काठमाडौँ महानगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउने विषयमा आज दिनभर तनावग्रस्त नै भयो। गुरागाईंलाई कार्यालयमा हाजिर गराउने पक्षमा उपप्रमुख सुनिता डंगोलसहित अधिकांश वडाअध्यक्ष र कर्मचारी उत्रिए भने उनलाई हाजिर गराउन नहुने पक्षमा महानगर प्रहरीसहित प्रमुख बालेन्द्र शाह (बालेन)पक्ष थिए।
नगरप्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेशमा रोक लगाइरहेपछि उपप्रमुख सुनिता डंगोलले प्रहरी प्रमुख राजु पाण्डेलाई कसको आदेशमा अवरोध गरेको भन्दै र्याखर्याख्ती पारेकी थिइन्।
अवरोध कायमै रहेपछि गुरागाईं ढोका फुटाएर कार्यकक्षमा प्रवेश गरेका थिए।
महानगरप्रमुख बालेनका सचिवालयले भने यसमा चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा भएको दमनलाई विषयान्तर गर्न आज महानगरमा दमन गरिएको जनाएको छ।
'प्रमुख प्रशासकीय अधिकृतको विषय अब फाइलको विषय भएन जनताको निगरानीको विषय भइसकेको छ,' बालेनका प्रमुख स्वकीय सचिव भूवदेव शाहले भने, 'चैत १५ गते तीनकुनेमा सरकारले दमन गरेको छ। अक्षमता ढाक्न र विषयान्तर गर्न महानगरपालिकामा दमन गरियो।'

उनले प्रमुख प्रशासकीय अधिकृत दोषी देखिएको अवस्थामा आज उनलाई सहयोग गर्नेहरू के गर्छन् भन्दै प्रश्न सोधे।
'अनुसन्धानको दायरामा भएको मान्छेलाई हाजिर गराउनु भएको छ। अख्तियारले पनि छानबिन गर्दैछ, मन्त्रालयले गर्ला। भोलि उहाँ दोषी देखिनु भयो, जेल जानु भयो भने उहाँसँगै आजका साझेदारहरू जेल जानुहुने होकि होइन हेक्का राख्नुपर्छ' उनले भने।
त्यस्तै उनले आजको तोडफोडबाट भएको क्षतिको बिल कसलाई पठाउने भन्नेबारे सम्बन्धित विभागले काम गर्ने पनि बताए।
'तोडफोडको क्षतिको बिल कसलाई भन्नेबारे नियमअनुसार पठाइहाल्छौँ,' उनले थपे, 'सम्बन्धित विभागले आफ्नो काम गर्छ।' कुन विभागले पत्र काट्ने भन्नेबारे उनले खुलाएनन्।
Shares

प्रतिक्रिया