राजनीति


रास्वपा केन्द्रीय सदस्य भन्छिन्– रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

रास्वपा केन्द्रीय सदस्य भन्छिन्– रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

नेपालखबर
माघ १५, २०८१ मंगलबार १९:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले बिगत खोतल्दै जाने हो भने अहिले आफू रास्वपा हुँ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गरेकी छिन्। 

‘जजसले आज मेरो बिरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छ्न्, तिनीहरुको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस।’

केही दिनअघि उनले एमालेका नेता महेश बस्नेतलाईलाई आफ्ना पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार मुद्दामा जोगाएको टिप्पणी गरेकी थिइन्। त्यसलाई लिएर रास्वपा कार्यकर्ताहरूले आलोचना सुरु गरेपछि संग्रौलाले यस्तो अभिव्यक्ति दिएकी हुन्।

उक्त अभिव्यक्ति ३ पटक सच्याएर स्पष्टीकरण दिँदा पनि आफूलाई रास्वपा कार्यकर्ताहरूले खेद्न नछोडेको तर आफू विचलित नभएको उनको भनाइ छ। ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दा समेत मलाई खेद्न छोडेका छैनन्,’ संग्रौलाले लेखेकी छिन्, ‘यसबाट म कतै बिचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निकै साल भैइसक्यो।’ 

पार्टीमा अनियमितता गरेर निलम्बनमा परेका भूतपूर्व रास्वपाहरूले समेत आफ्नो आलोचना गरेको भन्दै उनले लेखेकी छिन्, ‘अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका ‘भूतपूर्व’हरूले मेरो खेदो गरेको चाहिँ कत्ति पनि सुहाएन। मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन। पार्टीभित्र बसेर गुट र फुटको धन्दा गरेको छैन।’

आफू पार्टी सभापति लामिछानेका कारण मात्रै पार्टीमा टिकिरहेको बताएकी उनले आवश्यक परे आफ्नो अभिव्यक्तिबारे पार्टीको अनुशासन समितिलाई समेत जवाफ दिन तयार भएको स्पष्ट पारेकी छिन्। 

संग्रौलाको भनाइ छ, ‘मेरो अभिव्यक्तिको बिषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर पनि जवाफ दिन तयार छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad