पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत शिक्षकहरूलाई सम्मानित रूपमा वार्तामा बोलाएर उनीहरूका जायज माग छिटोभन्दा छिटो पूरा गरिनुपर्ने बताएकी छन्।
जायज मागहरूको सम्बोधनले नै व्यवस्थाप्रतिको असन्तुष्टि हट्ने बताउँदै पूर्वराष्ट्रपति भण्डारीले शिक्षकहरूका जायज माग छिटो पूरा गर्नतिर लाग्न सरकारलाई सुझाव दिएकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले सत्तारुढ एमाले र नेपाली कांग्रेसलगायतका दलहरूले जनतामा देखिएका असन्तुष्टि सम्बोधन गर्न आत्मसमीक्षा गर्नुपर्ने र लोकतान्त्रिक पद्धति अनुसार समयानुकूल सुधार गर्नपनि सुझाव दिइन्।
‘आत्मसमीक्षा गर्ने र समयानुकूल सुधार गर्ने विषयमा केही कमी भएर त मानिसहरू सडकमा आएका होलान्!’ नेपालखबरसँगको विशेष कुराकानीमा भण्डारीले भनिन्, ‘अहिले शिक्षकहरू सडकमा आउनु भएको छ। शिक्षक भनेको सम्मानित पद हो। उहाँहरू गुरु भएकाले ससम्मान वार्तामा बोलाउनुपर्यो र उहाँहरूका मागको सुनुवाइ हुनुपर्यो।’
शिक्षकहरूसँग राज्यले सम्झौता गर्ने तर सम्झौता पूरा नहुँदा पटक–पटक सडकमा आउनुपरेको बताउँदै भण्डारीले राज्यको क्षमताबारे पनि वार्ताकै क्रममा शिक्षकहरूलाई जानकारी दिन सकिने बताइन्।
उनले भनिन्, ‘हाम्रो आर्थिक अवस्था के छ, देशको आर्थिक स्थिति अनुसार उहाँका मागहरू के कति पूरा गर्न सक्छौँ। यी कुराहरू छलफलका क्रममा उहाँहरूलाई भन्न सकिन्छ।’
‘विगत एक–दुई वर्षभित्र शिक्षकहरू सडकमा आउनु भएको यो दोस्रो–तेस्रोपटक हो, यसबीचमा सरकारले उहाँहरूसँग पटक–पटक सम्झौता पनि गरेको छ,’ उनले थपिन्, ‘उहाँहरूका कतिपय मागहरू मलाई पनि जायज लाग्छन्।’
शिक्षकहरूले अपमानित भएको महसुस गरेको जानकारी आफूले प्राप्त गरेको बताउँदै भण्डारीले संविधानसँग सम्बन्धित मागहरू राष्ट्रिय सहमति कायम गरेर समाधान गर्न सकिने बताइन्।
‘उहाँहरूका मागहरू संविधानसँग सम्बन्धित छन् भने सरकारले संविधान संशोधनको जानकारी गराउनुपर्छ,’ उनले भनिन्, ‘संविधान संशोधनका बेला तपाईंका यी मागहरू पूरा गर्छौँ भन्न सकिन्छ।’
शिक्षकहरूको आन्दोलन शैक्षिक सत्र र हजारौँ विद्यार्थीहरूको भविष्यसँग जोडिएकाले पनि छिटोभन्दा छिटो शिक्षकहरूसँग वार्तामार्फत् समस्या समाधान गर्नुपर्ने उनको कथन छ।
‘शैक्षिक सत्र सुरु भएको छ, हजारौँ शिक्षकहरू सडकमा छन्। यसैपनि हाम्रा बच्चाहरूले समयअनुकूल गुणस्तरीय शिक्षा पाएका छैनन्,’ उनले भनिन्, ‘विश्व बजारमा नै प्रतिस्पर्धा गर्न उनीहरू सक्षम छन् भन्ने कुरा हामीलाई थाहा छ। तर पनि नेपाल छाडेर बाहिर जानुपर्ने स्थिति आइरहेको छ।’

‘यस्तो बेलामा शिक्षासँग सम्बन्धित आधारभूत तह, माध्यमिक तह र उच्च शिक्षाका सम्बन्धमा राज्यको ध्यान जानुपर्छ,’ भण्डारीले थपिन्, ‘त्यसैले, समयमा नै शिक्षकहरूको मागका सम्बन्धमा छलफल गरेर समस्या समाधान गर्नुपर्छ।’
सम्मानजनक रूपमा वार्तामा बोलाएर सरकारले आफ्ना कुरा राख्ने हो भने सहज रूपमा समस्या समाधान हुने विश्वास पनि उनलाई छ।
उनी भन्छिन्, ‘किनकि, उहाँहरू बुझ्ने मानिस नै हुनुहुन्छ। यति भन्ने हो भने उहाँहरूले बुझ्न सक्नुहुन्छ।’
समयमै समाधान नखोज्ने हो भने समाजका अन्य व्यवसाय र वर्गका मानिसहरू पनि सडकमा आउने चेतावनी उनले दिइन्।
‘यसरी नजाने हो भने अरु मानिसहरू पनि सडकमा आउँछन्, व्यावसायिक हिसाबले आउँछन्,’ उनले चेतावनी दिइन्, ‘किसानहरू पनि आफ्ना मागहरू लिएर आउन बेर छैन।’
‘अहिले सरकारले रासायनिक मल र कृषिसँग सम्बन्धित विषादी विदेशबाट मल ल्याएर जसोतसो दिइरहेको छ। जनस्वास्थ्यको कुरा छ, जनस्वास्थ्यसँग सम्बन्धित कुरा भनेपछि अर्गानिक मलको कुरा आउँछ। हामी हरेक वर्ष ३०–३५ अर्बको मल किन्छौँ,’ उनको सुझाव छ, ‘दिगो योजना अनुसार देशभित्रै उत्पादन गर्ने भन्यौँ भने भोलि विदेशबाट मल ल्याउनु नपर्ने पनि हुनसक्छ। नेपालमा उत्पादन हुन नसक्ने मल–विषादी चाहिँ बाहिरबाट पनि ल्याउनुपर्ने हुनसक्छ।’
(पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको पूरा अन्तर्वार्ता नेपालखबरमा चाँडै प्रसारण हुनेछ)

प्रतिक्रिया