा गरिबस्ने हो।
जतिसुकै अस्थिरता र विकृति निम्त्याओस्, नेपाली कांग्रेसले जोगाउन मरिहत्ते गरिरहेको संसदीय व्यवस्थाको त्यही ‘सुन्दरताको अभ्यास’ प्रचण्डले गर्न खोजिरहेका छन् भने, ‘ल है, प्रचण्डले यसो गरिरहेका छन्’ भन्दै गगनले कीर्तिपुरबाट ओलीलाई ‘सतर्क’ गराउनु कुनै बहादुरी होइन।
बरु, ‘बल्ल प्रचण्ड असली रूपमा संसदीय व्यवस्थाको चरित्र ग्रहण गरेर आए’ भनेर थापाले खुसी व्यक्त गरेको भए त्यो चाहिँ नयाँ कुरा हुने थियो।
जहाँसम्म कीर्तिपुरमा चारपाँच लाख कमाउने सन्दर्भ हो, कीर्तिपुरजस्तै अग्ला डाँडा वा बस्ती काठमाडौँ–४ को कपन र बुढानीलकण्ठतिर नभएका होइनन्। २०६४ यता गगन लगातार सांसद छन्। उनको पार्टी पटक–पटक सत्तामा पुगेको छ, यसबीचमा उनी आफै पनि मन्त्री भएका छन्। गगनले सक्ने भए आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–४ का बुढानीलकण्ठ वा कपनका डाँडालाई ल्यापटप लिएर उक्लेपछि मासिक चार–पाँच लाख कमाउन सकिने उहिल्यै बनाइसकेका हुने थिए।
खासमा गगनको त्यो अभिव्यक्ति केपी शर्मा ओलीले रसुवागढी पारिको डाँडोलाई देखाएर ‘चुच्चे रेल ऊ त्यहाँबाट आउँछ’ भन्ने मार्काको ‘चुनावी भाषण’ मात्र हो। त्यसैले, यस्ता कुरालाई ‘मिम’ बनाउनु भनेको खासमा आफैप्रति ‘बिल्ला हान्नु’ हो। समयको बर्बादी हो र मोबाइलमा ‘डाटा’ लिएर ‘सटायर’ मोबाइलमा टाइप गरिरहनु भएको छ भने पैसाको बर्बादी पनि हो।
माथि नै भनियो, प्रचण्डको स्वभाव, उनको विगत, संसदमा माओवादीको ‘जादुयी नम्बर’ र संसदीय व्यवस्थाको चरित्रका आदिका आधारमा सत्ता–परिवर्तनका लागि प्रचण्डले अनेक प्रयास गरिरहेका छन् भन्ने गगनको दाबी भने सत्यको नजिक छ भन्ने विश्वास गर्न सकिन्छ।
यस्तोमा ‘प्रधानमन्त्री बनिदिनु पर्यो’ भन्दै प्रचण्डले हप्तैपिच्छे गर्ने प्रस्तावबारे चाहिँ गगनले कसरी सूचना पाए होलान्? यो प्रश्नको उत्तर महत्त्वपूर्ण हो। यो प्रश्नको उत्तर खोजियो भने राजनीतिका थप रोचक पक्षहरू उद्घाटित हुनेछन्।
प्रचण्डले नबुझेका गगन
गगनको दाबीको प्रतिवाद गर्ने क्रममा प्रचण्डको शनिबार (१५ साउन) को प्रतिवाद–जवाफलाई मिहिन ढंगले केलाउँदा प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव गगनलाई नै गरेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। अन्य घटनाक्रमहरूले पनि यो कुराको संकेत गर्छन्।
‘एउटा युवा नेताको रूपमा गगन थापासँग मेरो धेरै संवाद र सहकार्य हुने गर्दथ्यो, अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुठो कुरो बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चिकै दया लागेको छ,’ प्रचण्डले भनेका छन्, ‘कति तल, कति छिटो झर्न सकेको हो?’
‘एउटा युवा नेताको रूपमा गगन थापासँग मेरो धेरै संवाद र सहकार्य हुने गर्दथ्यो’ भन्ने वाक्यले प्रचण्ड–गगनबीच ‘संवाद’ र ‘सहकार्य’ कहिलेको हो भन्ने खुल्दैन। तर, लगत्तैको वाक्यले भने दुईबीच त्यस्तो ‘संवाद’ र ‘सहकार्य’ केही महिना अघिसम्म कायम रहेछ भन्ने संकेत मिल्छ। किनबि, प्रचण्डले नै त्यसमा ‘गगनमा केही महिनाभित्रै परिवर्तन आएछ’ भन्ने शब्दावली प्रयोग गरेका छन्।
त्यसो भए केही महिनाअघिसम्म प्रचण्ड–गगनबीच ‘संवाद’ र ‘सहकार्य’ के उद्देश्यका लागि थियो? प्रचण्ड पछिल्लो समय प्रधानमन्त्री छँदा उनका युवा तथा सामाजिक विकास विज्ञ रहेका विश्वदीप पाण्डेको शनिबार (१५ मंसिर) को एउटा ट्विटले यो कुरा खुलाउँछ।
‘हिजो माओवादी नेतृत्वको सरकार हुँदा ‘आरजुलाई भ्रष्टाचार मुद्दामा तपाईंहरूले पक्राउ गरिहाल्नुपर्यो, बरु प्रमाण जुटाउन म पनि सहयोग गर्छु’ भन्दै हप्तामा एक होइन, दुई–दुई पटक माओवादी नेताहरूलाई अनुरोध गर्ने मेरा आदरणीय दाइ गगन थापा नै हो,’ पाण्डेले ट्विट गरेका छन्, ‘यो कुरा म गगन थापासँग आँखा जुधाएर नै भन्न सक्छु।’
हिजो माओवादी नेतृत्वको सरकार हुँदा आरजुलाई भ्रष्टाचार मुद्दामा तपाईंहरूले 'पक्राउ गरिहाल्न पर्यो बरु प्रमाण जुटाउन आवश्यक परे म पनि सहयोग गर्छु' भन्दै हप्तामा एक हैन २/२ पटक माओवादी नेता र मन्त्रीहरूलाई अनुरोध गर्ने मेरा आदरणीय दाइ गगन थापा नै हो । यो कुरा म गगन थापासँग नै आँखा… https://t.co/K9XmbIxb2Z
— Bishwadeep Pandey (@BishwadeepP) November 29, 2024
प्रचण्ड नेतृत्वको सरकारले जेठमा ल्याएको नीति तथा कार्यक्रमलाई अझ माझिएको बनाउन महामन्त्री थापाको पनि महत्त्वपूर्ण योगदान थियो भन्ने गाइँगुइँ उतिबेला सुनिन्थ्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर गरेकोमा महामन्त्री थापाले २१ वैशाख २०८० मा ट्विट गरेरै तत्कालीन गृह प्रशासनको प्रशंसा गरेका थिए।
भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा
— Gagan Thapa (@thapagk) May 16, 2023
नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम… pic.twitter.com/sMAiP7dQk3
तर, आरजुलाई पक्रन ‘सहकार्य’ र हप्तामा दुई–दुई पटक ‘संवाद’ हुने गरेको प्रसङ्ग भने रोचक विषय हो।
महामन्त्री थापा गत साउनको अन्तिम सातासम्म पनि यस्तो ‘सहकार्य’ र ‘संवाद’ मा थिए थिए कि! यसर्थ कि, २९ साउन २०८१ (ओली प्रधानमन्त्री बनेको एक महिना पुग्दै थियो) मा प्रतिनिधि सभाको बैठकमा भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु जग्गा प्रकरणको छानबिन र विद्युतसम्बन्धी डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विषयमा काम अघि बढाउन थापाले आग्रह गरेका थिए।
अनुकूल अवस्था आएपछि यही कार्यकालमा प्रतिस्पर्धा गरेर कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने गगनको घोषित नीति नै हो। २३ असार २०८० मा बुढानीलकण्ठको एक कार्यक्रममा आफ्नो उद्देश्यबारे उनले प्रष्ट पारिसकेका छन्। (देउवाद्वय र महामन्त्री थापाबीच हाल देखिएको ‘एकता’ का ‘सुपर ग्लु’ भने प्रधानमन्त्री ओली हुन्।)
प्रचण्डले देउवाबाट दुईपटक पाएको धोका (१० पुस २०७९ मा आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्न र यसपटक आफ्नो विकल्पमा ओलीलाई प्रधानमन्त्री बनाउन), अनुकूल अवस्था आउनासाथ संसदीय दलमा ‘फाइट’ गरेर प्रधानमन्त्री बनेरै छाड्ने गगनको प्रतिबद्धता, आरजुलाई पक्रन केही महिना अघिसम्म भएका ‘सहकार्य’ र ‘संवाद’ का आधारमा प्रचण्डले गगनलाई कांग्रेसबाट प्रधानमन्त्री बन्न अफर गरेका होलान्। (किनकि, कांग्रेस अहिल्यै प्रधानमन्त्री बन्न तम्सियो भने कांग्रेस–एमालेमा फाटो आउँछ, दुई दलबीच फाटो आउँदा ‘जादुयी नम्बर’ का कारण दुवै दलले प्रधानमन्त्री बन्न ‘अफर’ गर्ने प्रचण्डलाई नै हो।)
तर, गगन समक्ष यस्तो प्रस्ताव गरेका हुन् भने त्यो प्रचण्डले ‘डायल’ गरेको ‘रङ नम्बर’ हो। ‘हप्तैपिच्छे प्रधानमन्त्रीको प्रस्ताव’ गरेर प्रचण्डले गगनलाई ‘ल्याङ’ गर्नुअघि प्रचण्डले यो कुरा ख्याल गर्नुपर्थ्यो, शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध उनी (प्रचण्ड) सँग ‘सहकार्य’ र ‘संवाद’ गर्ने गगनले ओलीसँग पनि त उस्तै ‘संवाद’ र ‘सहकार्य’ सुरु गरेका हुन सक्छन्!
Shares

प्रतिक्रिया