राजनीति


‘म्याजिक नम्बर’ कायम राख्दै उपनिर्वाचनमा माओवादीको आश्चर्यजनक बढोत्तरी

‘म्याजिक नम्बर’ कायम राख्दै उपनिर्वाचनमा माओवादीको आश्चर्यजनक बढोत्तरी

सीताराम बराल
मंसिर १७, २०८१ सोमबार १०:५८, काठमाडौँ

स्थानीय तह निर्वाचन-२०७९ मा विजय हासिल गरेका अधिकांश वडा आइतबार (१६ मंसिरमा) भएको उपनिर्वाचनमा गुमाए पनि अन्य पार्टीले जितेका वडा खोसेर आफ्नो सिट संख्या कायम राख्न नेकपा माओवादी केन्द्र सफल भएको छ।

२०७९ को आम निर्वाचनमा माओवादीले केन्द्रले जितेका ६ (एक निर्विरोधसहित) वटा वडामा यसपटक उपनिर्वाचन भएको थियो। त्यसमध्ये रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-२ मा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। 

आइतबार मतदान भएका र सोमबार बिहानसम्म अन्तिम परिणाम सार्वजनिक भएकामध्ये कांग्रेसका ३ र एमालेका २ वटा वडा खोसेर माओवादीले २०७९ मा विजय हासिल गरेका वडासंख्या कायम गरेको हो। 

तर, माओवादी केन्द्रले विजय हासिल गरेका अन्य चारवटा वडा भने यसपटक गुमाएको छ। यसमध्ये हेटौँडा उपमहानगरपालिका-१२ नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ। 

त्यहाँ नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी हुँदा माओवादी केन्द्रका रविकुमार प्रधान १ हजार ५ सय ६० मतसहित निकटतम प्रतिद्वन्द्वी मात्र बनेका छन्।

यो वडामा यसअघि माओवादी केन्द्रका ललितकुमार घलान १ हजार ३ सय ७१ मतसहित विजयी भएका थिए। कांग्रेसका तिवारी १ हजार ३ सय ४० मतसहित दोस्रो स्थानमा थिए। 

जाजरकोटको कुशे गाउँपालिका-६ पनि नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ। पहिले माओवादी केन्द्रका मनबहादुर घर्ती ३ सय ८० मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार खम्बबहादुर सिंह ३ सय ४७ मतसहित विजयी भएका छन्। माओवादी उम्मेदवार गोरखबहादुर नेपाली ३ सय ३२ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन्।

दार्चुलाको दुहुँ गाउँपालिका-५ पनि माओवादी केन्द्रबाट नेपाली कांग्रेसको पोल्टामा गएको छ। २०७९ मा माओवादी केन्द्रका मनोरथ भट्ट ५ सय ८२ मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार धनसिंह कुँवर ३ सय ७६ मतसहित विजयी हुँदा एमालेका मानसिंह बडाल ३ सय ५८ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन्।

माओवादीले गुमाएको अर्काे वडा कालिकोटको तिलागुफा नगरपालिका-४ हो, जहाँ माओवादी केन्द्रका परबहादुर शाही २०७९ को निर्वाचनमा २ सय ३४ मतसहित विजयी भएका थिए। त्यो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका नेमकिपाका दीपबहादुर शाहीले १ सय ६१ मत मात्र पाए।

त्यो निर्वाचनमा नेमकिपाविरुद्ध कांग्रेस र एमालेसँग गठबन्धन गरी माओवादी केन्द्रले जित हासिल गरेको थियो। यसपटक भने माओवादी, कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा नेमकिपाले जित हासिल गर्न सफल भएको हो।

विजयी नेमकिपाका खड्कराज शाहीले १ सय ४३ मत हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नैशोभा शाहीले १ सय १५ मत मात्र प्राप्त गरेकी छन्।

कांग्रेसको हातबाट ३ र नेमकिपाको हातबाट १ वडा गुमाएको माओवादी केन्द्रले एक वडा एमालेको हातबाट पनि गुमाउनुपरेको छ। 
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ एमालेले माओवादी केन्द्रबाट खोस्न सफल भएको हो। 

यसअघि सो वडामा माओवादी केन्द्रका मुकेशकुमार यादव ४ सय ३३ मतसहित विजयी भएका थिए। यसपटक एमाले उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी हुँदा माओवादी उम्मेदवार आइतीकुमारी यादव ५ सय ३४ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेकी छन्।

उपनिर्वाचनमा तीन वडा कांग्रेस र एक वडा एमालेलाई बुझाएको माओवादी केन्द्रले कांग्रेसका ३ र एमालेका २ वडा खोस्न सफल भएको छ। कांग्रेसले जितेका दुई पालिकाका प्रमुख र उपप्रमुख पनि उसले यसपटक एक्लै निर्वाचन लडेर आफ्नो पोल्टामा पारेको छ। 

यसमध्ये यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको उदयपुरको त्रियुगा नगरपालिका-१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भएका छन्। २०७९ मा सो वडामा नेपाली कांग्रेसका चुडाराज काफ्ले ४ सय ३९ मतसहित विजयी हुँदा तेस्रो स्थानमा रहेका माओवादीका राईले ४ सय ४ मत मात्र प्राप्त गरेका थिए। 

यसपटक विजयी राईले ९ सय २३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत ल्याएका छन्। 

यसैगरी नुवाकोटको ककनी गाउँपालिका-२ पनि माओवादी कांग्रेसबाट खोस्न सफल भएको छ। २०७९ मा सो वडामा पराजित माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मतसहित विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत मात्र पाएका छन्। यो वडामा २०७९ को निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा ८ सय ८८ मतसहित विजयी हुँदा पराजित माओवादी उम्मेदवार कृष्ण घिमिरेले ७ सय ३४ मतमात्र प्राप्त गरेका थिए। 

माओवादी केन्द्रले नेपाली कांग्रेसबाट खोसेको अर्काे वडा धनुषाको धनुषाधाम नगपालिका-१ हो। नेपाली कांग्रेसको गढ मानिएको सो वडामा यसपटक माओवादी उम्मेदवार सुनील कापर केवट ६ सय ८४ मतसहित विजयी भएका छन्। निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन्।

२०७९ को निर्वाचनमा यो वडामा निर्वाचित कांग्रेसका विश्वनाथ यादव ६ सय १८ मतसहित विजयी भएका थिए। उपनिर्वाचनमा विजयी माओवादीका केवट त्यसबेला निर्वाचनमा ३ सय ६९ मतसहित तेस्रो भएका थिए। दोस्रो स्थानमा रहेका एमालेका प्रमोद यादवले ३ सय ७७ मत प्राप्त गरेका थिए।

रामगोपालपुर नगरपालिका-२ (महोत्तरी) मा एमालेबाट प्राप्त हारको क्षतिपूर्ति माओवादी केन्द्रले गोरखा नगरपालिका-५ (गोरखा) बाट गरेको छ। त्यहाँ माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले यहाँ ४ सय २ मत प्राप्त गर्दा एमाले उम्मेदवार दुर्गामाया थापा राना यहाँ ३ सय ४५ मतमा खुम्चिएकी छन्।

गोरखा नगरपालिका-५ मा २०७९ मा एमाले उम्मेदवार खिलबहादुर राना ४ सय ५३ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गिता थापामगरले ४ सय २८ मत प्राप्त गर्दा माओवादी केन्द्रकी सावित्री राना थापा २ सय ७४ मतमा सीमित भएकी थिइन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ पनि माओवादी केन्द्रले एमालेबाट खोस्न सफल भएको छ। त्यहाँ माओवादी केन्द्रका नरबहादुर झाँक्री १ सय ६१ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मतमात्र प्राप्त गरेका छन्। यहाँ कांग्रेसका राजेन्द्र प्रसाद न्यौपाने २१ मतमा खुम्चिएका छन्।

२०७९ मा यहाँ एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी माओवादीका जंगबहादुर रोकायालाई १ सय २ र नेपाली कांग्रेसका नरबहादुर झाँक्रीलाई ८२ मत प्राप्त भएको थियो। 

२०७९ मा कांग्रेस उम्मेदवारको रुपमा तेस्रो स्थानमा रहेका झाँक्री यसपटक माओवादी उम्मेदवारका रुपमा विजय हासिल गरेका हुन्। 
यस हिसाबले सोमबार बिहानसम्म माओवादी केन्द्रले २०७९ मा विजय हासिल गरेका ६ मध्ये ५ वटामा विजय हासिल गरेको छ। 

२०७९ मा माओवादी केन्द्रले विजय हासिल गरेका हुम्लाको सुर्केगाढ र रुकुमपूर्वका पुथाउत्तरगंगा गाउँपालिकाका उपप्रमुखको निर्वाचन भएको छ। 

यसमध्ये हुम्लाको सुर्केगाढमा २०७९ मा कांग्रेस-माओवादीको गठबन्धन थियो। पुथा उत्तरगंगामा भने माओवादी एक्लैले विजय हासिल गरेको थियो। 

यसपटक पुथा उत्तरगंगामा माओवादी केन्द्रविरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरेका छन्। उम्मेदवार एमालेको भए पनि उनले नेपाली कांग्रेसको चुनाव चिह्न लिएकी छन्। त्यसैले त्यहाँको निर्वाचन परिणाम निकै रोचक हुने देखिन्छ।

यो समाचार तयार पार्दासम्म यी दुवै पालिकाको मतगणना भएको छैन।

त्यहाँको परिणाम जस्तो आएपनि पहिले कांग्रेसले विजय हासिल गरेको एक गाउँपालिका प्रमुख र एक नगरपालिका उपप्रमुख माओवादी केन्द्रले कांग्रेसबाट खोस्न सफल भएको छ। 

मोरङको ग्रामथान गाउँपालिकाको प्रमुख र जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद माओवादीले कांग्रेसबाट आश्चर्यजनक रूपमा खोस्न सफल भएको हो। 

यसमध्ये ग्रामथान गाउँपालिकामा माओवादीको उम्मेदवार नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले यहाँ ५ हजार ३ सय ३३ मतमात्र प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार तुलसीराम विश्वासलाई ४ हजार १ सय ५९ मतमात्र प्राप्त भएको छ। 

यो गाउँपालिकामा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विजयकुमार सरदार २ हजार २ सय २७ मतसहित तेस्राे भएका थिए। विजयी कांग्रेस उम्मेदवार जयप्रकाश गच्छदारले ७ हजार ६ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझीलाई ६ हजार ९३ मत प्राप्त भएको थियो।

साढे दुई वर्षपछि भएको उपनिर्वाचन परिणाम उलटपुलट पार्दै माओवादी केन्द्रले त्यहाँ आश्चर्यजनक हासिल गरेको हो।

जाजरकोटको नलगाड नगरपालिकामा २०७९ को निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनबाट कांग्रेस उम्मेदवार सरिता सिंह ५ हजार ४ सय ६ मतसहित विजयी भएकी थिइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बोहोरालाई ३ हजार ३ सय ९३ मत प्राप्त भएको थियो। 

यसपटक यो नगरपालिकाको उपप्रमुखका लागि कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा थिए।

यसमध्ये माओवादी केन्द्रकी देवका लामिछाने ४ हजार २ सय ७२ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्रा चन्द सिंह) ले ३ हजार १ सय ४७ मत प्राप्त गर्दा एमालेकी सुनिता बोहोरा तेस्रो स्थानमा खुम्चिँदै २ सय ५ सय ४२ मत प्राप्त गरेकी छन्। 

आम निर्वाचन-२०७९ मा तेस्रो स्थानमा खुम्चिएको माओवादी केन्द्रलाई निर्वाचनपछि प्रधानमन्त्री पद सुम्पनु परेपछि पछिल्लो समय कांग्रेस-एमालेबीच सत्तागठबन्धन भएको छ। केन्द्रीय तहमा सरकारका लागि भएको गठबन्धनलाई यो उपनिर्वाचनमा उनीहरूले स्थानीय तहमा पनि विस्तार गरेका थिए।

उपनिर्वाचनमा एमाले-कांग्रेसका कतिपय नेताले निर्वाचतमार्फत माओवादीलाई ‘म्याजिक नम्बर’ कायम राख्न दिन नहुने बताउँदै आएका थिए। 

तर, स्थानीय तहको उपनिर्वाचनको मतगणना जारी रहँदा २०७९ को स्थानीय तह निर्वाचनमा जितेको संख्या कायम राख्न सफल भएको छ।

एक्लाएक्लै भएको प्रतिस्पर्धामा उसले मोरङको ग्रामथानमा अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा भारी मतान्तरसहित विजय हासिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad