राजनीति


उपनिर्वाचनबाट बढ्यो महिला जनप्रतिनिधिको संख्या

४४ मध्ये ८ सिटमा महिला चुनिए, कांग्रेसभन्दा एमाले र माओवादीबाट धेरै
उपनिर्वाचनबाट बढ्यो महिला जनप्रतिनिधिको संख्या

गीता चिमोरिया
मंसिर २०, २०८१ बिहिबार २१:५९, काठमाडौँ

स्थानीय तहमा उपनिर्वाचन भएका ४४ मध्ये ८ स्थानमा महिला निर्वाचित भएका छन्। 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाको उपप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष गरेर ८ जना महिला निर्वाचित भएका हुन्। 

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १ र वडा अध्यक्ष ३४ गरी ४४ पदका लागि भएको उपनिर्वाचनमा जिल्ला समन्वय समिति प्रमुख १, नगरपालिका उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष ४ र २ जना वडाअध्यक्ष महिला निर्वाचित भएका छन्। 

मंसिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनमा २० राजनीतिक दलले भाग लिएका थिए। तर, उपनिर्वाचनमा प्रमुख चार दलबाट मात्रै महिला निर्वाचित भएका छन्।  

ओखलढुङ्गा र कैलाली गरी २ जिल्ला समन्वय समितिको उपनिर्वाचन भएको थियो। जसमा जिल्ला समन्वय समिति कैलालीमा नेपाली कांग्रेसबाट टीकाकुमारी चौधरी (भुल) निर्वाचित भइन्। अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी थिइन्।  

जिल्ला समन्वय समिति कैलालीको उपप्रमुखमा पुरुष रहेकाले प्रमुखमा महिलालाई अवसर प्राप्त भएको हो। जिसस कैलालीको उपप्रमुखमा खगराज भुसाल छन्।
 
नगरपालिका उपप्रमुखमा १ स्थानका लागि उपनिर्वाचन भएको थियो। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भइन्। उनी ४ हजार २७२ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले ३ हजार १४७ मत प्राप्त गरिन्। नलगाडमा उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको थियो। यहाँ सबै उम्मेदवार महिला थिए। 

चार गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा चारै स्थानमा महिला निर्वाचित भएका छन्।  

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन्। तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजित गरेकी हुन्। तिमल्सिनाले १ हजार ६३६ मत ल्याउँदा बुढाले १ हजार ५९४ मत पाइन्। एमालेबाट उम्मेदवार जाना शाहीले १ हजार १३२, राप्रपाका उम्मेदवार संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाँचा बुढाले २५, स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत ल्याए। यहाँ ५ जना महिला र एकजना पुरुषको उम्मेदवारी परेको थियो। 

यसैगरी, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्। उनले २ हजार ८०५ मत प्राप्त गरेर विजयी हुँदा २ हजार ६ सय मत ल्याएकी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पा पराजित भइन्। यहाँ १२ जना महिला र ४ जना पुरुषको उम्मेदवारी परेको थियो। 

रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा ३ हजार ६२७ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत प्राप्त गरिन्। यहाँ दुईजनाको मात्रै उम्मेदवारी परेको थियो। 

यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। उनले १ हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् भने नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले ५ सय ५३ मत प्राप्त गरिन्। उपाध्यक्ष पदका लागि यहाँ तीनजना महिलाको मात्रै उम्मेदवारी परेको थियो। 

जिल्ला समन्वय समिति कैलाली बाहेक अन्य स्थानमा निर्वाचित भएका महिला जनप्रतिनिधि नेकपा एमाले र माओवादी केन्द्रबाट छन्। एकजना वडाअध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन्।   

दुई वडाअध्यक्षमा महिला, जहाँ पहिला पुरुष थिए 
उपनिर्वाचन भएका ३४ वडामध्ये दुईवटा वडामा महिला निर्वाचित भएका छन्। काठमाडौँ र ताप्लेजुङमा दुईजना महिला वडाअध्यक्षमा निर्वाचित भएका हुन्। 

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा एमालेका कुमारी सावादेन विजयी भएका हुन्।

काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठले निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै जित हासिल गरेकी हुन्। श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गर्दा तुलाधरले २ हजार २२० मत प्राप्त गरे। तेस्रो भएका कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का मीनबहादुर मानन्धरले १ हजार ९२ मत प्राप्त गरे। 

काठमाडौँ महानगरपािलका १६ मा यसअघि नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजाल वडा अध्यक्ष थिए। २०८० भदौमा उनको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।  

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेकी कुमारी सावादेनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनलाई पराजित गर्दै विजयी भएकी हुन्। विजयी सावदेनले ३५३ मत प्राप्त गर्दा साउदेनले २५१ मत प्राप्त गरे। वडा अध्यक्षमा पराजित साउदेन यसअघि वडा सदस्य थिए। 

सिरिजङ्गा ३ मा वडा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेकोमा चारजना पुरुष थिए भने एकजना मात्रै महिला थिइन्। 

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले पराजित भएकी कुमारी यसपटक वडा अध्यक्षमा निर्वाचित भएकी हुन्। यसअघिका वडाअध्यक्ष बोखिम रोजगारीका लागि हङकङ गएपछि यहाँ उपनिर्वाचन भएको हो।

महिला उम्मेदवार उठाउन दलहरूलाई आयोगले दिएको थियो निर्देशन 
उपनिर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार उठाउन निर्वाचन आयोगले दलहरूलाई निर्देशन दिएको थियो। 

गएको कार्तिक १ गते निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दललाई निर्देशन जारी गर्दै प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार उठाउन भनेको थियो। 

२०७९ को स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न आयोगले भनेको थियो। यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा दलहरूले गठबन्धन गरेर कतिपय स्थानीय तहमा दुवै पदमा पुरुष निर्वाचित गरेका थिए।  

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ अनुसार दलहरूले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन गर्दा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ। तर, यो कानुन दुवै पदमा उम्मेदवारी दिएमा मात्रै लागू हुनेछ। दुईमध्ये कुनै एउटा पदमा मात्रै उम्मेदवारी दिँदा दलले अनिवार्य रुपमा यो कानुन मान्नु पर्दैन।

यही व्यवस्थाको फाइदा उठाउँदै दलहरूले २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धन भएका स्थानीय तहमा दुवै पदमा पुरुष उम्मेदवार उठाएका थिए। जसका कारण २०७४ को निर्वाचनमा भन्दा २०७९ को निर्वाचनमा महिला सहभागिता घटेको थियो।  

उपनिर्वाचनमा आयोगको निर्देशनपछि दलहरूले बाध्य भएर पुरुष प्रमुख रहेको स्थानमा उपप्रमुख वा उपाध्यक्षका लागि महिला र पुरुष उपप्रमुख रहेको स्थानमा प्रमुखमा महिलालाई अघि सारेका थिए। जसका कारण यसअघि पुरुष निर्वाचित भएका स्थानमा यो पटक महिला निर्वाचित हुन सफल भए।

यसअघि पुरुष निर्वाचित भएका यी स्थान, जहाँ महिलाले अवसर पाए 
जिसस कैलालीमा यसअघि प्रमुख र उपप्रमुख दुवै पुरुष थिए। मिर्गौला रोगबाट पीडित जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। उपप्रमुख पुरुष रहेकाले उपनिर्वाचनबाट यहाँ प्रमुखमा महिला आउने अवसर मिलेको हो। 

दोलखाको गौरीशंकरमा गाउँपालिकामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष थिए। गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएको थियो। गाउँपालिका अध्यक्षमा पुरुष रहेकाले यहाँ उपनिर्वाचनबाट उपाध्यक्षमा महिला निर्वाचित भएर आउन सफल भएका हुन्। 

हुम्लाको सर्केगाडमा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष थिए। उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौमा गाडी दुर्घटनामा निधन भएपछि यो पद रिक्त भएको थियो। गाउँपालिका अध्यक्षमा पुरुष रहेकाले यहाँ पनि उपनिर्वाचनबाट उपाध्यक्षमा महिलाले निर्वाचित हुने अवसर पाए। 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा यसअघि पनि उपाध्यक्ष र उपप्रमुखमा महिला थिए। यी स्थानमा नगरप्रमुख र अध्यक्षमा पुरुष रहेकाले उपाध्यक्ष र उपप्रमुखमा महिला निर्वाचित भएर आउने अवसर पाए। 

यी प्रमुख पदमा भने पाएनन् महिलाले टिकट 
दुईवटा गाउँपालिकामा अध्यक्षका लागि र एउटा नगरपालिकामा प्रमुखका लागि चुनाव हुँदा यी स्थानमा भने एकजना पनि महिलाले अवसर पाएनन्। अर्थात् यी पदका लागि दलहरूले महिलालाई टिकटै दिएनन्। 

मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका र काठमाडौँको कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको थियो। मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्षका १६ जना, दैलेखको महाबु गाउँपालिकामा अध्यक्षका लागि ७ जना र काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुखका लागि २० जनाको उम्मेदवारी पर्दा यी तीनै स्थानमा एकजना पनि महिलाको उम्मेदवारी परेन। 

यी तीन स्थानमा उपाध्यक्ष र उपप्रमुखमा महिला थिए। जसका कारण दलहरूलाई अध्यक्ष र प्रमुखमा महिला उठाउनुपर्ने बाध्यता परेन। दुवै पदमा महिलालाई उठाउन मिल्ने भएपनि दलहरूले बाध्यात्मक अवस्था भन्दा बाहेक महिलालाई निकै कम मात्रै टिकट टिकट दिने गरेका छन्। 

यहाँ दल मात्रै होइन, स्वतन्त्र उम्मेदवार पनि महिला थिएनन्।

टिकट पाएका यी वडा, जहाँ पराजित भए महिला 
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको टिकट पाएकी आइतीकुमारी यादव पराजित भइन्। यहाँ एमालेका सकिबुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए। आइतीकुमारीले ५३४ मत प्राप्त गरिन्। उनी यसअघिका वडा अध्यक्ष मुकेश यादवकी श्रीमती हुन्। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा कांग्रेसकी भुलियादेवी थरुनी पराजित भइन्। यहाँ जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए। साहले ६ सय ५२ मत प्राप्त गरे भने भुलियादेवीले ५ सय ८७ मत प्राप्त गरिन्। भुलियादेवी यसअघिका वडा अध्यक्ष प्रितमलाल चौधरीकी श्रीमती हुन्। 

कालिकोटको तिलागुफा नगरपालिका–४ मा माओवादी केन्द्रकी नैशोभा शाही पराजित भइन्। तिलागुफा ४ मा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी शाहीले ११५ मत प्राप्त गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad